हराभरा मनको धरहरा

0 6
तिमी हृदयले छुँदा पनि प्यारो, तिमी रूँदा पनि झन् प्यारो।
तिमी हुँदा पनि प्यारो, तिमी नहुँदा झनै प्यारो।।
मनमा आगो बल्यो। तन बेहोश भएर भुइँमा ढल्यो। दिल त्यस दिन नै जल्यो। मुटु त्यस दिन झन् दुख्ने गरी चल्यो। ख्वै, अरू के के बल्यो, के के जल्यो जल्यो, सबै चिज गुमाएझैं मनको धरहरा नै ढल्यो।
२०७२ साल वैशाख १२ गते, मध्याह्नको ११:५६ बजे। शनिबार, सार्वजनिक बिदाको दिन।
गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको ७.६ म्याग्निच्युडको भूकम्पको झट्काले आतंक सिर्जना गरेर सृष्टिमाथि नै धावा बोल्दै आफ्नो नांगो चरित्र प्रदर्शनमात्रै गरेको थिएन, भूकम्पीय हुन्डरीसँगसँगै क्षणभंगुर हजारौं निर्दोष आत्माले सर्वस्व गुमाएर एकाध सेकेन्डमै आफ्नो प्राणको आहुति दिन तयार हुनु परेको थियो। यद्यपि यो भूकम्पपछिका परकम्पहरूले अझै पनि तर्साइरहेकै छ।
यस दिन कैंयौं भौतिक एवं ऐतिहासिक सहर, दरबार तथा सम्पदा थिए, जुन हेर्दाहेर्दै खण्हर र भग्नावशेषमा परिणत भए। काठमाडौंको नौतले धरहरामात्र ढलेन, तिनको ऐतिहासिक महत्त्व, भव्यता र सभ्यताको धरोहर पनि ढल्यो।
अहिले ती सबै नजरबाट विस्तारै ओझेल पर्दैछन्, ओझेल पर्ने क्रममा छन् तर समय र परिस्थितिले जतिसुकै जालझेल गरे पनि नेपाली जनताको स्मृतिबाट त्यो एउटा सच्चा इतिहासले उपहार दिएको अटल आस्थाको धरहरा भने कहिल्यै ओझेल पर्ने छैन।
त्यो स्तब्ध सडक, जहाँ एउटा निर्जीवजस्तो वस्तु उत्तानो परेर डंग्रंग लडिरहेको थियो। किंकर्तव्यमविमूढ बनेर भग्नावशेष वरिपरि उभिने मानिसको बाक्लो उपस्थिति थियो।
हिजोअस्ति काठमाडौंको धरहरातिर उत्सुकतापूर्वक तेर्सिने तीखा आँखहरू आज निकै लाटा भएका छन्। मानिसहरू यसरी गोलघेरा भएका थिए, मानौं त्यहाँ जंगली सिंहले आक्रमण गरी ढोईलाई घाइते तुल्याएको छ, आलो रगतले पोतिएको गर्धन चुसिरहेको छ र सिंहको बलिष्ठ पञ्जाबाट उम्कने अथक प्रयासहरूबिना नै अन्तिम प्राणपखेरू निष्ठुरी सिंहलाई नै समर्पण गर्न तयार छ।
अर्कातिर, प्रेमीप्रेमिकाको जोडीजस्ता देखिने युवकयुवतीका उदास मुद्रा पढ्दा यस्तो लाग्थ्यो- उनीहरूको धरहरा चढ्ने र सपनाको ट्विन टावर र टुँडिखेल एकैसाथ चियाउने अन्तिम इच्छा अझै बाँकी नै थियो, जुन अधुरो रह्यो, मेरोजस्तै।
कोही मोबाइलमा फोटो खिच्न व्यस्त देखिन्थे भने राम्रो गुणस्तर भएका मोबाइलवालाहरू ढलेको धरहराको भग्नावशेषको निरीह दृश्यलाई भिडियोका रूपमा कैद गर्न आतुर देखिन्थे भने कोही सेल्फी खिच्न।
