बहस : ज्यानमारा भूकम्प हो कि भ्रष्टाचार ? भ्रष्टाचारले यसरी मान्छे मार्छ

0 8

डा. उत्तमबाबु श्रेष्ठ

सन् २०१० जनवरी १२ मा हाइटीमा गएको भूकम्पले करिव २ लाख ३० हजारमान्छेको ज्यानलियो तर सोही वर्षको सेप्टेम्बर ४ मा न्यूजिल्याण्डमा गएको भूकम्पबाट एकजना पनि मान्छे मरेनन् ।

हाइटी गएको भूकम्प ७ रेक्टर स्केलको थियो भने न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको । दुबै भूकम्पको कम्पन जमीनको सतहभन्दा करिब १० देखि १३ किमीमुनिबाट उत्पत्ति भएको थियो । फरक के मात्र थियो भने, हाइटीमा इपिसेन्टरबाट ठूलो बस्ती न्यूजिल्याण्डको भन्दा केही नजिक थियो र भूकम्प अपरान्ह ४.५३ मा गएको थियो । तर, न्यूजिल्याण्डमा भने सबै घरमा सुतिरहेका अवस्थामा बिहान सबेरै ४.३५ बजे । तर पनि उस्तै प्रकृतिको भूकम्पमा हाइटीमा लाखौं मान्छे मर्दा न्यूजिल्याण्डमा एकजना पनि किन मरेनन् ?

यसको महत्वपूर्ण कारण न्यूजिल्याण्डमा घर बनाउँदा अपनाइने कडा मापदण्ड र त्यसको सदृढ कार्यान्वयन थियो । जसको अभाव हाइटीमा टड्कारो थियो । घर बनाउने मापदण्डको अभाव साथै भएको मापदण्ड पनि कार्यान्वयन नहुनु हाइटीको समस्या थियो । जसको अप्रत्यक्ष तर प्रमुख कारण हाइटीमा व्याप्त भ्रष्टाचार र कुशासन थियो । हाइटीको भूकम्पमा त्यति धेरै मान्छे मारिनुको प्रमुख जड त्यहाँ व्याप्त भ्रष्टाचार नै थियो ।

सन् २०१० मा उक्त भूकम्पहरु जानुभन्दा पहिले ती दुबै देशको भ्रष्टाचारको अवस्था तुलना गर्ने हो भने १८० डिग्रीको फरक पाइन्छ, भूकम्पले मारिनेको संख्या जस्तै । सन् २००९ मा प्रकाशित ट्रान्सपेरेन्सी इन्टरनेशनलको भ्रष्ट्राचार अवधारणात्मक सूचांक (करप्सन परसेप्सन इण्डेक्स) का अनुसार, हाइटी विश्वमै सबैभन्दा बढी भ्रष्ट्राचार हुने मुलुकहरुको सुचीमा दशौं नम्बरमा (सन् २००८ मा चौथो) थियो भने न्यूजिल्याण्ड सबैभन्दा कम भ्रष्ट्राचार हुने विश्वकै पहिलो मुलुकमा पर्दथ्यो ।

भ्रष्ट्राचार र भूकम्पबाट मर्नेको संख्याको सम्बन्ध देखिँदैमा त्यस्तो दाबी गर्न मिल्छ ? अंग्रेजीमा एउटा प्रशिद्व भनाइ छ, ‘कोरिलेसन इज नट कजेसन’अर्थात सह-सम्बन्ध स्थापित हुँदैमा त्यो कारक हुँदैन । तर, तथ्यांकलाई मिहीन ढंगले विश्लेषण गर्दा भन्न करै लाग्छ, भूकम्प लगायतका प्राकृतिक विपतिमा धेरै मान्छेले ज्यान गुमाउनुको एउटा महत्वपूर्ण कारणमध्ये भ्रष्ट्राचार पनि एक हो । त्यसो त हाइटी र न्यूजिल्याण्डको आर्थिक अवस्थामा पनि आकाश जमीनको फरक छ । त्यसकारण आर्थिक अवस्था पनि एक कारण हुन सक्ला ।

तर, कुरा हाइटी र न्यूजिल्याण्डको मात्रै होइन, विश्वभरिकै भ्रष्ट्राचार अवधारणात्मक सूचांक र भूकम्पमा परी ज्यान गुमाएको तथ्यांकलाई विश्लेषण गर्ने हो भने, भन्न सकिन्छ-भ्रष्टाचारले मान्छे मार्छ ।

हाइटी भूकम्पको एक वर्षपछि सन् २०११ जनवरी १३ को बैज्ञानिक जर्नल नेचरमा प्रकाशित भ्रष्टाचारले मार्छ करप्सन किल्स भन्ने शीर्षकको बैज्ञानिक लेखमा भ्रष्टाचारले मान्छे मार्छ भन्ने दाबी छ ।

