यूकेबाट भूकम्पपीडितको लागि जस्तापाता सहयोग

0 3

यूके । पिटरबोरो नेपाली समाज यूकेले नेपालका भूकम्पपीडितहरूको अस्थायी आवासका लागि जस्ता पाता सहयोग गरेको छ ।

भूकम्पले सबैभन्दा प्रभावित जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे गाबिसको वार्ड नं ६ को सार्की टोलमा पीडितको आवास निर्माणका लागि करिब ५ लाख रूपयाँ बराबरको जस्तापाता एवम् किल्लाकाँटा सहयोग गरेको छ ।

सार्की टोलका ४६ घरपरिवारलाई ९० बन्डल जस्तापाता समाजका निवर्तमान अध्यक्ष एवम् सल्लाहाकार महेश अधिकारीले गाउँमै पुगेर बितरण गरेको संस्थाले जनाएको छ ।

पिटरबोरो नेपाली समाज, गोर्खा-नेपाली कम्युनिटी पिटरबोरो, गोर्खा ओभन रेस्टुरेन्ट स्पाल्डिङ लगायत पिटरबोरो वरपर बस्ने नेपाली एवम् अन्य समुदायबाट संकलित रकमले पीडितहरूलाई उक्त सहयोग उपलब्ध गराईएको पिटरबोरो नेपाली समाजका अध्यक्ष केशब भण्डारीले जानकारी दिए ।

यसअघि पिटरबोरो नेपाली समाज लगायत मिडल्यान्ड यूकेका नेपाली संघसंस्था शान्ति नेपाली समाज बेलायत, हाम्रो नेपाली समाज वेष्टमिडल्यान्ड, सिर्जनशील लेष्टर समाज, नेपाली समाज नटिंघाम, साझा नेपाली समाज यूके, पशुपतिनाथ मंदिर बर्मिंघम, भिजन हुमानिटीले संयुक्तरूपमा ३५ लाख रूपैयाँको अापतकालीन राहत भूकम्प प्रभावित पाँच जिल्लामा शान्ति नेपाली समाजको संयोजनमा बितरण गरिएको थियाे ।