अर्थमन्त्रीलाई गगनको प्रश्न-दाताले कसरी काम गर्छौ भनेर सोधे के भन्ने ?

0 5

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका यसभासद गगन थापाले सरकारसँग अन्तराष्ट्रिय दाताहरुलाई उत्तर दिने आधार कमजोर भएको बताएका छन् ।

पोष्ट डिजास्टर निड्स एसिसमेन्ट (पीडिएनए) प्रतिवेदनमाथि सुझाज लिन राष्ट्रिय योजना आयोगले शनिबार छलफल कार्यक्रम गरेको छ । अागामी असार १० गते सरकारले काठमाडाैंमा अन्तराष्ट्रिय दाता सम्मेलन गर्दै छ ।

कार्यक्रममा सत्तारुढ कांग्रेसकै सभासद थापाले भूकम्प जानुभन्दा अघि पर्याप्त स्रोत हुँदाहुँदै पनि सरकारले खर्च गर्न नसकेको अरोप लगाए ।

‘विभिन्न मन्त्रालयका प्रतिनिधिलाई बोलाएर संसदीय समितिमा मैले किन खर्च हुन सकेन भनेर सोधिरहन्थेँ’ कृषि तथा जलस्रोत समितिका सभापति समेत रहेका थापाले भने-‘अर्थमन्त्री ज्यू, दाता सम्मेलनमा दाताहरुले कसरी काम गर्छौ र खर्च गर्न सक्छौ भनेर सोधे भने हामीले के उत्तर दिने ?’

स्थानीय निकायको निर्वाचन नभएसम्म स्थानीयस्तरमा गएको बजेट खर्च हुन नसक्ने र खर्च भए पनि बढी दुरुपयोग हुने थापाले बताए । उनले सरकारले जतिसक्दो चाँडो राजनीतिक सहमति गरेर स्थानीय निकायको निर्वाचनको मिति तोक्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले चाँर्ड प्रधानमन्त्रीे अध्यक्ष रहेको पुनर्निर्माण प्राधिकरण वा आयोग गठन गर्ने र पुनर्निर्माण सुरु गर्ने बताए । ‘एउटा छुट्टै शक्तिशाली संयन्त्र निर्माण गरेर पुनर्निर्माणको काम गरिने भएकाले खर्च हुन सक्दैन कि भन्नेमा शंका छैन’ महतले भने ।

अहिले भइरहेको संयन्त्रबाट भने पुनर्निर्माण्को काम गर्न कठिन हुने उनले बताए ।
पूर्व अर्थमन्त्री, योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व अर्थसचिव, पूर्वउच्च कर्मचारीहरु, विभिन्न संससंथाका प्रतिनिधि, सभासद तथा योजना आयोगका सदस्यहरुले पीडिएनए प्रतिवेदनमाथि सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्ने अधिकांशले योजना आयोग र अर्थ मन्त्रालयले समयमै पीडिएनए प्रतिवेदन तयार पारेको प्रतिक्रिया दिएका छन् । तर, आफ्नो क्षेत्र तथा समुदायका लागि पर्याप्त बजेट नछुट्याएको गुनासो गरे ।

अर्थमन्त्री महतले रकम हुनु ठूलो कुरा नभई रकमको सही तरिकाले खर्च गर्न सक्ने क्षमताको अभाव अहिलेको मुख्य चुनौति रहेको बताए ।

स्वास्थ्य मन्त्रालयको उदाहारण दिँदै मन्त्री महतले भने–स्वास्थ्य मन्त्रालयमा ३४ अर्ब रुपैयाँ बजेट गएको छ तर, १ महिना वितिसक्दा पनि १६ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । हाम्रो कर्मचारीतन्त्रको खर्च गर्नसक्ने क्षमता यसैबाट प्रष्ट हुन्छ ।’

मन्त्री महतले सरकारले योजनावद्ध पुनर्निर्माण गर्न र त्यसका लागि स्रोत जुटाउन पीडिएनए प्रतिवेदन तयार पारिसकेको जानकारी दिए । ‘हामी दुई दिनभित्र पीडिएनएको फाइनल प्रतिवेदन तयार पार्छौं’ उनले भने-‘कसैका सुझावहरु छुटेका भए अर्थ मन्त्रालय र योजना आयोगमा आएर दिन सक्नुहुनेछ ।’

source:onlinekhabar