आकासियो बजारभाउ

0 24

काठमाडौं-विपत्तिको मौका छोपी व्यापारीले बजारमा एकाधिकार (कार्टेलिङ) जमाउँदै अधिकांश खाद्य सामग्रीमा भारी मूल्यवृद्धि गरेका छन्। दाल, चामल, खानेतेल, तरकारीलगायत अधिकांश खाद्य वस्तुको भाउ अस्वाभाविक रुपमा बढाइएको छ। ०७१ चैतको तुलनामा ०७२ वैशाखमा खाद्यान्न मूल्य प्रतिकेजी ३० देखि ४० रुपैयाँसम्म बढी छ भने तरकारीमा शतप्रतिशतसम्म बढाइएको छ।

वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसयताका अनुकम्पनले जनजीवन नै तहसनहस भएका बेला उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाउनुलाई व्यापारीले ‘अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि’ लाई कारण औंल्याएका छन्। अन्तर्राष्ट्रिय बजारमा दालको मूल्य सामान्य परिवर्तन भए पनि नेपाली व्यापारीले त्यही आडमा अधिकांश दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेका हुन्। उपभोक्तावादीले यसलाई ‘अस्वाभाविक’ र ‘उपभोक्ता मारा’ भनेका छन्।

वैशाख १२ भूकम्प जानुअघि मसुरो (मझौला) दालको मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँ रहेकामा अहिले १ सय ७० रुपैयाँसम्म बिक्री भइरहेको छ। कालीमाटी र बल्खुका व्यापारीले मिलेर तरकारीमा अझ ठूलो कार्टेलिङ गरी ५० देखि सय प्रतिशतसम्म मूल्य बढाएका छन्। चैतमा प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको काँक्रोको मूल्य अहिले ८० रुपैयाँ पुर्यानइएको छ। राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चले गरेको अध्ययनअनुसार गोलभेडा, काँक्रो, आलुलगायत तरकारीको मूल्य शतप्रतिशत बढेको छ।
मसुरो (ठूलो) पनि १ सय २५ बाट १ सय ७० रुपैयाँ पुगेको छ। मास (मझौला) को मूल्य चैतमा १ सय ३५ थियो तर त्यसको एक महिना बित्न नपाउँदै १ सय ६० रुपैयाँ पुगेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
साताअघि प्रतिकेजी ६७ रुपैयाँ (होलसेल) मा कारोबार भएको ब्रोकाउली अहिले बढेर १ सय ३७ रुपैयाँ पुगेको छ। सानो र ठूलो गोलभेडा, आलु, बन्दागोभी, भान्टा, मटरकोसा, घिउसिमी, तितेकरेला, लौका, परबर, हरियो प्याज, निगुरो, गाजर, अदुवा, लसुन, धनियाँलगायत तरकारीको भाउ आकासिएको छ।
साताअघि प्रतिकेजी ७८ रुपैयाँ होलसेल भाउ रहेको मटरकोसा ९७ रुपैयाँ पुगेको छ। किलोको २१ रुपैयाँमा बिक्री भएको ठूलो गोलभेडा अहिले हेलसेलमै ३० रुपैयाँ पर्छ। ‘अफ सिजनसँगै गर्मीले उत्पादनमा धेरै समस्या भएको छ। उत्पादन बजार आउन सकेको छैन,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका एक सदस्यले भने, ‘यसैले राजधानीमा भाउ आकासिएको हो।’
उनले जिल्लामा वर्षा नहुन्जेल तरकारीको मूल्य बढ्न सक्ने अनुमान गरे। ‘पानी परेको भए कृषकलाई केही राहत हुन्थ्यो,’ उनले भने, ‘अहिले उत्पादन सीमित मात्रै छ तर माग दैनिक बढ्दो छ।’
साताअघि होलसेल भाउ प्रतिकिलो २९ रुपैयाँ पर्ने सुकेको प्याज बढेर ३३ रुपैयाँ पुगेको छ। किलोको १ सय ८६ रुपैयाँ पर्ने अदुवा बढेर होलसेलमै २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। किलोको ४६ रुपैयाँ पर्ने हरियो प्याज बढेर ५० रुपैयाँ पुगेको छ। प्याज र अदुवा आयात हुने मुख्य बजार भारतमै मूल्य बढेको व्यवसायी बताउँछन्। समितिका अनुसार करिब ९६ प्रतिशत प्याज र अदुवा भारतबाट आयात हुन्छ।
महिनादिन अवधिमा यसरी मूल्य बढ्नुमा व्यापारीको मिलेमतो रहेको उपभोक्तावादी संस्थाको ठम्याइ छ। व्यापारीले मनलागी मूल्य बढाउँदा पनि सरकार मूकदर्शक बनेको राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्च नेपालका अध्यक्ष माधव तिमल्सेनाले आरोप लगाए।
