विजय गच्छदार मधेसी मोर्चाबाट निस्कासित

0 9

२७ जेठ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई मोर्चाबाट हटाएको छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चार दलबीच भएको १६ बुँदेमा हस्ताक्षर गरेको भन्दै मोर्चाले अब उपरान्त मधेसी मोर्चाको कुनै सम्बन्ध नरहने गरी निस्कासन गर्ने निर्णय गरेको हो ।

मधेसी मोर्चाले १६ सूत्रीय सहमति अन्तरिम संविधान विपरित र प्रतिगमनकारी कदम भएको ठहर गरेको छ । ‘सहमतिले मुलुकलाई अझ बढि आन्तरिक दन्द्व र अस्थिरतामा धक्केलने छ भन्ने हाम्रो ठहर छ’ मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशहरको सीमांकन, नामांकन तथा साधन स्रोत र शक्तिहरुको बाँडफाँड विना संविधान निर्माण गर्ने सहमति मधेस विद्रोह लगायतका आन्दोलन रसंविधानको धारा १३८ को उल्लंघन भएको मोर्चाले बताएको छ । ‘यसले संविधान सभाको क्षेत्राअधिकार कटौती गर्नुको साथै यसको गरिमा माथि प्रश्न चिन्ह खडा गरेको छ’ मोर्चाले भनेको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई चार दलको सहमति स्वीकार्य नहुने बताएको छ । साथै पहिचान, समावेशीता र अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु सहितको राज्य पुनर्संरचनाका लागि निरन्तर संर्घष गर्ने बताएको छ ।

– Source:onlinekhabar