केही पर मिडियाकर्मीहरू क्यामेराको ट्राइपट जमिनमा टेकाएर धरहराको कारूणिक दृश्यतर्फ क्यामेराको लेन्स फोकस गर्दैथिए। धरहराको बिभत्स दृश्य हेर्नेको भीड देख्दा यस्तो लाग्यो- त्यहाँ कुनै ‘धर्म-कचहरी’ वा ‘गाउँ-पञ्चायत’ हुँदैछ, भीमसेनलाई दोषी ठहर्‍याइँदैछ, दोषी भीमसेनउपर कडा सजायस्वरूप निजलाई अग्लो सिमलको रूखमा झुन्ड्याएर फाँसी दिइँदैछ र आमसर्वसाधारणलाई जबरजस्ती ताली पिट्न बाध्य पारिँदैछ।
त्यही भग्नावशेषवरिपरि झुम्मिएर रमिता हेर्नेहरूको झुन्डमा कसैले थाहा नपाउने गरी पकेटबाट कपडाको सानो टुक्रा झिकेँ र रसाएका आँखा पुछेँ, मानौं म आमाबुवाको शेषबिना नै बिलकुल टुहुरो बन्दैछु।
आँखाबाट सास हराएजस्तो गरी अर्धमूच्र्छितजस्तो लाग्ने धरहराको अन्तिम दर्शन सकेर आफू उभिएको ठाउँ अरूका लागि खाली गर्दै म भीडबाट विस्तारै ओझेल परेँ।
सबैको मुहारमा छाएको यो मलीनता, हृदयमा टुसाएको यो शालीनता र आँखामा स्वत:स्फूर्त रसाएको यो आँसु र आत्मीयता कुनै नुनिलो आँसु र विस्मात्मात्र थिएन, यो त आफ्नो इतिहासप्रति दर्शाएको सच्चा आत्मसम्मान र श्रद्धा पनि थियो।
अहिलेको साविकैको ठाउँमा निर्माण गर्दा त्यो कृत्रिम र नाममात्रको धरहरा हुनेछ। बरु यस ठाउँ वा क्षेत्रलाई सरकारले कुशलतापूर्वक चर्चेर हाल भग्नावशेषको रूपमा जमिनमा सुतिरहेको धरहरालाई संग्रहालयमा रूपान्तरण गरी ससम्मान इतिहासको दोसल्ला ओढाउने र २०७२ सालको भूकम्पको स्मृतिमा दिवंगत हुने सम्पूर्ण आत्माको चिर शान्तिको कामनासहित राष्ट्रिय एकताको नयाँ धरहरा नवनिर्माण गर्नुपर्छ। 
मलाई लाग्छ- धरहरा नेपालीको वा नेपालीपनको एउटा बलियो आस्था, विश्वास र एकताको स्तम्भ हो। नेपाली स्वाभिमानको प्रतिविम्ब हो। धरहरा इतिहासको ज्यूँदो प्रमाण पनि हो, प्राण पनि हो।
जुन दिन नेपालमा १९९० सालको विनाशकारी भुइँचालोले धरहराको पूर्ण कद ढाल्यो, त्यस दिनदेखि नै कुनै न कुनै प्रसंगमा धरहराको मित्र-साइनो जोडिएर आउने गर्छ, आइरहनेछ।
यहाँ अन्य भौतिक, ऐतिहासिक पुरातात्त्विक सम्पदाहरूको महत्त्व र गुणत्वलाई कम आँक्न खोजेको पक्कै होइन। सांस्कृतिक वैभवहरूको महत्त्वलाई कम आँक्नु मेरो लागि झनै असम्भव हो।
धरहरा ढलेकोमा सर्वसाधारण जनताबाट जतिसुकै दु:खमनाउ गरिए पनि देशका केही गन्यमान्य वृत्तबाट धरहरालाई ‘सहरको बीचमा सबैको आँखामा परेको स्तम्भ भनेर मानिदिएको मात्रै हो’ जस्ता सस्तो अभिव्यक्ति दिएर धरहराको उचाइ र स्वाभिमानप्रति नै वितृष्णा र बौद्धिक महामारी फैलाइयो पनि।
देशका केही बौद्धिक एवं वरिष्ठ व्यक्तिहरूको विवेकमा नै विनाशकाले विपरीत बुद्धिको बिर्को लागेको देखेर विरक्त लागेर आउँछ। इतिहासले दिएको नासोलाई ठट्टा र हाँसोको पात्र बनाउने र अवमूल्यन गर्ने अधिकार कसैलाई पनि छैन।
