भारतीय कोठीमा भूकम्प पीडित युवती !

0 20

२८ जेठ, काठमाडौं । भूकम्पले मानवीय जीवनचक्र नै तहसनहस पारेका अति प्रभावित जिल्लाका अस्थायी क्याम्पमै पुगेर मानव तस्करले कम उमेरका नेपाली युवती भारततिर ओसार्न थालेका छन्।

राहत वितरणका नाममा भूकम्प पीडित क्याम्प पुगेका दलालले रोजगारीको प्रलोभन दिएर कम उमेरका नेपाली युवतीलाई भारतीय विभिन्न सहरका वैधानिक यौनबजार (कोठी) मा लगेर बेचिरहेको खुलेको नागरिकमा खबर  छ।

वैशाख १२ को भूकम्पयता सिन्धुपाल्चोक र नुवाकोटबाट भारतको उत्तरप्रदेश र मुम्बईका कोठीमा लगेर बेचिएका १५ युवती फेला परेपछि भूकम्पमा परिवार र घरबार गुमाएका किशोरी र युवतीलाई मानव तस्करले सहजै सीमा कटाएको पुष्टि भएको हो।

एक सातायता मात्र मुम्बईको भिवन्डीबजारबाट १२ र उत्तरप्रदेश, आगराको कास्मिरीबजारस्थित यौनअखडामा बेचिएका तीन नेपाली युवतीलाई मानव बेचबिखनविरुद्ध काम गर्ने भारतीय संस्थाको सहयोगमा उद्धार गरिएको छ।

भूकम्प प्रभावित जिल्लाका युवतीहरु मानव तस्करबाट उच्च जोखिममा रहेको भन्दै प्रहरीले स्थल र हवाई नाकामा कडाइ गरे पनि तस्करले स्थलमार्गबाट सहजै नाका कटाइरहेका छन्।

मानव बेचबिखनविरुद्ध काम गरिरहेको भारतीय संस्था ‘रेस्क्यु फाउन्डेसन’ का अनुसार भारतीय सहर कलकत्ता, कालीगढ, कानपुर, बलेरीलगायत स्थानमा रहेका यौनअखडामा समेत पछिल्लो समय नेपाली युवती बेचिने क्रम बढेको सूचना संस्थामा आइरहेको छ। फाउन्डेसनका रिसोर्स म्यानेजर राजेश चतुर्वेदीले कोठीमा बेचिएको सूचना आए पनि थप तीन नेपाली युवतीको अवस्था अझै खुल्न सकेको छैन।

भूकम्प प्रभावित जिल्लाका नेपाली युवतीलाई कामको प्रलोभन देखाएर मुम्बईका कोठीमा ल्याएर बेचेको र बेचिएका युवतीमा कम उमेरका रहेको सूचनाका आधारमा फाउन्डेसनले जेठ २० मा प्रहरीको सहायता लिएर भिवन्डीबजारका कोठी छापा मार्दा १४ युवती फेला परेका थिए। तीमध्ये १२ जना भूकम्पपछि त्यहाँ लगेर बेचिएको खुल्यो।

सोही संस्थाले सिन्धुपाल्चोक र नुवाकोटबाट ल्याइएका ६ जना युवती कलकत्ताको कोठीमा बिक्री गरिएको र उनीहरुलाई उत्तरप्रदेशको आगरामा रहेको कास्मिरी गेटका यौनअखडामा पुर्यादइएको सूचना पायो।

चतुर्वेदीका अनुसार सोही सूचनाका आधारमा सोमबार प्रहरी टोलीसहित आगराको कस्मिरगेटमा रहेका कोठी छापा मार्दा ३ वटा कोठीबाट १० जना युवतीको उद्धार भयो जसमा ३ जना नेपाली युवती थिए। चतुर्वेदीका अनुसार उद्धार गरिएका मध्ये एक युवती नुवाकोट र २ जना सिन्धुपाल्चोकका हुन्।