ओबामा टिममा नेपाली छोरी

0 6
नेपाली चेली सञ्जिता प्रधान (श्रेष्ठ) यतिबेला चर्चाको शिखरमा छिन्। धरानकी सञ्जिताले ह्वाइट हाउसमा प्रवेश पाएकी छन्। वैशाख २६ गते शनिबार शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामाको सल्लाहकारमा उनको नियुक्तिपछि उनको चर्चा चुलिएको छ भने यता नेपालीहरू उनको सफलताप्रति गौरव अनुभूति गरिरहेका छन्।
ओबामाले नियुक्त गरेका १९ जना सल्लाहकार सदस्यमध्येकी एक हुन्, सञ्जिता। अमेरिकाको यति उच्च पदमा नियुक्त हुने पहिलो नेपाली मूलकी हुन्, उनी।
उनी एसिया प्यासिफिक आइसल्यान्डको तर्फबाट राष्ट्रपति ओबामाको सल्लाहकार समितिको सदस्यमा नियुक्ति भएकी हुन्। उनको भनाइ छ,’मैले प्रारम्भिक स्तरबाटै यस्तो काम गर्दै आएकीले यो ठाउँसम्म आइपुगेकी हुँ।’
पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुरमा जन्मिइन्। अनि हुर्किइन्, धरानमा। सानैदेखि गरिब दु:खीको सेवामा समर्पित हुन गर्न मन पराउने नेपाली चेली सञ्जिता अमेरिकामा समेत गएर समाजसेवामा समर्मित भइन्।
पैसा कमाउनभन्दा बढी समाजसेवाको भावनाले काम गरिन्, उनले। सतहमा रहेका व्यक्तिका बारेमा वकालत गरिन्। आखिर उनको क्षमतालाई ह्वाइट हाउसले समेत देख्यो र उनले ह्वाइट हाउसमा प्रवेश पाइन्।
नौ वर्षको छोटो अमेरिका बसाइमा नै अमेरिकी राष्ट्रपति बाराक ओबामाको सञ्जितालाई सल्लाहकार सदस्यमा नियुक्त गरेपछि उनी अहिले चर्चामा छिन्।
अमेरिकाको अन्तर्राष्ट्रिय शरणार्थी पुनर्वास र व्यवस्थापनमा उदाहरणीय काम गरेको उच्च मूल्यांकन गर्दै ओबामाले सञ्जितालाई आफ्नो सल्लाहकार सदस्यमा नियुक्त गरे, शरणार्थीसम्बन्धी काम गर्ने विज्ञका रूपमा।
शक्तिशाली राष्ट्रको राष्ट्रपतिको सल्लाहकार सदस्य नियुक्त गर्नु सञ्जिताको योग्यता, क्षमता र इमानदारिताको कदर हो। अर्कोतर्फ ओबामाले नेपालप्रति देखाएको सम्मानका रूपमा पनि सञ्जिताको नियुक्तिलाई लिनेहरू पनि छन्।
‘शिक्षाबिनाको जीवनको अर्थ हुँदैन’ भनेर बाल्यकालदेखि नै शिक्षालाई प्राथमिकतामा राखेर निरन्तर अगाडि बढिन्, उनी। उनले विभिन्न सञ्चार माध्यमसँगको कुराकानीका क्रममा भनेकी छन्,’मैले ठाउँसम्म आउन सक्छु भनेर चाहिँ कहिल्यै सोचेकी थिइनँ।’
सञ्जिता ओबामाको सल्लाहाकार सदस्य भएपछि उनलाई बधाई दिनको संख्या गनिसाध्य छैन। उनलाई जन्मदिने बाबुआमालाई बधाइ दिनेहरूको ताँती लागेको छ। उनका बाबु नियुक्त ऐसनारायण र आमा लीला श्रेष्ठलाई बधाई थाप्नमा भ्याइनभ्याइ छ।
राष्ट्रपति ओबामाको सल्लाहकारमा नियुक्त भएपछि अन्नपूर्ण पोस्ट्सँग टेलिफोनमा कुरा गर्दै सञ्जिताले भनिन्, ‘सुरुमा राष्ट्रपतिको सल्लाहकार सदस्यमा नियुक्त भएको खबर सुन्दा त अचम्म लाग्यो। त्यसपछि म अत्यन्तै हर्षित भएकी छु। अहिले ममा खुसीको सीमा छैन।’