हामीले एक सय चारवर्षे लामो राणाशासन तानाशाही निरंकुशतालाई पनि कुशलतापूर्वक परास्त गर्‍यौं। ३० वर्षे लामो पञ्चायती व्यवस्थालाई पनि सभ्य तरिकाले पन्छायौं र बहुदल हासिल गर्‍यौं। एक दशक लामो तथाकथित सशस्त्र विद्रोहसमेत त्यागेर हामी नेपाली स्वत:स्फूर्त शान्ति र अहिंसाको बुद्धभूमिमा शान्तिपूर्ण अवतरण गर्दैछौं।
हामी जस्तोसुकै मतभेदलाई विचारको चारले भाग गरेर दुराचारलाई चिरफार गर्दै सदा नेपालीको सपना साकार पार्ने प्रयत्यमा लागिरह्यौं, लागिरहेका छौं। यो सूत्र, विधि र संस्कार हामीलाई नेपालको हावापानी, माटो र मातृभूमिले सिकाएको एकताको परिणाम हो।
यसैले त हामी हाम्रा कला, गला र संस्कृतिको अटल पहिचानलाई सदा एउटै एकता र अपनत्वको मालामा गाँसेर सदा गुलाफझैं मुस्कुराइरहेका छौं।
अब हामीले धरहराको आफ्नै खाले विशिष्ट इतिहासको ज्यूँदो प्रमाण लोप हुन कदापि दिनु हुँदैन।नयाँ निर्माण हुने धरहरा भूकम्प प्रतिरोधात्मक होला, पुरातत्त्व विभागले पुरानै स्वरूपमा धरहरालाई जीवन देला। तर मलाई लाग्छ, धरहरालाई पुनर्जीवन दिन र त्यसमा आत्मा भर्न सम्पूर्ण नेपालीको साझा लगानी, आत्मीयता र पवित्र मन अवश्य चाहिन्छ।
झन्डै तीन करोड नेपालीको पसिना र श्रमको कदर गर्दै मात्र एकएक रुपैयाँ संकलन गर्ने पवित्र अभियान चलाउने हो भने पनि ढलेको भनिएको मृत धरहरा नेपालीको छातीबाट आफैं बौरिन्छ, ब्यूँझिन्छ र आफैं उठ्छ, उठ्नेछ। यो कुनै महान् अभियान हुनेछैन, मात्र पवित्र अभियान हुनेछ।
हामी धरहराको पुनर्निर्माण वा नवनिर्माणका लागि चाहिने आवश्यक कच्चा पदार्थ जुटाउन पनि तयार छौं र पक्का पदार्थ जुटाउन तयार पनि छौं। पूर्वको काँकडभिट्टाबाट इँटा, सुदूरपश्चिमबाट बलियो बिम, दक्षिण तराईबाट गिट्टी र बालुवा र उत्तर हिमालबाट उवा र ऊनको नरम भुवा जुटाउनसमेत तयार छौं।
हाम्रो एकताको धरहरा हामी आफैं निर्माण गर्छौं, गर्नेछौं। जब देशको निम्ति कुनै अनिष्ट, प्रलय र महाविपत्तिको साइरन बज्छ तब एकजुट हुने हामी नेपालीको सनातन विशेषता नै हो।
पृथ्वीनारायण शाहले विस्तार गरेको छरपस्ट बाइसे र चौबिसे राज्यहरूलाई जसरी भौगोलिक एकीकरण गरे, त्यसरी नै वैशाख १२ को भूकम्पले नेपाली सद्भावलाई पुनसांस्कृतिक एकताको साझा त्रिपालमा ओत लाग्ने एउटा अवसर दिलाएको छ।
इतिहासले पनि नेपाल सरकारलाई यतिखेर दुईवटा अवसर एकैसाथ दिलाएको छ। एक, संविधान निर्माणको संकल्प-प्रस्तावसहितको धरहरा निर्माण गर्नु। अर्को, संसद्को राष्ट्रिय गरिमा स्थापित हुने गरी दूरगामी राजनीतिक एकताको धरहरा निर्माण गर्नु।
