पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेन

0 4
हालसम्म ३६ जनाको ज्यान गयो
ताप्लेजुङ : पहिरो झरेको १४ घन्टा बितिसक्दा पनि ताप्लेजङको पहिरो प्रभावित क्षेत्रमा अझै उद्धारटोली पुग्न सकेको छैन ।

प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुग्न नसक्दा पहिरोमा पुरिएका बेपत्ता र घाइतेको उद्धारमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।

नेपाली सेनाका मेजर अभिषेक कार्कीको टोली पैदलमार्ग हुँदै प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ । सशस्त्र र जनपद प्रहरी टोली पनि पहिरो झरेको प्रभावित क्षेत्रमा गएका छन् । घटनास्थल सदरमुकामबाट करिब ९ घण्टाको पैदल दुरीमा पर्दछ ।

बाढी पहिरो प्रभावित गाउँसम्म पुग्ने बाटो पहिरोले पुरिएका छन् । बाटो अवरुद्ध भएको तथा साना ठूला खोलामा बाढी आएकाले उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भैरहेको छ ।

पहिरोमा परेका मध्ये १५ जनाको शव अहिलेसम्म भेटिइसकेको छ । अरु १५ जनाबढी वेपत्ता भएको जानकारी आएको छ । प्रभावित क्षेत्रमा उद्धार टोली पठाइए पनि हेलिकोप्टर पठाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिए ।

स्थानीयबासीले भने विहानैदेखि उद्धारकार्य जारी राखेका छन् । स्थानीयका अनुसार सान्थाक्रा गाविसमा १० जना अझै वेपत्ता छन् ।

घटनामा गम्भीर घाइते भएका १० मध्ये २ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ । बाँकी ८ जना उपचार अभावमा छट्पटाइरहेका छन् ।

मेवाखोलाको पहिरोले खार्तेपस्थित झोलुङ्गे पुल बगाएपछि पहिरोग्रस्त क्षेत्रमा प्रहरी पुग्न नसकेको र घाइते ८ जनालाई उपचारका लागि लान स्थानीयले ल्याउन प्रयास गरेपनि वरपरको पहिरोले समस्या भएको स्थानीयको भनाइ छ ।

पहिरोले हालसम्म सबैभन्दा बढी मानवीय क्षति लिवाङ गाविसमा भएको छ । सो गाविसको १, २ र ३ मा पहिरोबाट २४ जनाको मृत्यु भएको स्थानीय शिक्षक मातृका शेर्पाले जानकारी दिए ।

मृतक २४ जनाको शव निकालेको जानकारी उनले ती १ र ३ मामात्रै १८ जनाको शव भेटिएको उनले बताए । वाड २ मा थप ६ जनाको शव भेटिएको जानकारी उनले टेलिफोनमार्फत् दिएका हुन् ।

उनका अनुसार मृतकको सनाखत भएको छैन । यता थिङलावु गाविसको याङपेलीमा ५ जनाको शव देखिएको छ । स्थानीय नरेन ओख्राबुका अनुसार थिङलावु–६ याक्पेलीमा ५ जनाको शव देखिए मृतकको सनाखत भएको छैन।

पहिरोबाट शव निकाल्न बाँकी रहेको उनले जानकारी दिए । पहिरोले खोक्लिङ–७ धुसेनीमा एक घर बगाउँदा २ जनाको ज्यान गएको छ ।

स्थानीय राजकुमार मादेनको घर बगाउँदा ११ वर्षीय सविन मादेन र सोही गाविसका ८ वर्षिया वसन्त विकको मृत्यु भएको प्रहरीले बताएको छ ।

लिङ्तेपमा तीन जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा आइतबहादुर लिम्बुकी छोरी चमेली, वाड ३ का ३१ वर्षीया मनकुमारी लिम्बू र पहिचान नखुलेका अर्का एक छन्।

सान्थाक्रा गाविसमा पनि पहिरोले दुई जनाको मृत्यु भएको छ । सान्थाक्रा–३ को लाक्चुङका अमरबहादुर लिवाङ र उनका नाम नखुलेका नातिको मृत्यु भएको स्थानीय तेजकुमार चोङवाङले जानकारी दिए । मृतक चमेलीका बाबु आइतबहादुर पहिरोमा बेपत्ता छन् ।

पहिरोले लिङ्तेप, खोक्लिङ, लिवाङ र थिङलाबु गाविस सबैभन्दा बढी प्रभावित छन् । स्थानीयका अनुसार लिङ्तेपमा ७, खोक्लिङमा ९, लिवाङमा ६ र थिङलाबु गाविसमा ६ घर बगाएको छ।

इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक देवीप्रसाद फागोका अनुसार मेवाखोलामा बाढी आउँदा खाम्लुङ गाविसको दोभान बजारको पल्लो भागका पवन लिम्बू, श्याम लिम्बू र दावा शेर्पाको घर बगाएको छ।
पानी पर्न नरोकिँदा खोल्सा र खोला बढेकाले हताहतीको अनुमान लगाउन गाह्रो भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी शान्तिराज कोइरालाले बताए ।
गाउँमा रहेका प्रहरी युनिट उद्धारका लागि खटिए पनि पैदलको माध्यबाट पहिरोग्रस्त क्षेत्रमा जान नसकिएको उनले बताए ।

तमोर तथा मेवाखोला आसपासको सबैभन्दा ठूलो दोभान बजार जोखिममा रहेको र त्यहाँ ३ वटा घर बगाएको स्थानीयले बताएका छन ्। बाँकी घरका बासिन्दा घर छाडेर भागेका छन् ।

लिङ्तेपको रामदुवाली बजारका इन्द्र नाल्बो, बसन्त सामेखाम, दलबहादुर नाल्बो, भवानसिंह नाल्बो, राजकुमार सामेखाम र डाँडापारी साइला भनिनको घर बगाएको छ ।

स्थानीय आशिष केदेमका अनुसार लिङ्तेप–६ का आइतबहादुर केदेमको परिवारका ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि ल्याउन कठिनाइ भएको उनले जानकारी दिए ।

– Source:annapurnapost