बाढीले दुई दर्जन बढी चौपाया बगायो

0 7

२८ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको मेरापिक क्षेत्रबाट बगेर आउने हुगा खोलामा आएको बाढीले दुई दर्जन भन्दा बढी चौपाया बगाएको छ । २० रोपनी जग्गाको अन्नबाली समेत सखाप भएको छ ।

बुङ १ साद्दीका बासिन्दाले पालेका १८ वटा माउ बाख्रा र ८ वटा पाठाहरु बगाएको हो । ती बाख्राहरु साद्दीकै लक्ष्मण बस्नेत, प्रेम कुमार बस्नेत, सिंह बहादुर बस्नेत र नारायण बस्नेतको रहेको बताईएको छ । यस्तै एक हल गोरु र एउटा भैसी आहालमा डुबेको अबस्थामा निकालिएको छ ।

बाढीले गुदेल ९ को नाम्लुङ पुच्छार हुँगेश्वरदेखि सिम्मलदोसम्मको २० रोपनी जग्गामा लगाएको अन्नबाली समेत बगाएको छ । मानवीय क्षती भने अहिलेसम्म प्राप्त नभएको ईलाका प्रहरी कार्यालय सोताङले जानकारी दिएको छ ।

एक्कासी बाढी आउँदा स्थानीय त्रसित

हुँगा नदीमा हिजो बेलुकी ७ बजेदेखि १० बजेसम्म बाढी आएको थियो । पानी पनि नपरेको अबस्थामा खोलामा एक्कासी बाढी आएपछि स्थानीय त्रसित भएका थिए ।

भरुन्जे हिमालको आधार शिविर क्षेत्रको सेती नामक हिमपोखरी फुटेको हुनसक्ने या मेरापिक क्षेत्रमा हिम पहिरो खसेकाले बाढी आएको अनुमान गरिएको छ । अहिलेसम्म सो क्षेत्रमा कोही पनि नगएकाले बाढी आउनुको कारण खुलेको छैन ।

करिब ३ घण्टासम्म आएको बाढी नियमित पानीको सतहभन्दा झण्डै ८ फिटसम्म माथि पुगेको थियो । उक्त खोला दुधकोशी नदी हुदै सुनकोशीमा मिसिन्छ ।