अमेरिकाको मानवअधिकार र शरणार्थी मामिलामा सफलतापूर्वक काम गरेर ह्वाइट हाउसको ध्यान आफूमाथि केन्द्रित गर्न सफल भइन् उनी। भन्छिन्,’जुनसुकै राष्ट्रमा तल्लो निकायमा हुने कामको जानकारी सत्ता सञ्चालन गर्नेदेखि राष्ट्र प्रमुखलाई समेत जानकारी हुनुपर्छ।’
शरणार्थी पुनर्वासमा तल्लो स्तरबाट गरेको काम नै ह्वाइट हाउससम्म पुर्‍याएकै कारण अहिले आफूले अमेरिकी राष्ट्रपतिको सल्लाहकार सदस्यमा नियुक्ति पाउन सफल भएको उनको भनाइ छ।
उनी अहिले पनि नेपालमा महिलालाई फरक दृष्टिकोणले हेर्ने चलनप्रति चिन्तित छन्। तर महिला पनि पुरुषभन्दा कम भन्ने उदाहरण उनी आफैं हुन पुगेकी छन्। उनी भन्छिन्, ‘आमाबाबुले छोरीलाई छोरासरह समान व्यवहार गरी शिक्षादीक्षामा ध्यान दिए महिलाले पनि सफलता हासिल गर्न सक्छन्।’
प्राथमिक तहमा सञ्जिताले धरानकै मेरी गोल्ड स्कुलमा पढिन्। तत्कालीन प्रिन्सिपल रीता रञ्जितकारबाट प्रभावित भइन्, उनी। एउटा बालमस्तिष्कले स्कुलको प्रिन्सिपलभन्दा ठूलो अरू कसैलाई देख्न सक्दैन। तर उनले रीताभन्दा ठूलो मान्छे हुने सपना देखिन्, त्यसबेला। आखिर त्यो सपना पूरा भएरै छाड्यो।
पैसा कमाउनभन्दा बढी समाजसेवाको भावनाले काम गरिन्, उनले। सतहमा रहेका व्यक्तिका बारेमा वकालत गरिन्। आखिर उनको क्षमतालाई ह्वाइट हाउसले समेत देख्यो र उनले ह्वाइट हाउसमा प्रवेश पाइन्।
उनले आफूलाई जन्म दिने र शिक्षादीक्षा बाबु ऐसनारायण र आमा लीलालाई आफूलाई प्रेरणा दिनेहरूमध्ये केन्द्रमा राखेकी छन्। यस्तै विवाहपछि श्रीमान् भूषण र कर्मदिने ससुरा डा. भीम प्रधान र सासू मीनाले समेत आफ्नो करिअर निर्माणमा दिएको प्रोत्साहन र सहयोग बिर्सिनसक्नु छ उनका लागि।
पढाइ सकेर जर्मन प्रोजेक्ट, काठमाडौंमा सल्लाहकारको रूपमा तीन वर्ष काम गरिन् उनले। सन् २००६ को नोभेम्बरमा डीभी परेर अमेरिका पुगिन्। उनले छोटो समयमा उदाहरणीय कामद्वारा आफ्नो प्रतिभा प्रदर्शन गरिन्, अमेरिकामा। यही प्रतिभाको परिणाम उनको हातमा परेको छ, यतिबेला।
अमेरिकामा पुगेपछि सुरुमा त उनलाई रोजगारीकै समस्या आइपर्‍यो। पछि एउटा बैंकमा रोजगारी पाइन्। पछि अमेरिकाको अन्तर्राष्ट्रिय शरणार्थी पुनर्वासमा म्यानेजरको भूमिकामा काम गरेकी उनी केही समयपछि निर्देशक भइन्।
पछिल्लो समय अमेरिकामा मानवअधिकार अधिकृतको रूपमा कार्यरत रहेकै बेला सञ्जितालाई ओबामाले आफ्नो सल्लाहकार समिति सदस्यमा नियुक्त गरे।
गरिब दु:खीको सेवा गर्नु नै मानवको प्रमुख कर्तव्य हो। यही आदर्शलाई आत्मसात् गर्दै उनी सामाजिक काममा काममा अग्रसर भइन्। उनले यस्तो सेवाभावमात्रै राखिनन्, गजबले पसिना पनि बगाइन्।
