गगन थापाले भने-प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नै हुनुपर्छ १६ बुँदेप्रति फेसबुके ‘नोट अफ डिसेन्ट’

0 10

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभासद गगन थापाले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।

तर, नोट अफ डिसेन्ट लेखेर भएपनि संविधान निर्माण प्रक्रियामा सामेल हुनु पर्ने र यो नै देशको हितमा हुने धारणा राखेका छन् ।

थापाले १६ बुँदेको निर्वाचन प्रणाली र शासकीय स्परुपमा आफ्नो फरक मत रहेको बताए । ‘शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ’ थापाले भने-‘आगामी दिनमा पनि यो मतलाई उठाइरहन्छु ।’

पार्टी र संविधानसभामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा समेत आफ्नो मत राख्दै आएका थापाले औपचारिक रुपमै सम्वाद समितिमा भने नोट अफ डिसेन्ट लेखेका होइनन् । थापा सम्वाद समितिमा पनि छैनन् ।

साथै उनले मिश्रति निर्वाचन प्रणालीको सट्टा समानुपातिक सूची प्रदेशलाई निर्वाचन क्षेत्र मानेर हुनु पर्ने आफ्नो धारणा रहेको बताए ।

कांग्रेस सभासद थापाले १६ बुँदेमा स्थानीय निकायबारे प्रष्ट नबोलिएकोमा असन्तुष्टि जनाएए ।

निर्वाचनको मिति वा समयसीमा तोकिनु पर्ने भन्दै थापाले फेसबुक पेजमा लेखेका छन्-‘जसरी स.विधान जारी भएपछि अन्तरिम संविधानकै प्रावधान अनुसार राष्ट्रपतिको चुनाव गर्ने संक्रमणकालीन व्यवस्था राखिएको छ । संविधान जारी हुनासाथ अहिलेकै संरचनामा अन्तरिम स्थानीय निकायको चुनाव गर्नुपर्छ ।’ नयाँ सीमांकन भएपछि हुने चुनावले त्यो निकायले विस्थापित गर्ने थापाको प्रस्ताव छ ।

नत्र धर्मसंकट एमाओवादीलाई नै पर्नेछ

थापाले १६ बुँदेप्रति असन्तुष्ट विपक्षी मोर्चाका दलहरुलाई फरक मत राखेर भएपनि संविधान निर्माण प्रक्रियामा ल्याउनु वर्नेमा जोड दिएका छन् ।

यसका लागि एकीकृत नेकपा माओवादीले समेत पहल लिनु पर्ने उनको बताए । ‘जसरी हिजो माओवादीले बहुमतीय प्रक्रियाको विरोध गरेर सहमतिबाट मात्र संविधान बन्नुपर्छ भनेर आन्दोलन गरेको थियो’ कांग्रेस सभासद थापाले भने-
‘त्यसैगरी अहिलेको सहमति चित्त नबुझेका दलहरुले पनि त्यही नारा दिएर आन्दोल थालेमा सबैभन्दा धर्मसंकट एमाओवादीलाई नै पर्नेछ ।’