समितिमा दुई महानिरीक्षकको ‘शीत युद्ध’

0 9

काठमाडौ, जेष्ठ २९ – क्षेत्राधिकारलाई लिएर नेपाल प्रहरी र सशत्र प्रहरी बलबीच चलेको ‘शीतयुद्ध’ ले दुवै संगठनका महानिरिक्षक बीचको सम्बन्धमा समेत चिसोपना ल्याएको छ ।

भूकम्पपछिको मुलुकमा मानवअधिकारको अवस्था बुझ्न बिहीबार सामाजिक न्याय तथा मानवअधिकार समितिले बोलाएको बैंठकमा गृहमन्त्री बामदेव गौतमसहित नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्रका महानिरिक्षक कोषराज वन्तको जम्का–भेट भयो । तर दुबैको क्रियाकलापले एक अर्कोसँग भेट्न, बस्न र कुरा गर्न नचाहेको संकेत गथ्र्यो ।

सशस्त्रले नेपाल प्रहरीको जस्तै आफूले पनि अनुसन्धान र पक्राउ पुर्जी जारी गर्न पाउनुपर्ने भन्दै नियमावली संशोधन प्रस्ताव अघि बढाएपछि यी दुई संगठन बीच चिसोपना आएको हो ।

त्यही चिसोपनालाई इंगित गर्दै काग्रेसका सभासद कृष्णबहादुर छन्तेल थापाले दुवै महानिरिक्षकलाई खुला प्रश्न गरे,‘तपाईहरू दुई जनाबीचको सहकार्य के हो ?’ प्रश्नले दुवैलाई अचम्म पार्‍यो ।

अर्यालले त्यसको जवाफ दिएनन् । वन्तले घुमाउरो पारामा भने,‘हामी दुई संगठनले मिलेर काम गरिरहेका छौं ।’ दुई जनाबीचको चिसोपनाबारे दुवैले केहि बोल्न चाहेनन् ।

बिहान साढे ११ बजे सिंहदरबारस्थित व्यवस्थापिका संसद सचिवालय भवनको कोठा नम्बर ४०२ मा एपीएफका महानिरिक्षक कोषराज वन्त आइपुगे ।

वन्त हलमा छिरि झ्याल छेउको कुर्चीमा गएर बसेको करिब १० मिनेट बित्न नपाउदै ढोकाबाट गृह मन्त्री गौतम र प्रहरी महानिरिक्षक अर्याल आइपुगे । अर्याल गौतमका पछि–पछि हलमा छिरेका थिए । मन्त्रीलाई छेउमा गएर वन्तले सलाम गरे । लगतै पछि रहेका अर्यालले टाढैबाट वन्त सामु दाया हात अघि बढाए र मिलाए । वन्त पनि अघि बढेर मन्त्रीको पछि बसे । दुवैले केहि लाइन बोले । सँगै बसेका अर्याल र वन्त केही बेरमै आ–आफ्ना कुर्ची छाडेर टाढा गएर बसे ।

दुवैले आपसमा कुरा गर्नु त परको कुरा, राम्रोसँग हेराहेर पनि गरेनन् । करिब ३ घन्टा चलेको बैंठकपछि अन्त्यमा दुवै बसेको बीचमा रहेको कुर्चीको कागज पत्र केहि नबोली अर्यालले वन्तलाई सुम्पिए । वन्तले कागजपत्र लिए, केहि बोलेनन् आफ्नो बाटो लागे । वन्त अघि–अघि हिडे । अर्याल पछिपछि । चार तलाबाट ओर्लदा वन्तले माथि रहेका अर्याललाई हेरे । तर केहि बोलेनन् । वन्त सिधै निस्किए र आफ्नो गाडीतिर लागे । अर्याल भने गृहमन्त्री गौतम भएको ठाउँतिर लागे ।