नियमविपरीत उपदानको तयारी

0 3

ललितपुर, जेष्ठ ३१ – ललितपुर उपमहानगरपालिकाले धरान नगरपालिकाबाट नियमविपरीत सरुवा भएर आएका एक कर्मचारीलाई उपदान रकम दिने तयारी गरेकामा कर्मचारी एसोसिएसनले विरोध

गरेको छ ।

उपमहानगरपालिकामा नियमविपरीत सरुवा भएर आएका र आउने थुप्रै कर्मचारी भएकाले उनीहरू प्रत्येकलाई उपदान रकम दिंदै जाने हो भने आर्थिक व्ययभार बढ्दै जाने चिन्ता एसोसिएसनले व्यक्त गरेको छ । एसोसिएसनले तोक आदेशका भरमा सरुवा भएर आएका कुनै पनि कर्मचारीलाई उपमहानगरबाट उपदान रकम नदिन माग गरेको छ ।

उपमहानगरपालिकाले पुस्तकालय शाखाकी नासु रमा शर्मालाई ११ लाख ३३ हजार ४ सय ९ रुपैयाँ उपदान दिन लागेको छ । नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रीय सदस्य ज्ञानुरत्न महर्जनले आफ्नै स्रोतबाट सञ्चालन हुने स्थानीय निकायमा नियमविपरीत सरुवा भएर आउने कर्मचारीहरू प्रत्येकलाई उपदान दिएमा विकास बजेटमा गम्भीर असर पर्ने बताए । ‘मन्त्रालयको पहुँच हुनेहरू आकर्षक उपदान लिन दुर्गमबाट नियम मिचेर आउने गरेका छन्,’ उनले भने, ‘वर्षैपिच्छे प्रत्येकलाई उपदान रकम दिने हो भने उपमहानगर टाट पर्छ ।’

महर्जनका अनुसार शर्माले एक वर्षदेखि उपदान रकमको माग गरिरहेकी थिइन् । ‘हामीले धरान नगरपालिकामा माग गर्नुपर्ने भन्दै रोक्दै लगाएका छौं,’ महर्जनले भने, ‘रकम दिन स्थानीय विकास मन्त्रालयबाट उपमहानगरपालिकामा दबाब आइरहेको छ ।’

उनले एसोसिएसनले विरोध गर्दागर्दै उपमहानगरपालिकाका कार्यकारी अधिकृतले उपदान रकम दिएको खण्डमा असुलउपरका लागि कानुनी पहल गर्ने बताए । ‘मन्त्रीहरूको पावरमा जुन कार्यालयमा उपदान रकम राम्रो छ, त्यहाँ नियम मिचेर भए पनि सरुवा भएर आउने प्रवृत्ति छ,’ उनले भने, ‘यसबारे अख्तियार लगायतका निकायले छानबिन गर्नुपर्छ ।’

स्वायत्त शासन ऐनमा पुरुषका लागि पैंतीस वर्ष र महिलाका लागि चालीस वर्ष उमेर पूरा भएमा स्थायी नियुक्ति दिन नमिल्ने प्रावधान छ । धरान नगरपालिकाले शर्मालाई ४३ वर्षको उमेरमा स्थायी नियुक्ति दिएको हो ।

स्थानीय स्वायत्त शासन नियमावलीमा कुनै पनि स्थानीय निकायको कर्मचारी एउटाबाट अर्कोमा समान पदमा सरुवा गर्नुपर्दा सम्बन्धित स्थानीय निकायको सहमतिमा मन्त्रालयबाट सरुवा गर्न सक्ने उल्लेख छ । तर शर्माको हकमा मन्त्रालयले मनोमानी ढंगमा सरुवा गरिएको हो । शर्मा मन्त्रालयको छापसमेत नलगाएको एउटा निवेदनको भरमा धरान नगरपालिकाबाट ललितपुर उपमहानगरपालिकामा सरुवा भएर आएको तथ्यसमेत फेला परेको छ ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले यसबारे अध्ययन अनुसन्धान भइरहेको बताए । ‘मन्त्रालयसँग आवश्यक परामर्श लिइनेछ,’ उनले भने, ‘त्यसपछिमात्र के गर्ने भन्ने टुंगो लाग्छ ।’