ताप्लेजुङका विभिन्न गाउँमा वर्षासँगै पहिरो, १२ जनाको मृत्यु

0 11

२८ जेठ, ताप्लेजुङ । अविरल वर्षासँगै ताप्लेजुङका विभिन्न गाउँमा गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । बुधवार साँझदेखि परेको पानीसँगै ताप्लेजुङको पश्चिमी क्षेत्रका गएको पहिरोमा परी सयौं बेपत्ता भएका छन् । पहिरोमा परी ८ जना घाईते भएका छन् । थिङलावु गाविसको याङपेलीमा ५ जनाको शव देखिएको छ ।

स्थानीय नरेन ओख्राबुका अनुसार थिङलावु ६ याक्पेलीमा ५ जनाको शव देखिएपनि कसको हो पुष्टी भएको छैन । पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांडामा रहेका दुई दर्जन बढी घर बगाएको छ ।

पहिरोले घर बगाउदा खोक्लिङ ७ धुसेनीमा एक घर वगाउदा २ जनाको ज्यान गएको छ । खोक्लिङ ७ का राजकुमार मादेनको घर माथिवाट आएको पहिरोले वगाउदा वर्ष ११ का सविन मादेन र सोही गाविसका ८ कै बषिर्या वसन्त विकको मृत्यु भएको प्रहरीले वताएको छ ।

यो घटनामा परी गम्भीर घाईते भएका दुईजनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याईदै गरेको मृतक सविनका काका बिष्णु मादेनले जानकारी दिए । यता लिङतेप गाविसमा पनि एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आईतवहादुर लिम्बूकी छोरी चमेलीको मृत्यु भएको छ । घरै बगाएकामा उनको शव प्राप्त भएको र घरमा रहेका मृतक चमेलीका बाबु  सम्पर्कमा नरहेको स्थानीयले जानकारी दिए ।

यसैबीचच सान्थाक्रा गाविसमा पनि पहिरोका कारण २ जनाको मृत्यू भएको छ । सान्थाक्रा ३ को लाक्चुङका अमरबहादुर लिवाङ र उनको नाम नखुलेका नातिको मृत्यु भएको स्थानिय तेजकुमार चोङबाङले जानकारी दिए । पहिरोले लिवाङ गाविसका देबेन्द्र लिवाङको मृत्यु भएको त्रिभुवन उच्च माविका प्रधानाध्यापक ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै लिङतेप तीनकी सन्जय लिम्बुको पनि श्रीमति मनमाया लिम्बुको पनि पहिरोमा पनि मृत्यू भएको छ । उनको पहिरो आउम्दा भाग्ने क्रममा मृत्यू भएको प्रहरीले बताएको छ । यस्तै पहिरोका कारण लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।

स्थानीयका अनुसार लिङतेपमा ७, खोक्लिङमा ९, लिवाङमा ६ र थिङलाबु गाविसमा ६ घर बगाएको छ । ईलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरिक्षक देवीप्रसाद फागोका अनुसार मेवाखोला बढेर आउदा खाम्लुङ गाविसको दोभान बजारको पल्लो भागका पवन लिम्बू, श्याम लिम्बू र दावा शेर्पाको घर बगाएको छ ।

पानी परिरहेको र खोल्सा तथा खोला बढेका कारण कति हताहती भए र घर बगाउदा मान्छे समेत बगे या अरु केहि हो भन्ने बारेमा जानकारी लिने काम भई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी शान्तिराज कोईरालाले भने ।

गाउँमा रहेका प्रहरी युनिट उद्धारका लागि खटिए पनि पैदलको माध्यबाट पहिरोग्रस्त क्षेत्रमा जान नसकिएका कारण समस्या भई रहेको प्रहरीले बताएको छ ।

तमोर तथा मेवाखोला आसपासको सबैभन्दा ठूलो दोभान बजार जोखिममा रहेको र त्यहां ३ वटा घर बगाएका कारण दोभान बजारका स्थानीय घर छाडेर भागेका छन् ।

उता ७ घर रहेको लिङतेपको रामदुवाली बजारका ईन्द्र नाल्वो, बसन्त सामेखाम,दलबहादुर नाल्वो,भवानसिंह नाल्वो,राजकुमार सामेखाम र डांडापारी साईला भनिनको घर बगाएको छ ।

स्थानीय आशिष केदेमका अनुसार लिङतेप वार्ड नं ६ का आईतबहादुर केदेमको एउटै परिवारका ६ जना सख्त घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि ल्याउन कठिनाई भएकोले ज्यान जोखिममा परेको उनले जानकारी दिए । बगाएका घरमा मानिस घरमै थिए वा भागे भन्ने केहि थाहा छैन । यि घरमा रहेका सबै सम्पर्क बाहिर रहेका छन् ।

– Source:onlinekhabar