पुनर्निर्माणमा नेपाल एक्लो छैन : चीनको प्रान्तीय सरकार

0 5

कुन्मिङ (चीन), जेष्ठ २९ – चीनको प्रान्तीय सरकारले महाभूकम्पपछिको पुनर्निर्माणमा नेपाल एक्लो नरहेको बताएको छ । नेपाल सरकारले दाताहरूको सहयोग अनुरोध गरिरहेको अवस्थामा चीनको एक प्रान्तीय सरकारका उच्च अधिकारीले त्यस्तो बताएका हुन् ।

पुनर्निर्माण प्रक्रियामा नेपाललाई ढाडस दिँदै चीन सहयोग गर्न तयार रहेको युनान प्रान्तका उपप्रमुख गाओ छुसुङले बताए । शुक्रबार चिनियाँ उपराष्ट्रपति ली योङ्चाओले उद्घाटन गर्ने कार्यक्रमबारे जानकारी दिन आयोजित अन्तक्र्रियामा उनले सहयोगको प्रतिवद्धता जनाएका हुन् ।

भूकम्प र त्यसको क्षतिलाई नजिकबाट हेरेको र तत्काल सहयोग गरेको समेत उनले उल्लेख गरे । ‘जनधनको क्षति भएको छ तर पुनर्निर्माणमा नेपाल एक्लो छैन । चीन सघाउन सधैं तयार छ,’ उपप्रमुख गाओले बताए ।

यसअघि प्रान्तीय सरकारले सीधा सहयोग गर्न पाउने थिएन भने आफूखुसी कुनै पनि मुलुकको विषयमा बोल्ने अधिकार पनि थिएन । तर छिमेक नीतिलाई दिएको महत्त्व अन्तर्गत यस्ता विषय अहिले प्रान्तीय सरकारलाई सहज र सरल हँुदै गएको छ ।

भूकम्पपछि कुनमिङबाट काठमाडौंतर्फ हुने सीधा उडानसमेत रद्द भएकोमा फेरी आगामी सातादेखि उडान सुचारु हुने उपप्रमुख छुसुङले बताए । चिनियाँ पर्यटक घटेको र यो मेला लगत्तै पर्यटक बढ्नुका साथै उडानहरू पनि थप्दै जाने उनले जानकारी दिए । भूकम्प र आन्तरिक कारणले केही समय उडान बन्द भएको र तत्काल आरम्भ हुने बताए ।

 

‘मेलालाई नेपालले पनि अवसरकारूपमा लिनुपर्छ । नेपालको समेत स्टलहरू रहन्छ नेपालले आफ्नो विषयमा मार्केटिङ गर्न पछि पर्न हुँदैन, तर हामीले आफ्ना तर्फबाट पनि सक्दो सद्भाव राख्ने छौं,’ उनले स्पष्ट पारे ।

पहिलो चीन दक्षिण एसिया व्यापारमा उपराष्ट्रपति परमानन्द झा र गत वर्ष सम्पन्न दोस्रोमा प्रधानमन्त्री सुशील कोइराला स्तरमा सहभागी भएपनि अहिले भूकम्पका कारण मन्त्रीस्तरमा सहभागिता जनाउन सरकारले प्रतिनिधी पठाएको हो । ‘कुन्मिङ मेलामा नेपालको पर्यटन प्रवद्र्धनसँगै पुनर्निर्माणमा सघाउन चीनलाई विशेष आग्रह गरिनेछ,’ उनले कान्तिपुरलाई बताएका छन्  । यस विषयमा उनले दुईपक्षीय छलफलसमेत गर्ने बताए ।

युनान प्रान्तले पहिलो चरणमा नेपालको भूकम्प उद्धारका लागि उद्धार टोली र स्वास्थ्य टोलीसँगै ५० लाख युआन अर्थात् साढे आठ करोड रुपैयाँको सहयोग प्रदान गरिसकेको जानकारी पनि उप–गभर्नरले दिए । त्यसपछि टेन्टहरू पठाएलगत्तै केही टेन्टहरू छेन्दुहुँदै पठाएको र छिट्टै पर्यटन प्रवद्र्धनका लागि प्रचार गरिने जानकारीसमेत उनले गराएका छन् । भूकम्पअघि र त्यो समयमा खिचेका तस्बिरहरू मेलामा राखेर उठेको रकमसमेत नेपाल पठाउने उनले जानकारी दिए ।

यो तेस्रो एक्स्पो भए पनि कुन्मिङ आयात–निर्यात मेला भने २३औं रहेकोसमेत उल्लेख गरेको छ । चिनियाँ उपराष्ट्रपति लीले उद्घाटन गर्ने उक्त कार्यक्रममा सहभागी हुन मल्दिभ्सको राष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गयुम, लाओसका प्रधानमन्त्री थोङसिङ थम्माभोङ अन्य १३ मुलुकका मन्त्री तथा गभर्नर र मेयरहरू उपस्थित भइसकेका छन् । ६ हजारभन्दा बढी स्टल रहने उक्त मेलामा लाखौंले अवलोकन गर्ने उल्लेख गरिएको छ । बुधबारसम्मै ६० हजार टिकट बिक्री गरिसकेको उक्त मेला निकै सफल रहने आयोजकको दाबी छ