टहरा बनाएर स्पेन फर्किएपछि …

0 14

बार्सिलोना । स्याउले गाविस -९ भेडाबारे सिन्धुपाल्चोक स्थायी घर भई एक दशकदेखि स्पेनमा बसोबास गर्दै आएका ३० वर्षीय अशोक नेपाल भूकम्प गएको केही दिनमा नै घर फर्किए । बैशाख १२ गतेको विनाशकारी महाभूकम्पबाट उनको घरमात्र होइन, गाउँ लगायत पूरा जिल्ला नै नराम्रोसँग प्रभावित भयो। करिब १ हप्तासम्म परिवारबाट सम्पर्कबिहीन हुँदा उनको मनमा सयौं रेक्टर स्केलका भूकम्पहरु गईरहे।

पछि सम्पर्क हुँदा बुबाआमा, भाईहरु सकुशल रहेको खबर मिले पनि ४२ वर्षीय आफ्नै काकी र मामालाई गुमाएँको खबर पाए। उनले आफ्नै घर पछाडी कि २० वर्षीय छिमेकी बहिनी अनिता भण्डारीलाई पनि गुमाउँन पुगे । भूकम्प गएपछि घरको बार्तलीबाट भाग्दै भाग्दै आँगनमा आईपुगेकी अनिता आखिर,आफ्नै परिबारका अगाडी घरले पुरिएर ज्यान गुमाईन्।

भूकम्पपछि १ महिनासम्म गाउँ बसेर पुन: स्पेन फर्किएका अशोकले अनलाईनखबरसँगको कुराकानीमा मृतक बनेकी काकीले साढे २ बर्षकी आफ्नी नातिनीलाई बचाएको खुलासा गरे। उनले भने “नातिनीलाई कपडा फेर्न लाग्नु भएको रहेछ, भूकम्प गएपछि भाग्नु भएनछ, बरु टाउको निहुँराएर नानीलाई काखमा च्यापेर बस्नु भएछ,” काकीलाई दलिनले थिच्यो उद्दार गर्ने भाई भतिज भन्छन्– ”बच्चीलाई सामान्य चोट पनि लागेन, काकीले हामीलाई छोडेर जानु त भयो तर नातिनीलाई भने बचाउँनु भयो।”

खाद्यान्न / झुल बितरण

श्रीमती निर्मलासँगै गाउँ फर्केका अशोकलाई देखेर परिवार मात्र हैन सारा गाउँले नै खुशी भएँ । त्योबेला सम्म प्रत्येक घर परिवारलाई गाविसबाट वितरण भएको १५ केजी चामलबाहेक अन्य खाद्यान्न नपुगेकोले पहिले यसलाई नै प्राथमिकता दिएको उनी बताउँछन्। साथी भाईहरुको सहयोगले करिब ३ लाख रुपैयाँ बराबरको खाद्यान्न जोहो गर्यौ, १८५ बोरा चामाल, नुन तेल मिलाएर बाड्यौं। मोरङबाट मात्र ७० बोरा चामल राहत आएको रहेछ, आफ्नो गाँस कटाएर पठाएका चामलका बोराहरूमा फोन नम्बर, नाम ठेगाना समेत लेखेर पठाउनु भएको रहेछ। निकै खुशी हुँदै उनले गाउँलेको तर्फबाट सहयोगी मनहरुलाई धन्यबाद ब्यक्त गरे।

अशोक भन्छन्, “बर्खा शुरु हुन लागेको समय, खुल्ला ठाउँ, त्यसमाथि मकैबारीको बाँस, दिनभरी झिँगाले हैरान रात परेपछि लामखुट्टेको बिगबिगी त्यसैले काठमाडौ पुगेर झुल किन्ने निर्णय गरे। बार्सिलोना निवासी स्पेनिस साथी पाब्लोले गरेको ५ सय युरो सहयोग र बाँकी आफ्नै खर्चमा तीन सय  थान झुल किनेर गाउँ फर्किए।” पाँच सदस्य घर परिवार बराबर एक वटा झुलको दरले बितरण गरेको उनी बताउँछन्। पीडितलाई राहत बाड्ने हैन, अहिले देश नै पीडित छ, को सद्दे, को पीडित ? अहिले बाँडीचुडी खाने र बस्ने बेला हो, अशोकले भने।
उनले गाउँमा सोलार लिएर गएपछि धेरैले मोबाईल चार्ज गर्न पाएको र आफन्तहरुलाई सम्पर्क गर्न सजिलो भएको बताए ।

बाबुआमा गाउँ छोड्न मान्नु भएन

दोस्रो पटक गएको ७.३ रेक्टरको भूकम्पलाई सिन्धुपाल्चोकको आफ्नै गाउँमा परिवारसँगै बसेर सामना गरेका अशोकले परिवारलाई केही दिन चितवनतिर बस्न आग्रह गरे। “हामीलाई त लिएर जालास् यी गाउँलेलाई पनि सँगै लिएर जान्छस् ?” भन्दै बाबाले उल्टो प्रश्न गरेपछि बोल्नलाई आफूसँग कुनै शब्द नभेटीएको भावाना पोखे।

आफ्नो जन्म थलो पूर्खादेखिको सम्झना चटक्कै बिर्सन भन्दा पनि दुखको सामना गरेर अस्थायी बसोबास निर्माणतिर लाग्न बुबाले प्रेरित गरेको बताउँदै टहरा बनाउन जुटेको सम्झना गर्छन्। भत्केको घरलाई जति खोतल्यो । उति नै सामान निस्कन्थे, ती सँगै जोडिएका पुराना याद र सम्झनाहरुले आफू भावविह्वल बनेको पनि सुनाए ।

मैले त टहरा बनाएर फर्किए, अब पालो तपाईको

भूकम्पले सबैको मन चुडिएको छ मन भत्केको छ, तर योबेला भत्केको मनलाई जोड्ने बेला हो, भत्केका घरलाई बनाउने बेला हो । बिदेशमा काम गरिरहनु भएका तपाईहरुलाई सबै छोडेर देश बनाउँन घर फर्कनु नै त भन्दिन तर पनि जति सक्दो छिटो घर पुग्नुहोला भन्दै अशोक भन्छन्,” सकिन्छ ३ महिना, त्यो पनि नभए २ वा १ महिना, अझै नमिले २० दिन १० दिन वा १ हप्ता नै किन नहोस् तर यो बेला तपाईको जरुरत छ कृपया घर फर्कनुहोस्।

मैले पनि छुट्टीको लागि आग्रह गरे, अरुबेला भन्दा झन् यो समयमा बिदा पाउँन सजिलो भयो। अहिले हाम्रो पिडा सबैले बुझेका छन्। आँट गर्नुहोस् घर फर्कने बातावरण मिल्छ । कुनै बेला सयौ युवा बस्ने मेरो गाउँमा अहिले मुस्किलले ७-८ जना जम्मा भयौ, हामीले जति सक्दो टहरा बनायौ । कम्तिमा गाउँले बर्खा कटाउँछ भन्ने आशा जागेको छ । अशोकले भने,” यो बेला अरुले देला र खाउँला भन्ने रहेनछ, प्रभावित ठाउँबाट २-४ युवा केही दिनको लागि घर फर्कने हो भने पनि तपाईको परिवारले मात्र हैन सिङ्गो गाउँले नै राहत पाउने छ ।
अन्त्यमा विनम्रताका साथ अशोकले प्रबासमा रहेका नेपालीहरुलाई अनुरोध गरे, “मैले त टहरा बनाएर पुन: काममा फर्किए, अब पालो तपाईको।”