मन्त्री पण्डितले भने-राष्ट्रपति र मन्त्रीहरु किन बोक्सी हुँदैन

0 8

२९ जेठ, काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रपति, मन्त्री र बरिष्ठ ब्यक्तिहरु कोही पनि बोक्सी नहुने तर, गरिबहरु मात्र किन बोक्सी हुने भनी प्रश्न गरेका छन् ।


शुक्रबार राजधानीमा ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ एल्बम विमोचन गर्दै मन्त्री पण्डिथले गरिबलाई अपहेलित गर्न र दवाउन चाहनेले बोक्सीको आरोप लगाएर दमन गर्ने गरेको बताए ।

उनले भने-‘तपाईहरुले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद, उद्योगी ब्यवसायी लगायतका बरिष्ठ ब्यक्तिहरु कहिल्यै बोक्सी भएको सुन्नु भएको छ ? केवल गरिब बस्तीमा यस्ता विकृतिहरु छन् । कसैप्रति रिस उठे दवाउन चाहनेले बोक्सी भनेर दमन गर्ने गर्छन् ।’

उनले सबैको सामूहिक प्रयास र कानूनद्धारा दण्डनीय बनाउन सके बोक्सी प्रथा अन्य हुने दावी गरे । बोक्सी प्रथा समाज परिवर्तनको मुख्य बाधक बनेको भन्दै उनले कडा कानून बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने बताए ।

महिला बालवालिका तथा समाज कल्याण सचिव धनबहादुर तामाङले बोक्सी र दाईजो प्रथा नेपालको मात्रै नभई दक्षिण एसियाकै समस्या भएको बताए ।

उनले आउँदो संसद अधिवेशनबाट दाईजो र बोक्सी प्रथाविरुद्ध कडा कानून आउने जानकारी दिँदै अब यस्ता समाजिक विकृति विरुद्ध प्याकेज कानून ल्याउनुु पर्ने आवश्यकता औल्याए ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेषचाँद ताराले यस्तो कुप्रथाको विरुद्ध गीत संगितको माध्यमबाट चेतना फैलाउन सके प्रभावकारी हुने धारणा राखे ।

-Source: Online Khabar