ताप्लेजुङको छ गाविसमा पहिरो, २१ को मृत्यु

0 8

२८ जेठ, ताप्लेजुङ । वर्षापछि आएको बाढीका कारण ताप्लेजुलको पश्चिम क्षेत्रका ६ गाविस नराम्ररी प्रभावित भएको छ । पहिरोमा परेर चार बालबालिकासहित २१ जनाको मृत्यु भएको छ ।

 

३७ जना अहिले पनि हराइरहेका छन् । प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले अनलाइनखबरसँग भने-‘आज दिनभर उद्धारको काम भएको छ । हालसम्म २१ जनाको मृत्यु भएको छ ।’

पहिरोले लिवाङ, लिङ्गतेप, खोक्लिङ, थिङलाबु, सान्थाक्रा र मामाङखे गविसमा मानवीय क्षति भएको छ । पहिरोमा परेर अहिलेसम्म ३७ जना हराइरहेको जल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ ।

पहिरोमा परेर मृत्यु हुनेहरुमा खोक्लिङ-७ बस्ने १३ बर्षीय सविन मादेन, १२ बर्षीय बसन्त रसाइली, लिङतेप-३ बस्ने ३१ बर्षीया मनमाया लिम्बु, लिङतेप-७ बस्ने ४२ बर्षीय भिमबहादुर केदेम लिम्बु, ३ बर्षीया चेमली केदेम लिम्बु, लिवाङ-३ बस्ने भक्तजन लिम्बु, मनमाया लिम्बु, पञ्चमाया लिम्बु, शैलेन्द्र लिम्बु, उनकी श्रीमती चितमाया लिम्बु, छोरी लक्ष्मीमाया लिम्बु, थिङलाबु-६ बस्ने मनकुमार लिम्बु र खोक्लिङ-५ बस्ने मनकुमार वि.क.लगायत छन् ।

थिङलाबु ६ मा मात्र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने भने ८ जना वेपत्ता छन् । १२ घर पहिरोले बगाएको छ । पहिरोमा परेर खोक्लिङ-७ बस्ने ९ बर्षीय पुजन आङसाङवो, २२ बर्षीय बलबहादुर कार्मी र लिङतेप-७ बस्ने ४२ बर्षीया टंकमाया लिम्बु घाइते भएका छन् ।

ताप्लेजुङको पहिरोमा परी घाइते भएकाहरुलाई धरानस्थित बि पि मेमोरियल अस्पातलतर्फ लैजाँदै सुरक्षाकर्मीहरु । तस्वीरः एपीएफ

खोक्लिङ्ग ईलाकामा ८ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सदरमुकाम पुर्‍याएको छ । उद्धार गरिएको व्यक्तिहरु मध्ये ३ जनाको अवस्था गम्भर भएकाले हेलिकप्टरबाटै बीप अस्पताल धरान पुर्‍याइएको छ ।

पहिरोले लिवाङ-३ स्थित मुकुन्द भट्टराई, भक्तध्वज लिम्बु, देवेन्द्र लिम्बुको घर बगाउदा देवेन्द्र लिम्बुको ३ जना परिवार बेपत्ता भएका छन् ।

खोक्लिङ-७ स्थित बिष्णु मादेनको घर बगाउदा उनका परिवार बेपत्ता भएका छन् भने थिङलाबु गाविसमा ११ वटा घर बगाएको छ ।

प्रहरीका अनुसार खोक्लिङ्ग २ मा पाँच घर पहिरोले बगाएको छ भने ४ जना वेपत्ता भएका छन् । थुकिम्वा-४ मा बस्ती जोखिम रहेको कारण सवै मानिसहरु गाविस भवन र त्रिभुवन उच्च माध्यामिक बिद्यालयमा आई बसेका छन् ।

– Source:onlinekhabar