तारेभीरको पहिरोले सयबढी घर जोखिममा

0 6
बस्ती नै सार्न स्थानीयबासीको माग
काठमाडौँ : काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका-७ तारेभिरमा आज बिहान साढे १० बजेदेखि पहिरो जान थालेको छ ।

पहिरोले सयबढी घर जोखिममा परेको स्थानीयवासीले जनाएका छन् । ‘ठूला ढुङ्गा खसेर पहिरो जान थालेपछि घरमा बस्न नसकिने अवस्था छ’, स्थानीयबासी सम्पूर्ण लामाले भने, ‘भूकम्पले एक महिना बारीमा बसियो, पहिरोले बारीमा पनि बस्न नसकिने अवस्था आयो ।’

पहिरो गएको खबर पाउनासाथ सभासद् रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका कार्यकारी अधिकृत रामचन्द्र तिवारी र दलका नेता कार्यकर्ता तारेभिर पुगेका थिए । त्रसित स्थानीले बस्ती सार्ने पहल गरिदिन अनुरोध गरेको सभासद् फुयाँलले बताए ।  

‘जोखिममा रहेका ७० घरपरिवारलाई गोठसल्लाघारी वनमा राख्ने पहल गर्दैछौँ,’ सरकारको बस्ती स्थानान्तरण समितिको संयोजकसमेत रहेका सभासद् फुयाँलले भने, ‘मानवीय क्षति नभए पनि अवस्था गम्भीर भएकाले नगरपालिका र दलका नेताको आकस्मिक बैठकले बस्ती सार्ने निर्णय गरेका हौं ।’
कांग्रेस ३ नं. क्षेत्रका सचिव एवम् स्थानीयवासी श्रीकृष्ण ज्योति स्थानान्तरण गरिने घरपरिवारका मानिसलाई राहतसहित बस्ने खाने व्यवस्था गर्न सरकारसँग माग गरिएको बताउँछन् ।

‘पहिरो गएको स्थानमा डरलाग्दो दृश्य देखिएकाले भौगर्भिक अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई छिटो अध्ययन गर्न आजै खबर गरेका छौँ’, उनले भने, ‘ठूला धाँजा फाटेको जमीन आसपासमा दैनिक वर्षा भएकाले वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था छ ।’

वैशाख १२ गतेको भूकम्पका दिन सामान्य पहिरो गए पनि धाँजा फाटेका स्थानमा शुक्रबार रातिको वर्षाले पहिरो गएको हुन सक्ने स्थानीयवासीले बताएका छन् । पहिरो बढ्दै गएमा नगरपालिकाका ७ र ८ वडाका  २ सय घर परिवारसम्मलाई असर पुग्ने स्थानीय ज्योतिले बताए ।