‘धर्मनिरपेक्षको नाममा हिन्दू संस्कार मास्न खोजियो’

0 6

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले तीन दलका शीर्ष नेताले सिन्डिकेट लादेर संविधान ल्याउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबारको संविधानसभाको बैठकमा संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि टिप्पणी गर्दै अध्यक्ष थापाले केही नेताहरुले संविधानका नाममा ‘हाइब्रिड सन्तान’ जन्माउन खोजेको आरोप लगाए ।

‘हिन्दूको धर्मग्रन्थ गीतामा भगवान कृष्णले वर्णशंकर (हाइब्रिड) सन्तान जन्मेपछि कुल वंशको नाश हुन्छ भन्नुभएको थियो’, थापाले भने, ‘अहिले केही नेताहरु नाश हुने वर्णशंकर संविधान ल्याउन लागेका छन् ।’

अध्यक्ष थापाले बैठकमा बोल्दै धर्मनिरपेक्षताको नाममा दलहरु हिन्दू धर्मको संस्कार मास्ने अभियानमा लागेको आरोप समेत लगाए ।

‘हामीले धर्मका नाममा कानुन र शासन गर्ने भनेका होइनौं । ओमकार परिवारको रक्षार्थ हिन्दू राष्ट्र भनेका हौं’, अध्यक्ष थापाले भने, ‘धर्म निरोपेक्षका नाममा हाम्रो संस्कार समाप्त पार्ने खेल हुँदैछ । हामी त्यसको प्रतिकार गरिरहन्छौं ।’

संविधानमा धर्मनिरेपक्ष लेखिएपनि नेपाल हिन्दूराष्ट्र नै हुने बताउँदै थापाले हिन्दूसनातन राष्ट्रलाई सक्ने गरी आउने संविधान जनताले कुनै हालतमा नस्वीकार्ने दाबी गरे ।

‘हिन्दूराष्ट्र मास्ने गरी ल्याएको संविधान जनताले कुनै हालतमा स्वीकार्ने छैनन्’, थापाले भने, ‘हिन्दूराष्ट्र मास्ने गरी संविधान ल्याए त्यो देश र जनताका लागि ठूलो अपराध हुनेछ ।’

अध्यक्ष थापाले जनताको मतबाट बनेको संविधानसभालाई ‘रबर स्ट्याम्प’ बनाएर तीन दलका शीर्ष नेता अघि बढेको समेत आरोप लगाए । जनमतलाई कुल्चेर ल्याएको संविधान जनताले नस्वीकार्ने पनि उनले चेतावनी दिए ।

-Source: Annapurna Post