पाठ्यपुस्तकमा फरक मूल्य

0 6

नारायणगढ, जेष्ठ २७ – पाठ्यपुस्तकका लागि जिल्ला शिक्षाले विद्यालयमा विनियोजन गरेको बजेट अपुग हुने गरेको पाइएको छ । कक्षा ६, ७ र ८ का पाठ्यपुस्तकमा शिक्षा कार्यालयले निकासा गरेको रकम र बिक्रेता खरिद मूल्यमा प्रतिसेट झन्डै १ सय रुपैयाँ बढी अन्तर परेको छ ।

‘शिक्षाले निकासा गरेको बजेट र पाठ्यपुस्तक बिक्रेताले निर्धारण गरेको मूल्यमा धेरै अन्तर छ,’ रमाइलोडाँडा निमावि माडीका प्रधानाध्यापक ऋषिराम काफ्लेले भने, ‘यसले विद्यालय प्रशासनलाई आर्थिक व्ययभार थपेको छ ।’ कक्षा ८ को प्रतिसेट पाठ्यपुस्तकका लागि शिक्षाले ३ सय ७७ रुपैयाँ उपलब्ध गराएको थियो । विक्रेताले भने एक सेटका लागि ४ सय ९३ रुपैयाँका दरले रकम लिएको काफ्लेले बताए । ‘एक सेटमा १ सय १६ रुपैयाँ फरक परेको छ,’ उनले भने, ‘कक्षा ८ मा ३१ जना विद्यार्थी अध्ययनरत छन् ।’ त्यसैगरी कक्षा ६ को सेटमा ३५ रुपैयाँ र कक्षा ७ को पाठ्यपुस्तकमा प्रतिसेट ७३ रुपैयाँ बढी तिर्नुपरेको उनले बताए ।

‘विद्यालयमा ४ निजी स्रोतका शिक्षक छन्,’ उनले भने, ‘पाठ्यपुस्तकमा अतिरिक्त रकम तिर्दा विद्यालय आन्तरिक स्रोतमा असर पर्छ ।’ नीतिगत रूपमै समस्या भएकाले प्रधानाध्यापकहरू शिक्षा कार्यालय धाइरहेका छन् । गत महिना प्रअको बैठकमा समेत यसबारेमा छलफल भएको उनले जनाए । ‘यो एउटा विद्यालयको मात्र समस्या हैन,’ कान्तिपुरसित उनले भने, ‘पाठ्यपुस्तक नि:शुल्क भनिए पनि, आंशिक रूपमा लगानी गर्नुपरेको छ ।’ नारायणी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले सानो रकम अन्तर हुँदा पनि ठूलो आर्थिक भार परेको गुनासो गरे । ‘फरक परेको मूल्य शिक्षाले निकासा दिनुपर्छ,’ उनले भने, ‘पुस्तक मूल्य एकातिर र शिक्षाले पठाएको रकम एकातिर देखिएको छ ।’

सहायक जिल्ला शिक्षा अधिकारी भूमिलाल सुवेदीले विभागले निर्धारण गरेको मूल्यअनुसारै कार्यालयले विद्यालयलाई बजेट निकासा गरेको बताए । ‘पाठ्यपुस्तकका लागि माथिबाटै रेट निर्धारण हुन्छ,’ उनले भने, ‘त्यही आधारमा निकासा गर्छौं ।’ मूल्यमा देखिएको अन्तरबारे लिखित रूपमै गुनासो आउन थालेको छ । शिक्षा स्रोतका अनुसार कार्यालयले पुरानै मूल्य सूचीअनुसार बजेट पठाएको हो । जिल्लामा ७२ निम्नमाध्यमिक र ९३ माध्यमिक विद्यालय सञ्चालनमा छन् । ‘मूल्यमा प्रतिविद्यार्थी सय रुपैयाँको दरले पनि फरक पर्दा लाखौं रुपैयाँ कमिसन आउँछ,’ स्रोतले भन्यो, ‘कमिसन खाने दाउमा शिक्षाले पुरानै दररेटअनुसार नयाँ पाठ्यपुस्तकका लागि बजेट निकासा गरेको हो ।’ एक प्रअका अनुसार पाठ्यपुस्तकबाहेक छात्रवृत्ति, भौतिक पूर्वाधार, बाह्य वातावरण सुधारलगायतका शीर्षकमा शिक्षाले बजेट निकासा गर्ने भएकाले विद्यालयले प्रतिपाठ्यपुस्तक कति मूल्य पर्ने हिसाब निकाल्दैनन् ।

‘गत महिना बसेको बैठकमा फरक मूल्यबारे माडीका प्रअ काफ्लेले जानकारी गराएपछि थाहा पाएँ,’ ती प्रअले भने, ‘विद्यालयमा आएर हिसाब निकाल्दा मूल्यमा अन्तर फेला पर्‍यो ।’ सहायक जिशिअ सुवेदीले कक्षा ८ पाठ्यक्रम फेरिएकाले पुरानै रेट परेको हुन सक्ने बताए । सम्पूर्ण प्रधानाध्यापक शिक्षा कार्यालयमा डेलिगेसन जाने तयारीमा रहेको काफ्लेले जनाए ।