प्रधानमन्त्रीको प्रतिक्षामा ताप्लेजुङबासी आकाशतिर हेलिकोप्टर हेर्दै

0 15
ताप्लेजुङ : ताप्लेजुङको पहिरोग्रस्त क्षेत्रको निरीक्षण र राहत तथा उद्धारका लागि प्रधानमन्त्री सुशील कोइराला सहितको टोली शुक्रबार बिहान नौ बजे ताप्लेजुङ आउने भनिए पनि खराब मौसमका कारण हेलिकोप्टर जान सकेको छैन।
पहिरो प्रभावित बिहानदेखि नै प्रधानमन्त्रीको प्रतिक्षमा छन्। प्रधानमन्त्री आएपछि राहत तथा उद्धार प्रभावकारी हुने आसमा उनीहरु छन्। बिहानदेखि नै ताप्लेजुङबासी प्रधानमन्त्रीको हेलिकोप्टर आउछ कि भनेर आकाशतिर हेरिरहेका छन्।प्रतिकुल मौसमका कारण ताप्लेजुङ उडान हुन सकेको जानकारी प्रधानमन्त्री सचिवालयले जनाएको छ। मौसमले साथ दिनसाथ प्रधानमन्त्री ताप्लेजुङमा जाने तयारीमा छन्।
उद्धारका लागि ताप्लेजुङमा हाल एउटा मात्र हेलिकोप्टर भएकोले उद्धार कार्यलाई व्यवस्थित वनाउन गृह मन्त्रालयमा थप हेलिकोप्टरको पनि माग गरिएको जिल्ला दैवी प्रकोप उद्धार समिति ताप्लेजुङले जनाएको छ।ताप्लेजुङमा भएको एउटा हेलिकोप्टर पनि मौसमको प्रतिकुलताका कारण अहिलेसम्म वेपत्ताको खोजी तथा उद्धारमा परिचालन हुन सकेको छैन।
बिहानदेखि अनुकुल मौसमको प्रतिक्षा गरी बसेको हेलिकोप्टर साढे १२ बजेसम्म प्रभावित क्षेत्रतर्फ जान सकेको छैन। मौसम प्रतिकुल बनिरहेकोले उद्धारमा चुनौती वढेको प्रजिअ डमरुप्रसाद निरौलाको बताएका छन्।
शुक्रबार बिहान एमाले अध्यक्ष के शर्मा ओली सहितको टोलि हेलिकोप्टर मार्फत ताप्लेजुङ आउने कार्यक्रम थियो। प्रधानमन्त्री कोइरालाले हिजै उद्धार तथा राहातमा तदाकताका साथ लाग्न सरोकारवाला सबै निकाय र अधिकारीलाई निर्देशन दिएका थिए। पहिरो पीडितहरुले हालसम्म राहत नपाएको गुनासो गरेका छन् ।
भीषण पहिरोमा परी २४ जनाको ज्यान गएको छ भने तीन दर्जनभन्दा बढी पहिरोमा पुरिएका बेपत्ता भएका छन्। बेपत्ता हुनेहरुको एकिन संख्या अझै आइपुगेको छैन। कयौं घाइते भएका छन्। सय जति घर परिवार विस्थापित भएका छन्।
नजिकका खोला खोल्साहरु वढ्नुको साथै पहाडवाट ठुलो आवाजमा ढुङगाहरु समेत खसिरहेकोले आफुहरु थप त्रसिद वनेको पहिरो प्रभावित क्षेत्र खोक्लिङका सन्तोस थापाले बताए।  प्रहरीका अनुसार ताप्लेजुङ जिल्लाकै दोस्रो व्यापारिक केन्द्र दोभान बजारका करिब ७० घर–परिवार जोखिममा परेपछि अधिकांशलाई हाल ताप्लेजुङ नगरपालिका वडा नम्बर–१ मा सारिएको छ।
पहिरोले मेवा खोला थुनिएर आएको बाढीले रामदुवारी बजारका ९ वटा घरहरु बगाएको स्थानियले बताएका छन् । उनीहरुका अनुसार खाम्लुङ–६ स्थित बारदुम्बा स्कुलमाथिबाट पहिरो झरेकाले बस्ती जोखिममा परेको छ।पहिरोले ढुंगेसाँघु–७ र थिङलाबु–८ जोड्ने झोलुङे पुल र फाकुम्बा १ र ढुंगोसाँघु–७ जोड्ने झोलुंगे पुल पनि बगाएको स्थानीयले बताएका छन् । त्यस्तै थुकिमाको लंवा खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भत्किएकाले एक हजार परिवार विद्युतविहीन भएका छन् ।