अर्को सातादेखि मलेसियामा बायोमेट्रीक लागु गर्ने तयारी

0 15

क्वालालम्पुर, जेष्ठ २७ – मलेसियाले यही जुन १५ देखि सबै विदेशी कामदारका लागि बायोमेट्रीक प्रणाली पूर्ण रुपमा लागू गर्ने जनाएको छ । यसअघि गत जनवरी १५ मै लागू हुने भनिए पनि नेपाललगायत केही कामदार स्रोत मुलुकहरुले उक्त प्रणालीको चर्को विरोध गरेपछि मलेसियाले उक्त प्रणाली तत्काल रोक्ने निर्णय गरेको थियो ।

आफ्ना नागरिक कामदारमाथि आर्थिक भार पर्ने र तथ्यांक चुहावटको खतरासमेत रहको भन्दै नेपाल, इण्डोनेसियालगायत विभिन्न स्रोत मुलुकले मलेसियाली निर्णयको विरोध गरेका थिए ।

मलेसियाले हालसम्म लागु हुँदै आएको पूरानो पद्दति रोक्दै आगामी सोमबारदेखि विदेशी कामदारका लागि अनिवार्य रुपमा ‘भिसा र मेडिकल’यसअघि विवादित बनेको बायोमेट्रीक पद्दतिबाटै गर्ने भएको हो । अध्यागमन विभागका महानिर्देशक दातुक मुस्तफा इब्राहिमले मंगलबार एक वक्तव्य जारी गर्दै उक्त कुरा बताएको स्थानीय अंग्रेजी दैनिक ‘न्यु स्ट्रेट्स टाइम्स’ ले मंगलबारको अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

त्यस्तै अर्को स्थानीय दैनिक ‘द स्टार’ ले बर्नामालाई उध्दृत गर्दै प्रकाशन गरेको समाचारअनुसार यसअघिको पूरानो पद्दति जुन महिनाभरि मात्र रहनेछ । इभिडिआर (इलेक्ट्रोनिक्स भिसा विद् रिफरेन्स) अर्थात यो नयाँ पद्दती बेस्टीनेट एसडिएन विएचडी नामक निजी कम्पनीद्वारा संचालित ‘फरेन वर्कर्स सेन्ट्रालाइज् मेनेज्मेन्ट सिस्टम’ अन्तर्गत हुने जनाइएको छ ।

उक्त पद्दतिअनुसार विदेशी कामदारले मान्यताप्राप्त क्लिनिकहरुबाट अनिवार्य रुपमा आफ्नो मेडिकल जाँच र प्रमाणीकरण गरी अनलाइनमार्फत् भिसाको लागि आवेदन दिनुपर्नेछ । कामदारले बिमा किनेको प्रमाणसहित थप प्रमाणीकरणका लागि यस पद्दतिमार्फत आवेदन दिनुपर्नेछ । यसो गर्दा कामदारलाई थप खर्च नहुने उल्लेख गरिएको छ । यद्यपि कामदारले कति खर्चिनुपर्छ भन्नेबारे केही पनि उल्लेख गरिएको छैन ।

नेपाली दुतावासले यसबारे आफुलाई जानकारी नभएको बताएको छ । ‘हामीलाई यसबारे कुनै जानकारी छैन ।’ राजदुत निरञ्जनमान सिंह बस्न्यातले बुधबार कान्तिपुरसित भने ‘छिट्टै यसबारे विस्तृतमा बुझ्नेछौं ।’ मलेसियामा करिब ८ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।