सञ्जिताको केही वर्ष अमेरिकामा बसेर विश्वसनीय काम गर्ने र पुन: नेपाल फर्केर गरिब दु:खी नेपालीको सेवा गर्ने चाहना छ। भन्न मन लाग्छ, सञ्जिताले देखेको सपना पूरा होस्।

बाबु ऐसनारायण र आमा लीला श्रेष्ठ
छोरीको सफलताप्रति बाबु ऐसनारायण र आमा लीला श्रेष्ठ स्वाभाविक हर्षित छन्। सञ्जिताको नियुक्तिले धरानको श्रेष्ठ दम्पती एक उदाहरणीय पात्रका रूपमा प्रशंसित भइरहेका छन्। उनीहरूले पुरुषप्रधान समाजमा यस्तो छोरी जन्माए, जसले अहिले नेपालीको शिर उँचो बनाएको छ।
‘हामीले छोरीको पढाइलाई कहिल्यै कमी आउन दिएनौं’,उनका बाबु एेसनारायणले अन्नपूर्ण पोस्ट्सँग भने, ‘छोरीको यो नियुक्तिले हामी अत्यन्तै खुसी भएका छौ।
साईभक्त आमा लीलाले भनिन्,’सत्य साई भगवान्का कृपाले गर्दा नै सञ्जितालाई बाराक ओबामाको सल्लाहकार सदस्य नियुिक्त हुन मद्दत पुग्यो।’

शिक्षक केशवराज नेपाली
सञ्जिताको सफलतामा बाबुआमामात्र होइन सञ्जिताका गुरु विजयपुर स्कुलका केशवराज नेपाली र मेरीगोल्ड स्कुलकी प्रिन्सिपल रीता रञ्जितकार पनि उति नै खुखी देखिए।
‘सञ्जिता राष्ट्रपति ओबामाको सल्लाहकार सदस्य नियुक्त हुनु देशकै गौरव हो। यसमा हामी सबै नेपालीले गर्व गर्नुपर्छ’, नेपालीले भने।
२०३२ साल जेठ२४ गते संखुवासभाको चैनपुरमा जन्मिएकी सञ्जिता श्रेष्ठ (प्रधान) एेसनारायण श्रेष्ठ र लीला श्रेष्ठकी छोरी हुन्। अहिले उनी धरान, जनपथका स्थायी बासिन्दा हुन्।
चार बर्षको उमेरमा बाबुआमासँगै धरान बसाइँ सरेकी उनले कक्षा ५ सम्मको धरानकै मेरीगोल्ड बोर्डिङ स्कुलमा लिइन्। माध्यमिक तहको शिक्षा धरानकै विजयपुर बोर्डिङ स्कुलबाट पूरा गरिन्।
२०४७ सालमा प्रथम श्रेणीमा एसएलसी गरेकी सञ्जिताले भारतको केरलास्थित क्यालिकेट साई स्कुलबाट आईएस्सी प्रथम श्रेणीमा उत्तीर्ण गरिन्।
चितवनको रामपुर कृषि क्याम्पसबाट छात्रवृत्ति पाएर विशिष्ट श्रेणीमा कृषि विज्ञानमा विषयमा स्नातक गरेकी उनले भारतको इन्डिया इन्स्टिच्युट अफ् टेक्नोलोजीबाट छात्रवृत्ति पाएर एमबीए पूरा गरिन्।
२०६० सालमा विराटनगरका भूषण प्रधानसँग विवाहबन्धनमा बाधिएकी सञ्जिता सन् २००६ को नोभेम्बरमा डीभी परेर अमेरिका पुगेकी हुन्। दुई छोरा आभूषण र आर्यमनकी आमा उनी परिवारसहित अमेरिकामा रहँदै आएकी छन्।
उनी सानै उमेरदेखि इमानदार, लगनशील र मिलनसार रहेकी सञ्जिताका गुरु केशवराज नेपाली बताउछन्।
‘पढाइमा मेहनत गरेर जाँगर लगाउने सञ्जिताले विद्यालयमा भएका कार्यक्रममा सधैं भाग लिएर विभिन्न पुरस्कारसमेत जितेकी थिइन्’, नेपालीले भने, ‘मैले पढाएको विद्यार्थी आज शक्तिशाली राष्ट्रका राष्ट्रपतिको सल्लाहकार नियुक्त भएको खबर सुन्न पाउँदा अत्यन्तै हर्षित भएको छु।’