नयाँ संविधानको पहिलो मस्यौदा १५ दिनभित्रै

0 4

२९ जेठ, काठमाडौं । नयाँ संविधानको पहिलो मस्यौदा बढीमा १५ दिनभित्रै आउने भएको छ । संविधानसभाको शुक्रबारको बैठकले संवाद समितिको प्रतिवेदन पारित गर्दै कृष्ण सिटौला नेतृत्वको संविधान मस्यौदा समितिमा पठाएको छ ।

प्रमुख चार दलले १६ बूँदे सहमति सार्वजनिक गर्ने क्रममा असार मसान्त या साउनको पहिलो साताभित्र नयाँ संविधान जारी गर्ने आन्तरिक सहमति जनाएका छन् । सो सहमतिअनुसार संविधान निर्माण प्रक्रियाले एकाएक गति लिएको छ ।

संविधानसभाको शुक्रबारको बैठकमा संवाद समितिको प्रतिवेदनमाथि छलफल सकिएपछि बढीमा १५ दिनभित्र नयाँ संविधानको प्रारम्भिक मस्यौदा तयार पार्न निर्देशन दिएको हो । डा. बाबुराम भट्टराई नेतृत्वको समितिले विहीबार संविधानसभामा प्रतिवेदन बुझाएको थियो ।

शुक्रबार बैठकको अध्यक्षता गरेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बिभिन्न निर्देशन सुनाउँदै १५ दिनभित्र संविधानको पहिलो मस्यौदा तयार पार्न निर्देशन दिएका हुन् ।

अब कांग्रेस महामन्त्री कृष्ण सिटौला नेतृत्वको संविधान मस्यौदा समितिले संविधानको मस्यौदा लेखन शुरु गर्नेछ ।
सहमतिको प्रतिवेदन मस्यौदा समितिमा गएलगत्तै बाबुराम भट्टराई नेतृत्वको संवाद समिति निष्किय भएको छ ।

अब पहिलो मस्यौदा बनेपछि संविधानसभामा पेश हुने र त्यसपछि जनतामा जाने प्रक्रियाबारे छलफल हुने संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए ।

फास्ट ट्र्याकबाट संविधान जारी गर्ने सहमति भएकाले जनतामा बढीमा एक साताका लागि सुझावका लागि लैजाने र त्यसपछि अन्तिम मस्यौदा तयार पारिने स्रोतले जनाएको छ ।

सभासदहरुले कम्तिमा एक साता आफ्नो निर्वाचन क्षेत्रमा गएर संविधानको मस्यौदाबारे जनतासँग छलफल गराउने र इन्टरनेट र इमेलका माध्यमबाट प्रतिवेदनमाथि देश विदेशमा रहेका नेपालीसँग एक सातासम्म सुझाव संकलन गर्ने दलका नेताहरुको तयारी छ ।

चार मधेसवादी दल र संघीय समाजवादी पार्टीले संविधान निर्माण प्रक्रियाप्रति असहमति जनाएका छन् ।

– Source:onlinekhabar