निम्तो लिँदै नरेन्द्र मोदीले भने- दाता सम्मेलनमा सकेसम्म आफैं आउँछु

0 2

२९ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार १० गते काठमाडौंमा हुन लागेको अन्तराष्ट्रिय दाता सम्मेलनमा सकेसम्म आफू उपस्थित हुने बताएका छन । नेपालका प्रधानमन्त्री शुशील कोइरालाको तर्फबाट विषेश अतिथिको निम्ता लिएर भारत पुगेका अर्थमन्त्री डा. रामशरण महतसँग मोदीले यस्तो बताएका हुन ।

शुक्रबार आफ्नै कार्यकक्षमा भेट गर्दै मोदीले दाता सम्मेलनमा सकेसम्म आफैं उपस्थित हुने र आफू आउन नभ्याएको खण्डमा बरिष्ठ मन्त्री पठाउने बताएको अर्थ मन्त्रालयले जनाएको छ । मोदीले नेपालको पुननिर्माण्मा भारतको ठूलो सहयोग रहने बताए ।

विपतको बेलामा दाता सम्मेलनमा मोदीको उपस्ििथतिले मात्रै पनि नेपालीलाई ठूलो हौसला मिल्ने अर्थमन्त्री महतले बताएका थिए । उमहतले गुजरातमा गएको भूकम्पका साक्षी भएको र पुनर्निर्माणमा ठूलो भूमिका भएको भन्दै प्रधानमन्त्री मोदीको प्रशंसा गरे ।

सो अवसरमा महतले नेपालमा भूकम्पले पुर्‍याएको धनजनको क्षति र पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमका बारेमा जानकारी गराए । यसअघि उनले वित्तमन्त्री अरुण जेट्ली तथा विदेशमन्त्री सुषमा स्वाराजसँग पनि भेटेका थिए ।

वित्तमन्त्री जेट्लीसँगको भेटमा प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका अवसरमा भएको सहयोगको घोषणा कार्यान्वयन, नेपालको भारतसँगको व्यापारघाटा न्युनिकरण, भारतमा नेपाली बस्तुका लागि लाग्दै आएको समीकारक शुल्क, ५ सय र एक हजारका भारु नोटको समस्या तथा नेपालीहरुको भारतीय बैंकहरुमा खाता सञ्चालन जस्ता विषयहरुमा छलफल भएको थियो । छलफलका क्रममा वित्तमन्त्री जेट्लीले दुई मुलुकबीचका प्राविधिक समितिहरुमा छलफल गराएर यी समस्याको समाधान निकालिने आश्वासन दिएकी थिइन ।

भारतीय उद्योगी/व्यवसायीलाई लगानी गर्न आग्रह

यसैबीच शुक्रबारै अर्थमन्त्री डा महतले भारतका उद्यमी व्यवसायीहरुसँग अन्तक्रिया गरे । उनले नेपालमा लगानी गर्न आग्रहसमेत गरे ।

एसोसिएटेड चेम्बर अफ कमर्स एण्ड इण्डस्टि्रज इन इण्डिया एसोच्यामले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले उद्यमीहरुलाई नेपालमा लगानी गरी बढी लाभ लिन आग्रह गरेका हुन ।

नेपालमा झण्डै ८२ बर्षयता ठूलो भूकम्प गएको र ठूलो धनजनको क्षति गरेको जानकारी गराउँदै चाँडै पुनर्निर्माण गरिने भएकोले नेपालमा लगानी गर्दा लाभ लिन सकिने महतले स्पष्ट पारे । ‘पूर्वाधारका क्षेत्रमा धेरै क्षति छैन र भएको क्षतिको तत्काल पुनर्निर्माण गर्न सरकार तयार छ । लगानीका लागि विशेषगरी जलविद्युत, पूर्वाधारका क्षेत्रहरु प्रचूर लाभदायी रहेका छन ।’ महतले भने ।

धेरै भारतीय लगानीकर्ताहरुले पनि नेपालको जलविद्युतका क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्दै उनले भारतसँग भएको विद्युत व्यापार सम्झौतापछि उत्पादित विजुलीको बजार पनि सुनिश्चित भएकोले निर्धक्कसँग लगानी गर्दा हुने बताए । भारतीय कम्पनीहरुले नेपालको बैंकिङ, उद्योग, जलविद्युतका क्षेत्रमा लगानी गरिरहेको महतले उल्लेख गरे ।

सो अवसरमा विमिस्टेक र सार्क विजनेस काउन्सिलका वरिष्ठ सदस्य रवि विगले पनि आ-आफ्नो भनाई राखेका थिए । अन्तक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डे तथा नेपालका उद्यमी निर्वाण चौधरी तथा भारतका उद्यमी व्यवसायीहरु सहभागि थिए ।