बिहीबार पनि नेप्से परिसूचक १७ अंकले घट्यो

0 10

२८ जेठ, काठमाडौं । बुधबार ११ अंकले घटेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार १७ अंकले घटेर ९ सय ३८ अंकमा झरेको छ । सोमबार प्रमुख राजनीतिक दलहरूबीच सहमति भएपछि मंगलबार नेप्से २१ अंकले बढेको थियो । तर, सो वृद्दिले निरन्तरता पाएन ।

राजनीतिक सहमति भएपनि भूकम्पले अर्थतन्त्रमा पुर्याएको असरका कारण सूचीकृत कम्पनीहरूको नाफा बढ्ने नदेखिएपछि लगानीकर्ताहरू संयम भएकाले राजनीतिक सहमति पछि पनि सेयर बजार लगातार नबढेको बिश्लेषकहरूले बताएका छन ।

बिहीबार १ सय १४ कम्पनीका ५ लाख २० हजार कित्ता सेयर २४ करोड ५६ ला खरूपैयाँमा किनबेच भएको नेपाल स्टक एकसचेञ्जले जनाएको छ । मंगलबार नेप्सेमा ५३ करोडको सेयर कारोबार भएको थियो ।

बिहीबारको कारोबारमा बीमा समूहको सूचक साढे ६७ अंकले, जलविद्युत समूहको सूचक ४१ अंकले, वाणिज्य बैंक समूहको सूचक साढे २१ अंकले, होटल समूहको सूचक १६ अंकले विकास बैंकको सूचक साढे ९ अंकले, अन्य समूहको सूचक २० अंकले, व्यापार समूहको २ अंकले र वित्त कम्पनी समूहको सूचक डेढ अंकले घटेका छन ।