संखुवासभामा पहिरोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ

0 6

संखुवासभामा पहिरोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ । पाथीभरा–१ थाप्रुङकी ३२ वर्षीया सुकु तामाङको शनिबार दिउँसो गएको पहिरोले पुरिएर मृत्यु भएको हो । पहिरोले पुरिएर नुम र पाथीभरामा ४ जना बेपत्ता भएका छन् । पहिरोले पुरिएर उनको ३ बर्षीय छोरा बेपत्ता छन् । उनका अर्का छोरालाई सेनाले जिवितै उद्धार गरेको थियो । उनीहरुको नाम भने खुल्न सकेको छैन । सेनाको हेलिकप्टरले उद्धार गरेर ल्यायपछि उनको खाँदबारी अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोले नै पुरिएर नुम गाविसको फ्याक्सिन्दामा एकै परिवारका ३ जना बेपत्ता भएका छन् । गएराति घर माथिबाट पहिरो झरेपछि भाग्ने क्रममा ३२ बर्षिय रोशन तामाङ, उनका २८ बर्षीया श्रीमती उर्मिला तामाङ र १९ महिनाकी छोरी सुनिता तामाङ बेपत्ता भएको डीएसपी कमल थापाले बताए ।

पहिरोका कारण फ्याक्सिन्दाका १७ परिवारका ८१ जनाले गाउँ छाडिसकेका छन् । वेपत्ताहरुको खोजि जारी राखिएको छ । पहिरो गएपछि फ्याक्सिन्दामा रहेको अरुण नदीको पुलबाट आवतजावतमा समेत रोक लगाइएको छ ।

पहिरोले मकालु गाविस ६ याङदेममा ४ वटा घर बगाएको छ । घर बगाएपछि उनीहरु नजिकैको साक्सेवा गाउँमा अस्थायी रुपमा बसिरहेका छन् । मकालुको तल्लोवालुङमा ३ घर बगेका छन् । मकालुमा पहिरोले १४ घर–परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । यसैबीच, २ दिन अघिबाट पहिरोमा फसेका पावाखोला ६ खङदुवाका ६२ परिवारलाई सेनाको हुलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।