यसले राजनीतिक दलका मसिहाहरूलाई मातृभूमिको ऋण तिर्न नसके पनि जनताको ऋणको अभिभारा तिर्न र भूकम्पबाट पीडित एवं प्रभावितको चहर्‍याइरहेको घाउमा शान्त्वनारूपी मल्हमको काम गर्नेछ र स्वयं नेता र जनताबीच टुट्दै गएको विश्वासलाई समेत फर्काउन आह्वान गर्नेछ।
समग्रमा सत्तालिप्साको आग्रह र पूर्वाग्रहरूले जेलिएको बेइमानी राजनीतिको बेमौसमी प्रतिशोध त्यागेर जनता र राष्ट्रहितको पक्षमा वकालत गर्दै राष्ट्रिय राजनीतिक प्रतिष्ठाको धरहरालाई साक्षीका रूपमा उभ्याउने कबुलसहितको भीष्मप्रतिज्ञा गर्ने समय आएको छ।
सरकारले फलामजस्तो निकै बलियो र भूकम्पीय जोखिमबाट प्रतिरोधात्मक धरहरा बनाउने इच्छा व्यक्त गर्नु निश्चय पनि अत्यन्त खुसीको कुरो हो तर यदाकदा सुनिँदैछ, पुनर्निर्माणका नाउँमा ढलेको धरहराको लासमाथि राजनीतिक चलखेल भइरहेको छ र सञ्चारमाध्यममार्फत अखबारहरूमा सलबलाएको सूक्ष्म राजनीतिक गन्धले पुन: नेपालीको मस्तिस्कमा एउटा नमीठो तरंग सिर्जना गरेको छ।
निजी क्षेत्रका परजीवीहरूलाई धरहराको निर्माणको ठेक्का दिनुपूर्व सरकारलाई यो पनि हेक्का हुन जरुरी छ, धरहराको शान र मानलाई अलख निरञ्जनको कमण्डलुमा भिक्षादानमात्र दिने कि शरीर नै सुम्पिने?
अहिलेको साविकैको ठाउँमा निर्माण गर्दा त्यो कृत्रिम र नाममात्रको धरहरा हुनेछ। बरु यस ठाउँ वा क्षेत्रलाई सरकारले कुशलतापूर्वक चर्चेर हाल भग्नावशेषको रूपमा जमिनमा सुतिरहेको धरहरालाई संग्रहालयमा रूपान्तरण गरी ससम्मान इतिहासको दोसल्ला ओढाउने र २०७२ सालको भूकम्पको स्मृतिमा दिवंगत हुने सम्पूर्ण आत्माको चिर शान्तिको कामनासहित राष्ट्रिय एकताको नयाँ धरहरा नवनिर्माण गर्ने हो भने त्यही नै साँचो अर्थमा धरहराप्रतिको साँचो सम्मान र श्रद्धा अभिव्यक्त हुनेछ।
नेपालीपनको नेपाली मनको त्यस्तो समृद्ध धरहरा निर्माण हुनेछ, जहाँबाट हामी राजनीतिक दूरदृष्टिको वाइनाकुलरबाट विश्व रंगमञ्चमा नेपालको हराभरा टुँडिखेलमा चन्द्र र सूर्यअंकित नेपाली राष्ट्रिय झन्डा फरफराइरहेको देख्न सकियोस्, सगरमाथाको शिर चुम्न सकियोस् अनि बुद्धको पवित्र भूमि प्रत्यक्ष्य अवलोकन गर्ने समान अवसर पाइयोस्।
जीवनमा प्रत्येक चिज दुई अवस्थामा मात्र मूल्यवान् लाग्छन्- पाउनुअघि र गुमाइसकेपछि। जसले आफ्नो देशलाई माया गर्दैन उसले कसैलाई पनि माया गर्दैन। धरहरा ढल्यो भनेर आममानिस भ्रममा परिरहेका छन्।
धरहरा जमिनमा सुतेकोमात्र हो, धरहरा ढलेको होइन। हाम्रो मन ढलेको हो। हाम्रो विश्वास ढलेको हो। अब भूकम्पले ढलेको मन, नेपाली जनता र नेताबीच टुटेको विश्वासलाई धरहरासँगै उठाउनुपर्छ।
यो विश्वास ‘एकादेशमा एउटा धरहरा थियो’को कथामा मात्र सीमित हुनेछैन। हराभरा मनको धरहरा पुनर्निर्माण हुनेछ, धरहरा बौरिएर अवश्य उठ्नेछ।