व्यवसायीक फोरममा भाग लिन महासंघको टोली चीन प्रस्थान

0 6

२८ जेठ, काठमाडौं । चीनको युनान प्रान्तस्थित कुनमिङ शहरमा शुक्रबारदेखि आयोजना हुने १०औं चीन-दक्षिण एशिया व्यवसायीक फोरममा भाग लिन महासंघको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल बिहीबार चीन प्रस्थान गरेको हो । महासंघबाट उक्त फोरममा नियमित रुपमा सहभागिता हुँदै आएको छ । बैठकमा दक्षिण एशियाली राष्ट्रहरु तथा चीनबाट सरकारी तथा निजी क्षेत्रको सहभागिता रहने छ ।

बैठकको यस वर्षको मुख्य विषय ‘प्रोमोट द कन्स्ट्रक्सन अफ सिल्क रोड इकोनोमिक बेल्टस एक्सिलेरेट द पिस अफ बिजनेश को-अप्रेशन’ रहेको छ ।

बैठकमा नेपालका तर्फबाट महासंघका उपाध्यक्ष प्रधानले चीन-दक्षिण एशिया बीचको आर्थिक व्यापारिक, लगानीको सम्भाव्यता, विनासकारी भुकम्पपश्चात नेपालमा पुनरनिर्माणका लागि वाह्य लगानीको आवश्यकता समेटिएको मन्तव्य राख्ने कार्यक्रम छ ।

भ्रमणकै क्रममा महासंघको प्रतिनिधिमण्डलले सोही स्थानमा आयोजना हुने तेश्रो चीन-दक्षिण एशिया व्यावसायिक सम्मेलन र २३औं चाइना कुनमिङ आयात निर्यात वस्तु व्यापार मेलाको समेत अवलोकन गर्नेछ । गतवर्ष उक्त मेलामा नेपाललाई कन्ट्री पार्टनरको रुपमा निम्त्याइएको थियो ।

सार्कका सबै सदस्य देशका उद्योग वाणिज्य संघ/महासंघका पदाधिकारी प्रतिनिधिहरु लगायत उद्यमी व्यवसायीहरुको सहभागिता रहने मेलामा नेपालबाट ९६ वटा स्टलमार्फत नेपाली वस्तुहरुको प्रदर्शनी हुँदैछ ।

प्रतिनिधिमण्डलमा उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ, व्यापार मेला समितिका सभापति केशवराज पाण्डे, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, उद्योग संगठन मोरङका उपाध्यक्ष मुकेश कुमार भट्टराई, नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्य, महासंघका सहायक निर्देशकद्वय विष्णुराज ढकाल, अरुण कुमार श्रेष्ठ तथा उद्योग संगठन मोरङका कार्यकारी अधिकृत सोमनाथ अधिकारी सहितका उद्यमी व्यवसायीहरु रहेका छन् ।