६५ लाख बोकेर चाइनिज व्यापारी बल्खु पुगे ओली भन्छन्-नेपालको नवनिर्माण अब एमालेको काँधमा

0 10

२९ जेठ, काठमाडौं । चिनिया व्यवसायीहरुको च्यारिटी संस्थाले नेपालका भूकम्प पीडितहरुको राहत तथा पुनःस्थापनामा सघाउन नेकपा एमाले मार्फत ६५ लाख रुपैयाँ प्रदान गरेका छन् ।

एमाले केन्दीय कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा लिङ फङ च्यारिटी संस्थाकी महासचिव चोङ इन फिङले अध्यक्ष केपी शर्मा ओलीलाई ६५ लाख रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।

एमालेले खडा गरेको भूकम्प पीडित उद्दार तथा राहत कोषमा सो रकम प्राप्त भएको र हालसम्म एमालेको कोषमा प्राप्त यो सबैभन्दा ठूलो रकम रहेको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए ।

एमालेकै कोषमा चिनिया व्यवसायीहरुको रकम प्रदान गर्नुको कारण खुलाउदै मकाउकी ब्यवसायी फिङले भनिन्-हामीले एमालेका स्वयंसेवकहरुको काम देख्यौं, उनीहरुले पीडितको ठाउँमा गएर साँच्चिकै सेवा गरिरहेका छन् । कम्युनिस्ट पार्टीका कार्यकर्ताको काम र यो पार्टीको व्यवस्थापन राम्रो लागेर यो रकम हस्तान्तरण गरेका हौं ।’

यसअघि इण्डोनेसिया र फिलिपिन्स लगायतका ठाउँमा सुनामी पीडितलाई समेत आफैंले गएर सघाएका चिनियाँ व्यवसायीहरुले नेपालका भूकम्प पीडित बस्तिमा पुगेर राहत सामाग्री वितरण गरेको युवा संघका केन्दीय सदस्य हरिश गौतमले बताए ।

मकाउमा धेरै नेपाली युवा कार्यरत रहेकाले नेपालीलाई विपत परेका बेला चिनिया व्यवसायीहरुले एमालेलाई विश्वास गरेर संकलित रकम हस्तान्तरण गरेको उनले बताए ।

शुक्रवारै एमालेको केन्द्रीय कोषमा माथिल्लो डोल्पो समुदायको तर्फबाट पनि ३ लाख रुपैयाँ प्राप्त भएको थापाले बताए । सो अवसरमा पार्टी अध्यक्ष केपी ओलीले एमालेको कोषमा जम्मा भएको रकम भूकम्प पीडितको राहत र पुनःस्थापनामा खर्च गरिने बताए ।

ओलीले भने-एमालेलाई विश्वास गरेर धेरैले सहयोग गर्नु भएको छ, म विश्वास दिलाउछु, अब देशको नवनिर्माणको नेतृत्व एमालेले गर्छ, एमाले बाहेक अरुले सक्दैन ।