१७ न्यायाधीश एकैसाथ किन गए बागमती किनारमा ? न्यायपरिषद सचिव भन्छन्- मलाई थाहै छैन

0 8

२७ जेठ, काठमाडौं । ललितपुरको कुपण्डोल नजिकै वागमती किनारको गन्ध आउने ठाउँमा न्यायपरिषदको कार्यालय छ । बुधबार दिउँसो कार्यालय समयमा त्यहाँ पाटन पुनरावेदन अदालतका १७ न्यायाधीशको उदेकलाग्दो लर्को देखियो ।

पुनरावेदन अदालतमा कार्यालयको कामै छाडेर मुख्य न्यायाधीशको नेतृत्वमा सबै न्यायाधीहरु पुष्पगुच्छा बोकेर बागमती किनारमा आएका थिए । उनीहरुको उद्येश्य थियो, भर्खरै न्यायपरिषदको सदस्यमा नियुक्त भएका रामप्रसाद सिटौलालाई बधाइ दिने ।

‘यो त गलत भयो, अदालतै बन्द गरेर न्यायपरिषद सदस्यको चाकडी गर्नुले पञ्चायतकालीन संस्कृतिको स्मरण गरायो,’ नेपाल बार एशोसिएसनका एक सदस्यले अनलाइनखबरसँग भने, ‘औपचारिक कार्यक्रममै विना इजलासै रोकेर सबै न्यायाधीशहरु लस्कर लाग्नु स्वाभाविक होइन, यसले न्यायालयमा चाकडीको संस्कारलाई उजागर गरेको छ ।’

Juge meet with Ram prashad sitaula 2

स्रोतका अनुसार पुनरावदेन अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालको नेतृत्वमा न्याय परिषदमा पुगेको टोलीमा भर्खरै ५ महिनाका लागि म्याद थपिएका न्ययाधीश नारायण साह, नित्यानन्द पाण्डे र मनोज शर्मासमेत थिए । त्यसैगरी न्यायाधीशहरु नारायण दाहाल, विनोद शर्मा, सारंगा सुवेदी, शिवराज अधिकारीलगायत पाटनका सबै न्ययाधीश एकसाथ न्याय परिषदमा देखापरेका थिए ।

खाजा खाने बेलामा आएका हुन् : सिटौला

यसैवीच नवनियुक्त न्यायपरिषद सदस्य सिटौलाले न्यायाधीशहरु इजलास बन्द गरेर आएको नभई खाजाखाने समय पारेर आफूलाई भेट्न आएको अनलाइनखबरलाई बताए । ‘उहाँहरु खाजाखाने समय पारेर २ बजे आउनुभएको हो, अढाइ बजे र्फकनुभयो,’ सिटौलाले भने,’ अदालतै बन्द गरेर आउनुभएको होइन ।’

Juge meet with Ram prashad sitaula 1

न्ययाधीशहरुलाई आफूले नबोलाएको सिटौलाले बताए । ‘मैले बोलाएर आएका पनि होइनन्, यस्तो भेटघाट सचिवालयले मिलाउँछ, मैले होइन,’ सिटौलाले अनलाइनखबरससँग भने, ‘यो भेटघाट मैले नभएर सचिवायलले मिलाएको हो ।’

सचिव भन्छन्- मलाई थाहै छैन

उता न्यायपरिषद सचिव कृष्ण गिरीले भने न्यायाधीशहरु परिषदमा आएकोबारे आफू अनभिज्ञ रहेको बताएका छन् । गिरीले अनलाइनखबरसँग भने- ‘म बीएण्डबी अस्पताल गएको थिएँ, मलाई यो कुरा थाहै छैन । ‘

अस्पतालमा गएका बेला आफूले प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई भेटेको गिरीले बताए । उनले भने- ‘प्रधानन्यायधीशज्यू भूकम्पमा घाइते श्रीमतीको उपचारका लागि आउनुभएको रहेछ, अस्पतालमा मैले उहाँलाई भेटेको थिएँ, न्यायाधीशहरु न्यायपरिषदमा गएको मलाई थाहा छैन ।’

– Source:onlinekhabar