राजसंस्था र हिन्दु राष्ट्र माग गर्दै कमल थापाले राखे फरक मत

0 6

२७ जेठ, काठमाडौं । राप्रपा नेपालले संवैधानिक राष्ट्रप्रमुखको रुपमा राजसंस्था र धार्मिक स्वतन्त्रता सहितको सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र हुनु पर्ने भन्दै सम्वाद समितिमा फरक मत राखेको छ ।

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा राप्रपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता कमल थापाले नौंबुँदे फरक मत राखेका हुन् ।

थापाले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रका सम्बन्धमा राप्रपा नेपालको पूर्ण असहमति रहेको भन्दै आफ्नो फरक मत संविधानसभामा प्रस्तुत गर्न आग्रह गरेका छन् ।

थापाले धर्म निरपेक्षताको विरोध गरेका छन् । नेपाल सर्वधर्म सहअस्तित्व एवं पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र हुने पर्ने र आ-आफ्नो धार्मिक मान्यता, परम्परा र रितिरिवाजको अवलम्वन र अभ्यास गर्ने स्वतन्त्रता रहने तर, कसैले कसैको धर्म परिवर्तन गराउन नपाउने प्रावधान राख्नु पर्ने थापाको प्रस्ताव छ ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रप्रमुखको रुपमा राजसंस्था रहने थापाको फरक मतमा उल्लेख छ । प्रधानमन्त्री वा मन्त्रीलाई अबिश्वासको प्रस्तावबाट हटाउन सकिनेछ ।

संघीयताको विपक्षमा रहेको राप्रपा नेपालले राज्य पुनर्संचनाको क्रममा स्थानीय सरकारको अवधारणा अनुरुप स्थानीय स्वायत्त शासन प्रणाली कायम गर्नु पर्ने प्रस्ताव अघि सारेको छ ।

राप्रपा नेपालले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रवारे अन्तिम टुंगो लगाउनु अघि जनताको प्रत्यक्ष अभिमत लिन राष्ट्रिय जनमत संग्रहको माग गरेको छ ।

– Source:onlinekhabar