भुकम्प पीडितका लागि भन्दै पुराना चलचित्र प्रदर्शनमा ‘६ एकान ६’ असफल, ‘आभाष’ के होला ?

0 4

भुकम्प पीडितका लागि भन्दै यतिबेला नेपालका चलचित्र भवनहरुमा यसअघि प्रदर्शनमा आइसकेका चलचित्रहरुलाई प्रदर्शनमा ल्याइएको छ । जेठको दोश्रो साताबाट चलचित्र ‘६ एकान ६’ प्रदर्शनमा ल्याइयो ।

यो चलचित्रबाट आएको सम्पूर्ण शेयर रकम भुकम्प पीडितको पुनस्थापनाका लागि खर्च गरिने निर्माता दिपकराज गिरीले बताए । तर, यो चलचित्र हलमा २ दिन पनि टिकेन । नयाँ चलचित्र हेर्न हलमा दर्शक नआइरहेको समयमा पुरानो चलचित्रप्रतिको कसैको ध्यान गएन ।

अब, अर्को एक चलचित्र पनि भुकम्प पीडितका लागि भन्दै प्रदर्शनमा आउन लागेको छ । पौष २५ गते प्रदर्शनमा आएर औषत सफल भएको चलचित्र ‘आभाष’लाई प्रदर्शन गर्न लागिएको निर्माता गोविन्द शाहीले बताएका छन् । उनले भुकम्प पीडितका लागि चलचित्र फेरि चलाउन लागिएको भन्दै हलहरुसँग पनि आग्रह गरिएको बताए । चलचित्र असार ७ गतेबाट चल्नेछ ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्रमा निशा अधिकारी, संयम पुरी, आश्मा डीसी, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ । नयाँ चलचित्र भदौ महिना भन्दा अगाडि प्रदर्शनमा नआउने भएपछि पुरानै चलचित्र हलमा लागिरहेका छन् । यही समयमा निर्माताले पनि पुराना चलचित्र भुकम्प पीडितका लागि खर्च गर्ने भन्दै चलाइरहेका छन् ।

निर्माता शाहीले आफूले पाउने सबै शेयर रकमबाट कुनै विकट स्थानमा शिविर निर्माण गर्ने बताए । अब, उनको चलचित्रले केही गतिलो व्यापार गर्छ या २ दिनमै हलबाट उत्रिन्छ, समयले नै बताउनेछ ।

– Source:onlinekhabar