एप्पलका संस्थापक कसरी बने दुनियाकै अभागी मान्छे ?

0 12

भनिन्छ एउटा गलत निर्णयले जिन्दगीको सारा मोड परिवर्तन गरिदिन्छ । लगभग यस्तै भयो, विश्वको सबैभन्दा मूल्यवान कम्पनीका मालिकको जिन्दगीमा । सायद त्यहीँ भएर उनलाई दुनियाका सबैभन्दा अभागी मानिन पनि भन्ने गरिन्छ ।

हो, विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पल स्थापना गर्नेमध्येका एक तथा कुनैबेलाका मालिक रोन वेन सायद दुनियाका सबैभन्दा दुर्भाग्यशाली मानिस हुन् ।

एप्पल कम्पनीका तिनजना संस्थापक मध्येका एक हुन् रोन । एप्पलको स्थापना १ अपि्रल १९७६ मा भएको थियो । यसका संस्थापकमा स्टिभ जब्स, स्टिभ बोज्नियाक तथा रोनाल्ड वेन अर्थात् रोन वेन थिए । तिनजना मध्येमा रोन सबैभन्दा अनुभवी मानिस थिए । ४२ वर्षे रोनले नै एप्पलको पहिलो लोगोको डिजाइन गरेका थिए ।

त्यतिमात्र होइन एप्पल कम्पनीको साझेदारी सम्झौताको मस्यौदा पनि उनले नै कोरेका थिए । त्यसैले एक किसिमले भन्न सकिन्छ की एप्पलको अहिलेको शाख रोनकै बलबुतामा खडा भएको हो । एप्पल कम्पनी स्थापना गर्न स्टिभ जब्स २१ वर्षका र स्टिभ बोज्नियाक २५ वर्षका थिए ।

रोन, जब्स र बोज्नियाकले अटारी कम्पनीले सँगै काम गर्थे । र तिनैजनाले पूरानो काम छाडेर एप्पलको स्थापना गरे । तर अचम्मको कुरा के भने एप्पल स्थापना गरेको १२ औँ दिनमै रोनले एप्पल छाडे र आफ्नो नाममा रहेको १० प्रतिशत शेयर ८ सय डलरमा बेचिदिए । सायद उनको त्यो निर्णय जिन्दगीकै सबैभन्दा ठूलो भुल थियो । यदि उनले उक्त शेयर नबेचेका भए अहिले उनी ३५ अर्ब डलरका मालिक हुन्थे ।

आखिर के कारणले गर्दा रोनले आफैले खडा गरेको एप्पल कम्पनी छाडे त ? सायद यस्ता पाका मान्छेले लडहवाजीमा छाडेका त होइनन् होला । हो, उनले एप्पल छाड्नुको खास कारण रहेछ । एक अन्तरवार्ताका क्रममा रोनले स्टिभ जब्सको बारेमा यस्तो खुलासा गरेका छन् जसका कारण उनी एप्पल छाड्न बाध्य भएका थिए ।

रोनका अनुसार एप्पल छाड्ने फैसला उनको आफ्नै थियो । तर उनका अनुसार जब्ससँग सँगै काम गर्न निकै अप्ठेरो महसुस भैरहेको थियो उनलाई । मानिसहरुको अगाडि ठिक्क पार्ने स्वभावका भएपनि जब्स निकै जिद्दी स्वभावका तथा करबलले आफ्नो कुरा गराएरै छाड्ने खालका मानिस थिए, जसका कराण सहकर्मीहरु समस्यामा पर्थे ।

एप्पल स्थापना गर्दाताकाको समयमा रोनको कमाइ निकै उच्च थियो । उनले प्रतिवर्ष २२ हजार डलर कमाउँगे । आफ्नो सानदार करिअरलाई छाडेर पाको उमेरमा उनले कुनै नयाँ कम्पनीमा हात हालेर जोखिम मोल्न मनले मानिरहेको पनि थिएन । उनले कम्पनी छाडेपछि पनि जब्स र बोज्नियाकले केही वर्षसम्म उनलाई फिर्ता बोलाइरहे तर उनले फर्किन मानेनन् । सायद त्यस समयमा उनलाई आफुले भयानक गल्ती गरिरहेको छु भन्ने महसुस नै भएन ।

त्यति भएर होला रोन विश्वका सबैभन्दा अनलकी अर्थात् अभागी मानिस कहलिन्छन् । सायद रोन हुँदैनथे त एप्पलको अस्तित्व पनि नहुँदो हो । तर उनकै बलबुताले खडा भएको एप्पल अहिले दुनियाको सबैभन्दा मुल्यवान कम्पनीको रुपमा स्थापित हुँदा उनै रोनलाई कसैले चिन्दैनन् ।

– Source:onlinekhabar