शेरधनले प्रधानमन्त्रीलाई भने-राहतमा र्‍याल काढ्नेलाई हत्कडी लगाउनुस् मलेसियाका श्रमिकले गाँस काटेर राहत कोषमा रकम पठाए

0 10

९ जेठ, काठमाडौं । संसदको सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राईले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर राहत तथा पुननिर्माणलाई पारदर्शी एवं जवाफदेही बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान पुगेका राईले राहत सामाग्री खरिदमा सरकारी स्तरबाटै अनियमितता भएको समाचार आइरहेका भन्दै सरकारले विश्वास जित्न सक्नुपर्ने बताए ।

सरकारी कोषमा पठाएको रकममा अनियमितता हुँदैन भनेर विश्वास दिलाउन सक्ने हो भने संसारभर छरिएका नेपालीहरु यो विपत्तिको बेला मुलुक पुननिर्मार्णमा सघाउन तयार देखिएको राईले बताए ।

‘तर उनीहरु आफूले पठाएको रकम पारदर्शी हुन्छ कि हुदैन भनेर शंका गरिरहेका छन्’ कोइरालालाई सुनाउँदै राईले भने ‘राहतमा र्‍याल काढ्नेलाई तत्काल कारवाही गर्नुस, आफ्नै प्रतिबद्धता अनुसार त्यस्तालाई फौजदारी अपराध मानेर हतकडी लाउनुस, संसारभरबाट सहयोग आउँछ’ ।

जवाफमा प्रधानमन्त्री कोइरालाले अनियमितताको कुराले आफूलाई चिन्तित बनाएको भन्दै त्यस्तो पाइए तत्काल कडा कारवाही गर्ने बताए । ‘यो विपत्तिका बेला राहत तथा पुननिर्माणका लागि विदेशमा बसेका नेपालीले गाँस काटेर पठाएको पैसामा आँखा गाड्नेलाई कुनै हालतमा छाड्दिन’ कोइरालाले भने ।

कोइरालाले सरकारले बाहेक अरु कसैले पुननिर्माणको काम गर्न नसक्ने भन्दै सबैको सहयोग सरकारमार्फत नै पुग्नुपर्ने बताए । ‘गल्ती गर्नेलाई कारवाही गर्छौं, तर सरकारबाहेक अरुले सक्दैन’ कोइरालाले भने ।

मलेसियाबाट नेपाली श्रमिकको सहयोग

सो अवसरमा सुशासन समितिका सभापति राईले मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले संकलन गरेर पठाएको रकम प्रधानमन्त्री कोइराला मार्फत केन्द्रीय राहत कोषमा बुझाए ।

मलेसियाको भेनस सेरामिक्स कम्पनीमा काम गर्न गएका नेपाली युवाहरुले २५ सदस्यीय समिति बनाई सहयोग संकलन गरेको समितिका संयोजक शन्तोष राईले बताए । उनले आफूहरुले भियतनामी, चाइनिज, भारतीयलगायत विभिन्न देशका श्रमिकहरुसँग हात फैलाएर संकलन गरेको रकम सही ठाउँमा पुगोस् भनेर सुशासन समितिका सभापति मार्फत प्रधानमन्त्रीलाई बुझाएको बताए ।

मलेसियाको एउटै कम्पनीका कार्यरत श्रमिकहरुको तर्फबाट संकलित १ लाख २१ हजार ३७५ रुपैया सभापति राईले कोइरालालाई हस्तान्तरण गरे । त्यस्तै  जर्मनमा बस्ने मिनाम्मा राईले संकलन गरेको ५० हजार रुपैयाँ पनि सभापति राईमार्फत नै केन्द्रीय कोषमा दाखिला गरिएका उनले बताए ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले विदेशमा बस्ने नेपाली श्रमिकहरुले देशमा विपत्ति परेका बेला आफ्नो पसिनाको कमाइ राहत कोषमा पठाएको भन्दै पुननिर्मार्णको अभियानमा उनीहरुलाई सामेल गराउने बताए ।

– Source:onlinehabar