अर्बपति शेष घलेकी आमा भन्छिन्,-‘छोरा, अब गाउँ आऊ’

0 8
नायुँ, घनपोखरा (लमजुङ) : ८६ वर्षको बुढ्यौली उमेर। घरमा कोही छैनन्, एक्लै जीवन गुजार्दै आइरहेकी देवीकुमारी घले गाउँको मायाले बजार बस्न मान्दिनन्। एउटा आँखा राम्रोसँग देख्दिनन्। आँखामा फुलो परेको छ। थप बिग्रिन्छ भन्ने डाक्टरको सल्लाहले ‘अप्रेसन’ गरेकी छैनन्।
बोली बयस्कको झैं दमदार छ। छोरा, विश्वकै उदीयमान अर्बपति। अस्ट्रेलियाका धनाढ्य। धनसँगै मन पनि भएका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले हुन् उनका छोरा।
घनपोखराको नायुँ, जहाँ पुग्न जिल्ला सदरमुकाम बेसीसहरबाट झन्डै चार घन्टा लाग्छ। त्यही गाउँमा जन्मिएका शेष घले अहिले संसारभर चर्चाको पात्र बनेका छन्।
एउटा सामान्य परिवार। छोरा बढेपछि लाहुर पठाउनुपर्छ भन्ने मान्यता थियो। गाउँका अरू युवा लाहुरे भएर घरमा आउँदा अघिपछि भरियाका लस्कर हुन्थे। नायुँमा धेरै पढ्नुपर्छ भन्नेभन्दा पनि लाहुरे बन्नुपर्छ भन्ने बढी थिए।
सानैदेखि पढाइमा अब्बल थिए शेष। उनलाई पढाउन र हुर्काउन आमाले ठूलो संघर्ष गरिन्। नजिक विद्यालय थिएन, पढ्नका लागि दुराडाँडा पुग्नुपर्थ्‍यो।
‘छोरालाई हुर्काउन निकै गाह्रो भयो’, विगत सम्झिँदै देवीमायाले भनिन्, ‘म काम गर्थें, उसको बाबा खर्च बोकेर छोरो भेट्न जान्थे।
चामल, मिठो कुराउनी, कुखुराको फूल, रोटी बोकेर दुराडाँडा पुग्थे बाबा। खुब दु:ख गरेर पढायौं। एसएलसीमा पनि राम्रो अंक ल्यायो। त्यसपछि काठमाडौं हुँदै छात्रवृत्तिमा रसिया पढ्न पुग्यो।’
पति बितेको चार वर्ष पुग्यो। अहिले उनी एक्ली छन्। बेसीसहरमा घर भए पनि उनलाई त्यहाँ बस्न मन लाग्दैन। दुई छोरा, तीन छोरी अहिले कोही उनीसँग छैनन्। छोराहरू अस्ट्रेलिया बस्छन्। कहिलेकाहीं जेठा ज्वाइँले सघाउँछन् देवीमायालाई।
छोरा अर्बपति भएकोमा देवीमाया एकमन खुसी छन् र दु:खी पनि। ‘मैले त सम्पत्ति छाडेर गाउँमै आऊ बाबु भनेकी थिएँ, उसले मानेन।’ सम्पत्ति धेरै हँुदा शत्रु बढ्छन् भन्ने डर रहेछ उनलाई।
छोराको प्रगति देख्दा आफूलाई भाग्यमानी ठान्छिन् उनी। तर एक्लो जीवन बिताउँदा दु:ख सम्झिएर आफूलाई संसारकै अभागी ठान्छिन्। टेलिभिजनमा छोरालाई देख्दा खुसी हुन्छिन्। छोराले गरिबदु:खीलाई सेवा गरेको देख्दा दंग पर्छिन्।
छोरा अर्बपति भएकोमा देवीमाया एकमन खुसी छन् र दु:खी पनि। ‘मैले त सम्पत्ति छाडेर गाउँमै आऊ बाबु भनेकी थिएँ, उसले मानेन।’ सम्पत्ति धेरै हुँदा शत्रु बढ्छन् भन्ने डर रहेछ उनलाई। 
शेष घलेले आफूले पढेको घनपोखरास्थित ग्रामकल्याण निमाविको भवन बनाउन ५० लाख रुपैयाँ सहयोग गरे। त्यही पैसाले अहिले त्यहाँ ठूलो विद्यालय भवन बन्दैछ।
छोराले अन्यत्र सहयोग गरेको देख्दा उनलाई त्यो सहयोग आफ्नै गाउँठाउँमा गरोस् भन्ने लाग्छ। ‘अब त गाउँलाई पनि बनाउन पर्‍यो नि’, उनले भनिन्।
नायुँबाट १५ मिनेटको पैदल यात्रापछि पर्यटकीय गाउँ घलेगाउँ पुगिन्छ। बुधबार त्यहाँ अन्तिम घले राजाको सालिक अनावरण गर्न पुगेकी उनले छोरालाई घलेगाउँमा पनि सहयोग गर्न आग्रह गरिन्।
आफूलाई छोराले सधैं माया गर्ने बताउँदै उनले घले राजाहरूको सालिक निर्माण र घलेगाउँ सम्म पुग्ने मोटरबाटो पिच गर्न छोरालाई आग्रह गरिन्।

– Source: Annapurna Post