भेटिँदै छन् भूकम्पमा हराएकाहरू

0 13

काठमाडौ, जेष्ठ ३१ – भक्तपुर नगरकोटका सन्दीप न्यौपाने काठमाडौंदेखि नगरकोट चल्ने गाडीमा सहायकको काम गर्थे । वैशाख १२ गते भूकम्प गएको दिनदेखि सम्पर्कविहीन भएका उनी वैशाख २५ मा मात्र परिवारको सम्पर्कमा पुगे ।

‘कतै फेला नपरेपछि लगभग माया नै मारिसकेका थियौं,’ न्यौपानेकी फुपू जानुका खनालले भनिन्, ‘वीरगन्ज गएको रहेछ फर्किएर आयो ।’

उनको खोजीका लागि आफन्तले प्रहरीमा निवेदन दिए । प्रहरीले सम्भावित स्थानमा खोजे पनि फेला पार्न सकेन । भूकम्प आएपछि राजधानी छाडेर जाने सर्वसाधारण बढेपछि न्यौपाने सहायक रहेको गाडीसमेत यात्रु बोकेर वीरगन्ज गएको रहेछ ।

तेह्रथुमकी प्रेमा अधिकारी वैशाख १२ गते भूकम्प आएको दिन भाग्दै थिइन् । उनको मोबाइल कहाँ झर्‍यो थाहा पाइनन् । आफूचाहिँ उर्लाबारी, मोरङ लागिन् । यता काठमाडौंमा आएर आफन्त उनलाई खोजेर थाकिसकेका थिए । अचानक उनी जीवितै भएको खबर आयो । ‘मोबाइल हराएपछि नम्बर नभएर हामीलाई सम्पर्क गर्न नसकेकी रहेछ,’ उनकी आफन्त गंगा ठकुरीले भनिन्, ‘फर्किएर काठमाडौं आएपछि थाहा भयो ।’

प्रहरी मुख्यालयको ‘मिसिङ पर्सन हेल्प डेस्क’ का प्रहरी नायब उपरीक्षक विमल बस्नेतका अनुसार यसरी नै हराएका २ सय १० नेपालीमध्ये १ सय ६ जना जीवितै फेला परेका छन् । तीमध्ये सिन्धुपाल्चोकबाट हराएका भनिएका ३४ र रसुवाबाट १८ जना फेला परेका छन् । १ सय ३ जना मृत अवस्थामा भेटिए ।

हराएका ८० विदेशीमध्ये जर्मनका ११ जना सकुशल घर पुगेको खबर पाएको प्रहरी मुख्यालयको इन्टरपोल शाखाकी नायब उपरीक्षक बसुन्धरा

खड्काले बताइन् । अरू जीवित र मृत भेटिएपछि भूकम्पमा परेर हराउने विदेशीको संख्या शनिबारसम्म घटेर ५६ भएको छ । भूकम्पमा परेर हराएका कतिपय व्यक्ति अनौठो तरिकाले फेला परेका छन् ।

गोंगबुका सरोज बोगटीले आफ्नो भाइ शंंकरलाई नाम बदलेर बसेको अवस्थामा कारागारमा फेला पारे । वैशाख १२ गते भूकम्प आएको दिनदेखि हराएका उनी झन्डै एक महिनापछि चोरी गरेको आरोपमा पक्राउ परेका थिए । धरौटी तिर्न नसकेपछि उनलाई प्रहरीले कारागार चलान गरेको रहेछ ।

नाम फेरेर थुनामा

शंकर बोगटी (२१) भूकम्प पहिलो भूकम्पका दिन वसन्तपुरतिर घुम्दै थिए । भूकम्पपछि दौडँदै टुँडिखेल पुगे । केही क्षणमा थामिएपछि महाबौद्धतिर गए । महाबौद्धमा केही युवा एउटा घरभित्र पसिरहेका थिए, उनी पनि पछिपछि गए । केही क्षणमै प्रहरी आइपुग्यो र ती

युवासँगै शंंकरलाई पनि पक्राउ गरेर लग्यो ।

भूकम्प आएपछि हराएका शंकरको खोजी गर्न उनका दाइ सरोज बोगटीले प्रहरीमा निवेदन दिए । प्रहरीले राजधानीबाट हराउनेको सूचीमा शंकरको नाम पनि राख्यो । अनि सुरु भयो बोगटी परिवारमा हैरानी । उनीहरू हरेक अस्पतालका घाइते हेर्दै हिँडे । केही दिन नभेटिएपछि मृतकको शव हेर्न थाले । त्यहाँ पनि भेटिएनन् शकंर । जिउँदै भए सम्पर्क गर्नुपर्ने, टेलिफोन गर्नुपर्ने भन्ने अनुमान गरेर पछिल्ला दिनमा जिउँदो भेटिने आस मारेर बसेका थिए उनीहरू ।

दाइ सरोज भन्छन्, ‘एक महिनापछि ११ जेठमा केन्द्रीय कारागार सुन्धाराबाट फोन आयो । फोनमा बोल्ने मान्छे त आफ्नै भाइ । उसले म कारागारमा छु भन्यो । हतार–हतार गएर भेटें ।’

शंकरसहित ती युवकलाई प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाएको रहेछ । प्रमुख जिल्ला अधिकारीलाई धरौटी बुझाउन नसकेपछि उनी जेल पुगे । उनले प्रहरीलाई नामथर ढाँटेर सुवास बोगटी बताएका छन् । दाइ सरोज भन्छन्, ‘ऊ अपराधमा संलग्न होस्/नहोस्, जीवित रहेछ । हामी धेरै खुसी छौं ।’