पेरिसडाँडाबाट १६ बुँदे सहमति अनुमोदन

0 7
काठमाडौँ : एकीकृत नेकपा (माओवादी) केन्द्रीय समितिको पूर्ण बैठकले प्रमुख चार शक्तिबीच भएको १६ बुँदे सहमति अनुमोदन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आज बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष दाहालले १६ बुँदे सहमति, पार्टीले पेस गरेको फरक मत, श्रम अभियान र पार्टीको आगामी कार्यभारबारे धारणा राखेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए।
अध्यक्ष दाहालले संविधान बन्न नदिने षडयन्त्र चिर्न अबको एक महिना सम्पूर्ण पार्टी पङ्क्ति केन्द्रित हुन निर्देशन दिएको प्रवक्ता शर्माले जानकारी दिए।
बैठकमा मस्यौदा समिति र प्रदेशको सीमाङ्कन र नामाङ्कनको क्रममा पार्टीले थप उपलब्धिका लागि क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको उपलब्धिलाई कम नआँक्न नेताहरुलाई दाहालले आग्रह गरे।
अध्यक्ष दाहालले अहिले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि सङ्घर्ष गर्ने उद्देश्यसहित सहमति गरिएको बताउँदै १६ बुँदे सहमतिको पक्षमा देशभर वातावरण बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
आफूहरुले परिवर्तनका एजेन्डा नछाडेको बताउँदै सहमतिको गलत व्याख्या गरी पार्टीविरुद्ध प्रचारबाजी हुनसक्ने भएकाले त्यसलाई चिर्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका थिए।
बैठकमा केही केन्द्रीय सदस्यहरुले सहमतिको नाममा पार्टीले आफ्ना अडान छोडेको, मधेसी, जनजातिका मुद्धालाई छोडेको भन्दै नेतृत्वको आलोचना गरेका थिए।