महाभूकम्पले पनि भत्काउन सकेन प्रेम

0 6

काठमाडौं– केन्द्रविन्दु गोरखा थियो, तर १२ वैशाखको महाभूकम्पले सिन्धुपाल्चोकमा बढी कहर ल्यायो । एकै जिल्लामा ३४ सयभन्दा बढीले ज्यान गुमाए, ६६ हजारभन्दा बढी घर भग्नावशेष बने ।
महाभूकम्पले पनि भत्काउन सकेन प्रेम
तर, महाभूकम्पले घरपरिवार–आफन्तमा खासै असर नपारेको सिपाघाट–३ का कुमार राई (२१) को मनमा गएको कम्पन चाहि भूकम्पको भन्दा कम थिएन ।

‘बुबाआमाले अरुसँग बिहे गराउँदैछन्, माया गर्छौ भने तुरुन्त लिन आऊ, नत्र म मर्छु’, जमुना न्यौपाने (२१)ले फोनमा यसोभन्दा कुमारको होस हवासै उड्यो ।

सुनसरीको हासपोसा–४ की जमुनासँग कुमार राईको भेट दुई वर्षअघि काठमाडौंमा भएको थियो । जमुना दिदीसँग बस्थिन, कुमार बौद्धको एउटा हार्डवेयर पसलमा काम गर्थे । उनीहरुबीच प्रेम भयो ।

महाभूकम्प आउँदा दुवै काठमाडौंमै थिए । लगातारको परकम्पले असुरक्षित भएपछि दुवै जना ‘आफ्नो ख्याल राख्नू’ भन्दै आ–आफ्ना घर गएका थिए । तर, जमुनाको अन्तरजातीय प्रेमबारे परिवारले सुइँको पाइसकेको रहेछ, घर पुग्नेवित्तिकै उनी ‘नजरबन्द’ भइन । लुकाएको अर्को सीमबाट उनले बल्लतल्ल कुमारलाई फोन गर्न सकिन । कुमारको प्रेम कच्चा थिएन ।

महाभूकम्पको परकम्पहरुले उत्पन्न गरिरहेको कोकोहोलोलाई सिन्धुपाल्चोकमै छाडेर २८ वैशाखमा उनी तरहरा पुगेर भोलिपल्ट जमुनालाई भेट्ने निहुँ मिलाए । अर्को दिन मायालुलाई लिएर फरार भएका उनी जेठमा आफ्नै गाउँमा परम्परा अनुसार विवाह गर्न सफल भए । ‘मेरी आमा पौडेल, दिदीले कार्कीसँग विहे गर्नुभयो, मैले न्यौपानेसँग’, उनी भन्छन्, ‘हामीले गल्ति गरेका छैनौ, अब सबै मिलेर भत्केका घर बनाउने, नयाँ जीवन अगाडी बढाउने हो ।’

-Source:nepalipatra