‘एक महिनादेखि बजारभाउ आकासिएको छ,’ उनले नागरिकसँग भने, ‘विभागका कर्मचारी उपभोक्तालाई प्रत्यक्ष सरोकार राख्ने विषयमा भन्दा पनि अन्यत्र अनुगमनमा जाने गरेका छन्।’
कृषि विकास मन्त्रालयले अहिले तरकारीको मूल्य बढ्नुपर्ने केही कारण नभएको तर शतप्रतिशतसम्म बढाइएको स्विकारेको छ। माथि उल्लिखित सबै तरकारीको अहिले मौसमै हो। यस्तो अवस्थामा मूल्य बढ्नुपर्ने कुनै कारण नभएको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए। ‘सिजनकै तरकारीमा चर्को मूल्य पर्छ,’ उनले नागरिकसँग भने, ‘बेमौसमका तरकारीको मूल्य २ सय प्रतिशतभन्दा बढी पर्ने सम्भावना भयो।’
दाल, तेल, चामललगायत खाद्यान्नको मूल्य बढाइएको विषयमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले व्यापारीसँग छलफल गरे पनि अस्वाभाविक मूल्य वृद्धि गर्नेविरुद्ध कुनै कदम चालेन। छलफलमा बसेका व्यापारी घटाएर खाद्यान्न बिक्री गर्नै नसकिने भन्दै बाहिरिएका थिए।
‘व्यापारीले अन्तर्राष्ट्रिय बजारमै दाललगायत खाद्य पदार्थको मूल्य बढेको भनेर व्यापारी आफैं बताउँछन्,’ विभागका महानिर्देशक शम्भु कोइरालाले भने, ‘अन्तर्राष्ट्रिय बजारमै भाउ बढेकाले नेपालमा पनि बढेको हुन सक्छ।’
मुख्यसचिव लीलामणि पौड्यालले दालको मूल्य विदेशी बजारमै बढेकाले नेपालमा त्यसको असर परेको तर अन्य खाद्यान्नमा मूल्य बढाउनुपर्ने कुनै कारण नरहेको बताए। ‘हामीसँग पनि दैनिक उपभोग्य वस्तुको मूल्य बढेको गुनासो आउने गरेको छ,’ उनले नागरिकसँग भने, ‘बजार अनुगमनले चामलको मूल्य बढाउने व्यापारीलाई कारबाही गर्न सकेको छैन।’
सानालाई मात्रै अनुगमन गर्ने सरकारी प्रवृत्तिका कारण बजारमा कालोबजारी बढेको उपभोक्ता हित संरक्षण मञ्चमा अध्यक्ष ज्योति बानियाँले बताए। ‘खुद्रा पसल अनुगमन गर्ने, दोषी देखिए तत्काल कारबाही गर्ने, तर थोक व्यापारीको अनुगमनै नगर्ने,’ उनले नागरिकसँग भने, ‘अनुगमनमै त्रुटि भएकाले दोषीको पहिचान हुन नसकेको हो।’
व्यापारी दोषी पाइए तत्काल कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न विभागलाई पर्याप्त अधिकार छ। ‘चामलको मूल्यमा ठगी हुनु अनुगमनशून्य छ भन्नु नै हो,’ पौड्यालले भने। सरकारले ठूला व्यापारीमाथि पनि अनुगमन गरिरहेको तर मूल्य भने दिनप्रतिदिन आकासिँदै गएको भने उनले पनि स्विकारे।
नेपाल चेम्बर अफ कमर्सका सचिव देवेन्द्रभक्त श्रेष्ठ भने सबै खाद्यान्नको मूल्य नबढेको दाबी गर्छन्। ‘दालको मूल्य विदेशमै बढेकाले नेपालमा पनि वृद्धि भएको हो, त्यसबाहेकका खाद्यान्नको मूल्य बढेको छैन,’ उनले भने, ‘चामल, तेल, गेडागुडीको मूल्य स्थिर छ। बढदै नबढेको सूची वाणिज्य विभागले कसरी फेला पार्योू, हामीलाई थाहा छैन।’
किनेर ल्याएको र बजारमा पठाएको बिल सरकारलाई उपलब्ध गराउन व्यवसायी तयार रहेको श्रेष्ठले बताए। ‘कतिमा किनेको हो र कतिमा बिक्री गरेका छौं, बिल हेरेपछि थाहा हुन्छ,’ उनले भने, ‘बिनाआधार कसैलाई आरोप लगाउन मिल्दैन।’
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा भारतबाट मात्रै करिब ४ अर्ब ८७ करोड रुपैयाँको तरकारी आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०६९/७० को अघिल्लो ९ महिनामा ३ अर्ब ५३ करोड रुपैयाँको आयात भएको थियो। समितिका अनुसार भारतबाट दैनिक ६० टन तरकारी तथा फलफूल नेपाल आइरहेको छ। –