क्यासिनोबाट एक अर्ब राजस्व असुल्न बाँकी

0 9

काठमाडौं : क्यासिनोबाट सरकारले करिब एक अर्ब रुपैयाँ राजस्व असुली गर्न बाँकी रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनोले सरकारलाई ९३ करोड ७३ लाख ६६ हजार रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिएको छ। नेपालमा खुलेका दुईवटा बाहेक सबै हाल क्यासिनो बन्द छन्।

 

सरकारले ल्याएको क्यासिनो नियमावली २०७० को पालना गर्न नसक्दा २०७१ को वैशाख ७ गतेबाट नेपालका १० वटा क्यासिनो बन्द भएका थिए दुईवटा भने नयाँ नियमअनुसार सञ्चालनमा आएका छन्।

 

पर्यटन मन्त्री कृपासुर शेर्पाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिलाई यसबारे जानकारी गराएका हुन्। पर्यटन मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि सरकारलाई तिर्नुपर्ने रकम भुक्तानी नगरेपछि १० वटा पाँचतारे होटेलमा सञ्चालित क्यासिनो तथा गेमिङ क्लब बन्द भएका थिए। ती क्यासिनो अझै पनि बन्द रहेको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले बताए।

 

गौतमका अनुसार हाल दुई वटा पाँचतारे होटेलमा मात्रै क्यासिनो सञ्चालन भइरहेका छन्। हाल सांग्रीला र सोल्टी होटेलका क्यासिनो मात्र सञ्चालनमा हुन्। यी दुई क्यासिनो भने सरकारले ल्याएको पछिल्लो क्यासिनो नियमावलीअनुसार सञ्चालित भएको उल्लेख छ। यिनले भने राजस्व तिरिसकेका छन्।

 

बन्द क्यासिनोले २०६९/७० सम्मको ६७ करोड र २०७०/७१ को बाँकी रकम गरी करिब एक अर्ब रुपैयाँ राजस्व तिर्न बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ। क्यासिनोले सरकारी राजस्व नतिर्ने, मजदुर र सप्लायर्सलाई समयमा भुक्तानी नदिने गरेकाले दायित्व बढ्दै गएको हो। सरकारले ल्याएको ‘क्यासिनो नियमावली २०७०’ पालना नगरेका कारण गृह मन्त्रालयको सहयोगमा पर्यटन मन्त्रालयले त्यस्ता क्यासिनो बन्द गराएको थियो।

 

नेपालमा सञ्चालित १० वटै पाँचतारे होटेल परिसरमा क्यासिनो छन्। क्यासिनो नियमावलीअनुसार हरेक क्यासिनोले २५ करोडको चुक्ता पुँजीसहित वार्षिक ३५ करोड रुपैयाँ खर्च गर्ने क्षमता बनाउनुपर्ने सर्त छ।

 

नियमावलीले क्यासिनोलाई राजस्व चार करोड, बैंक धरौटी चार करोड, इजाजत शुल्क दुई करोड र निवेदन दस्तुर पाँच लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरेको छ। यो रकम बुझाएर सरकारी नियमको पालना गर्ने अवस्था कुनै पनि क्यासिनोसँग नभएको क्यासिनो संघ नेपालले जानकारी दिएको छ।

 

त्यही भएर लामो समयदेखि सञ्चालनमा रहको व्यावसाय बन्द गर्नुपरेको संघले जनाएको छ। उनीहरूले सरकारलाई नियमावली संसोधन गर्न माग गर्दै क्यासिनो बन्द गरेका थिए।

 

बन्द क्यसिनोले सरकारी राजस्व नतिरेका र नयाँ नियमावलीको पालना गर्न नसकेकै कारण खुल्न नसकेका हुन्। क्यासिनो बन्द भएपनि सरकारलाई तिर्नुपर्ने रकम जसरी पनि अशुलउपर गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ।

क्यासिनोले तिर्न बाँकी राजस्व
नाम रकम(रुपैयाँमा)
क्यासिनो नेपाल २६ करोड  ६८ लाख
क्यासिनो अन्ना १९ करोड २६ लाख
क्यासिनो फूलबारी १६ करोड ८ लाख
क्यासिनो एभरेस्ट ५ करोड ७१ लाख
क्यासिनो भेनस ४ करोड ३५ लाख
क्यासिनो र्‍याड  करोड ३३ लाख
क्यासिनो तारा ४ करोड २९ लाख
क्यासिनो रोयल  करोड
ह्याप्पी आवर  करोड
सेन्ट्रल मिडिया ३ करोड
रक इन्टरनेसनल ३ करोड
कुल : ९३ करोड ७३ लाख,     स्रोत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

तीन लाख विदेशी घटे

 

पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले क्यासिनो बन्द भएपछि तीन लाख विदेशी पर्यटक घटेको बताएका छन्। उनले नेपालमा क्यासिनो खेल्न रुचाउने छिमेकी मुलुक भारतलगायतका तीन लाख विदेशी घटेको बताए। उनका अनुसार क्यासिनो खेल्न आउने विदेशी पर्यटकमा भारतीय नागरिक सबैभन्दा बढी हुने गरेका थिए।

 

नेपालमा एक लाखदेखि करोडौं रुपैयाँसम्म जुवा खेल्न आउने पर्यटकको श्रेणीमा भारतीय अग्र स्थानमा पर्ने क्यासिनो व्यवसायी बताउँछन्। क्यासिनोमा खेल्न आउने विदेशीमा भारतीयपछि बंगालदेशी र चिनियाँ पर्यटक बढी हुने गरेको व्यवसायीको भनाइ छ।

 

पछिल्लो समय क्यासिनो बन्द हुनुले सभा सम्मेलन, समिनार, गोष्ठी (माइस) पर्यटनमा आउने भारतीयको संख्या समेत घटेको छ। माइस पर्यटनमा आउने भारतीय क्यासिनो जाने गरेको व्यवसायी बताउँछन्।

 

विरोधमै बित्यो दुई वर्ष

 

निजी क्षेत्रका क्यासिनो व्यवसायीले सरकारले ल्याएको क्यासिनो नियमावली २०७० को विरोध गर्दैमा दुई वर्ष गुजारेका छन्। नियमावली ल्याउनुपूर्व पनि ल्याउनै नदिने तथा व्यवसायीले आफू अनुकूल बनाउँन दबाब दिने गरेका थिए। सरकारले यसैबीचमा नियमावली ल्याएको थियो।

 

सरकारले ल्याएको क्यासिनो नियमावली अनुसार काम गर्न नसक्ने भन्दै क्यासिनो व्यवसायीले दुई वर्ष बिरोधमै बिताएका हुन्। व्यवसायीलाई सरकारले साउनदेखि वैशाखसम्म्मको समय दिएको भएपनि उनीहरूले अटेर गरेका कारण कानुनी प्रक्रिया पु:याएर औपचारिक रूपमा क्यासिनो बन्द गरिएको हो।