जाली नोट कारोबारमा नेपाली प्रहरीको संलग्नता प्रकरणः विभागीय अनुसन्धान शुरु

0 10

काठमाडौं, जेठ २९ – नेपाल र भारतमा हुने जाली नोटको कारोवारमा नेपाल प्रहरीको संलग्नता रहेको भारतीय दाबी गरेपछि यतिबेला नेपाल प्रहरीमा खैलाबैला मच्चिएको छ । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले नेपाल प्रहरीका एआइजी रमेश शेखर बज्राचार्यको नामनै उल्लेख गर्दै समाचार छापेपछि प्रहरीले विभागीय अनुसन्धान शुरु गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरिक्षक कमलसिंह बमले यस प्रकरणबारे मिडियाबाट जानकारी आफूहरुले पाएको बताउँदै यसमा आवश्यक अनुसन्धान प्रहरीले शुरु गरिसकेको जानकारी दिए । बमका अनुसार नेपाल प्रहरीमाथि आरोप लागेपछि यस विषयमा गम्भिरताका साथ अनुसन्धान भइरहेको र कोही दोषी पाए, उनीहरुमाथि कडा कारवाही हुने बताए । ‘हामीले अनुसन्धान गरिरहेका छौं । सोधपुछदेखि लिएर सबै कुरा भइरहेको छ । अनुसन्धानपछि मात्र यस विषयमा थप कुरा गर्न सकिन्छ,’ उनले भने ।

के थियो प्रकरण ?

भारतमा जाली नोटसँगै समातिएका शेख जावेद इकवालसँग त्यहाँका प्रहरीले बयान लिँदा उनले नेपाल प्रहरीका एआइजी रमेश शेखर बज्राचार्यको नाम लिएका थिए । गत फेब्रुअरी २३ मा समातिएका इकवालले कसैको नाममा लिन चाहेका थिएनन् । कुनै कुरा स्वीकार गर्ने पक्षमा थिएनन् । तर, जब भारतीय आतंकवादी विंग्स हेर्ने टीमले सोधपुछ गरेपछि मात्र उनले बज्राचार्यको नाम लिएको जनाइएको छ ।

Fullscreen capture 12062015 113254

इकवालले यस्तो जाली नोटको कारोवारमा भारत र नेपालमा थुप्रै प्रहरी संलग्न रहेको बताएपछि भारतमा यसको थप अनुन्धान शुरु भएको छ । स्रोतले भन्यो, ‘यसमा नेपाल जस्तै भारतका पनि उच्च तहका प्रहरीको नाम आएको छ ।’

इकवालसँग त्यहाँका प्रहरीले सोधपुछ गर्दा उनले एआइजी बज्राचार्यसँग सन् २००७ देखि नै चिनजान रहेको बताएका थिए । त्यतिबेला बज्राचार्य अपराध अनुसन्धानका एसएसपी थिए । र, त्यहाँबाट पनि उनले ठूलै सहयोग पाएको पनि स्वीकार गरेका छन् । यहाँसम्म कि बज्राचार्य डिआइजी भएपछि उनी एयरपोर्ट गएका थिए । एयरपोर्टमा हुँदा पनि उनले जाली नोटको कारोवारमा संलग्न रहेको बताइएको छ ।
इकवालले त्यहाँ बयान दिए अनुसार वीरगञ्ज नाका हुँदै सुनौलीसम्म बज्राचार्यकै गाडीमा राखेर उनी पुगेका थिए । सुनौलीबाट जान लाग्दा उनलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

इकवालले बयानका अनुसार नेपाल भारतको सीमामा कार्यरत ४० प्रतिशत प्रहरीहरु जाली नोट कारोवारमा संलग्न रहेको छ । चाहे त्यो भारतको होस् या नेपालको ।

जाली नोट पाकिस्तानमा एक रुपियाँको जारी नोट १४–१६ रुपैयाँमा खरिद गरेर नेपाल ल्याउँछन् र यहाँ २५ रुपियाँमा बेच्छन् । र २५ रुपियाँमा किनिएको सोही नोट भारतमा लगेर ३५ रुपियाँमा बेच्ने गरेको जनाइएको छ ।

लक्सर तोएवाका इर्फान जो बरहराइनमा समातिएका थिए त्यसँग पनि इकवालको सम्बन्ध रहेको देखिन्छ भने यसको भाइ २ करोड भारतीय नोटसँगै दिल्लीमा समातिएका थिए ।

एआइजी बज्राचार्य हाल प्रहरी हेडक्वाटरमा मानव संसाधान विभागको प्रमुखमा कार्यरत छन् ।

बज्राचार्य भन्छन्, नेपाल प्रहरीलाई बदनाम गर्न खोजिँदैछ

aig-rameshयस विषयमा एआइजी बज्राचार्यसँग रातोपाटीले सम्पर्क गर्दा उनले आफू निर्दोष भएको दाबी गर्दै यो प्रकरण भारतीयहरुले नेपाल प्रहरीको छवि बिगार्ने डिजाइन रहेको बताए । ‘भूकम्पका बेला नेपाल प्रहरीले उत्कृष्ट काम गरेको थियो । उता भारतीयहरु भने आलोचित बन्न पुगे । सायद यही कारणले होला मलाई र नेपाल प्रहरी संस्थालाई नै बदनाम गर्न यो डिजाइन गरिएको हो,’ उनले भने ।

उनले हिन्दुस्तान टाइम्सको पत्रकारिताको मर्यादामाथि पनि प्रश्न उठाएका छन् । ‘यति ठूलो विषयमा मेरो प्रतिक्रिया बिनानै समाचार बनाइएकोले यो पूर्वाग्रही देखिएको छ । उनीहरुको नेपालमा संवाददाता हुँदा हुँदै पनि किन एकतर्फी समाचार लेखियो ?,’ उनले प्रश्न गरे । यस समाचारमा शंका गर्ने ठाउँ रहेको उल्लेख गर्दै बज्राचार्यले आफूले हिन्दुस्तान टाइम्सका सम्पादकसँग समेत यस विषयमा कुरा राखेको जानकारी दिएका छन् ।

‘यो पुष्टि भयो भने म जे पनि कारवाही भोग्न तयार छु । तर यहाँ मेरो संस्थालाई नै बदनाम गर्ने नियत देखिएको छ,’ उनले भने ।

हिन्दुस्तान टाइम्समा समाचार आएपछि यस विषयमा बज्राचार्यसँग रातोपाटीले डेढ हप्ता अघि नै कुरा गरेको थियो । तर, यस समाचारले नेपाल प्रहरीको छवि बिग्रर्ने बताउँदै उनले भारतीय सञ्चार माध्यमसँग आफूले बुझेपछि मात्र समाचार छापिदिन आग्रह गरेका थिए ।