सन् १९८० देखि २०१० सम्म विश्वभरमा भूकम्पबाट मारिएका मानिसको संख्या र विश्वका विभिन्न मुलुकहरुको विद्यमान भ्रष्ट्राचारको अवस्थाको तुलनात्मक अध्ययन गरिएको उक्त लेखका अनुसार, सन् १९८० देखि २०१० सम्म भूकम्पमा परी मर्नेहरुमा ८३ प्रतिशत मानिसहरुको मृत्यु भूकम्पको कम्पनले गर्दा घर भत्किएकाले भएको थियो । र, ती देशहरुमध्ये धेरैजसो मुलुकहरु भ्रष्ट्राचारको सुचीमा उपल्लो स्थानमा थिए ।
भ्रष्ट मुलुकको सुचीमा अग्रपंक्तिमा आउने हाइटी, इण्डोनेसिया, पाकिस्तान, चीन, भारतमा भूकम्पबाट मर्नेहरुको संख्या अध्यधिक थियो भने कम भ्रष्ट्र मुलुकहरु अमेरिका, चिली न्यूजिल्याण्ड आदिमा भूकम्पहरुबाट मर्नेहरुको संख्या निकै कम ।

भ्रष्ट्राचारले भौतिक संरचनाले जस्तो प्रत्यक्ष अंगभंग गर्दैन । तर, अप्रत्यक्षरुपमा मान्छे मार्छ

सोही निष्कर्ष भूकम्पमा मात्रै होइन, फिलिपिन्सदेखि भारत र श्रीलंकासम्मको आँधीबेहरीसम्म हरेक प्राकृतिक प्रकोपमा दोहोरिएको पाइएको छ । एक अर्को अध्ययनका अनुसार, भ्रष्टाचार बढी हुने देशमा एउटा प्राकृतिक प्रकोपमा सरदर २४२ व्यक्तिको मृत्यु हुन्छ भने भ्रष्टाचार कम हुने देशमा त्यो संख्या २१ मात्रै हुन्छ । अमेरिकाभित्र गरिएको अर्को अनुसन्धानले भ्रष्ट्राचार बढी हुने राज्यमा प्राकृतिक प्रकोपबाट मारिनेको संख्या भ्रष्ट्राचार कम हुने राज्यमा भन्दा बढिरहेको देखाएको थियो ।

थुप्रै यस्ता अनुसन्धानहरुले के निष्कर्ष निकालेका छन् भने, प्राकृतिक प्रकोपबाट हुने मृत्युको प्रमुख कारकहरुमध्ये भ्रष्ट्राचार एक महत्वपूर्ण कारण हो ।

प्रश्न उठ्छ, भ्रष्ट्राचार भनेको पिलर, विम, झ्याल, ढोका हो र थिचेर, किचेर मार्नलाई ? भूकम्पपछि घर, पर्खाल, पुल, बाटो, स्कुल आदि भत्किएर पो मान्छे मर्छ त, भ्रष्टाचारले कसरी मार्छ भनेर तर्क गर्न सकिन्छ । भ्रष्ट्राचारले भौतिक संरचनाले जस्तो प्रत्यक्ष अंगभंग गर्दैन । तर, अप्रत्यक्षरुपमा मान्छे मार्छ । जुन मुलुकमा भ्रष्ट्राचार व्याप्त हुन्छ, त्यहाँ घर, पुल, बाटो, स्कुल, अस्पताल लगायत भौतिक निर्माणहरुले कुनै पनि मापदण्ड पूरा गरेका हुँदैनन्, जसका कारण संरचनाहरु भूकम्पको कम्पन थेग्न नसक्ने कमजोर बनेका हुन्छन् ।

विभिन्न समुहहरुको स्वार्थ हावी भएर बनाइने पूर्वाधार निमार्णका मापदण्डहरु पनि कमजोर हुन्छन् । कतिपय अवस्थामा त मापदण्डको नै अभाव हुन्छ । भ्रष्ट्राचारका कारण मापदण्डको कार्यान्वयन पक्ष फितलो हुन्छ । भ्रष्ट्राचारी मुलुकहरुमा विपद व्यवस्थापनको पूर्वतयारी व्यवस्थित हुन सक्दैन । यी सबै भएपछि त्यस्ता देशहरुमा अनाहकमा धेरै मान्छेहरु मर्छन् । यी निचोडहरु यस्ता छन्, जुन नेपालको सन्र्दभमा सोह्रै आना मिल्न आउँछ ।

गत वर्षको ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्ट्राचार अवधारणात्मक सूचांकमा नेपालको स्थिति गत वर्षभन्दा पाँच स्थान खस्किएको थियो । अर्थात भूकम्पअघि नेपालमा भ्रष्ट्राचार बढिरहेको थियो । नेपाल आफैंमा भ्रष्ट्राचार धेरै हुने मुलकमा पर्दछ ।

हिमालय क्षेत्रमा बसोवास गर्ने हामी नेपालीहरु भूकम्पीय जोखिमको हिसाबले घडीको सुई चलिरहेको टाइम बममाथि बसिरहेका छौं, जुन कुनै बेला पनि बिष्फोट हुन सक्छ

ट्रान्सपेरेन्सी इन्टरनेशनलको उक्त तथ्यांकलाई एकछिन परै छाडौं । आठ हजार सातसयभन्दा बढी व्यक्तिको मृत्यको कारक बन्न पुगेको गत बैसाख १२ गते आएको गोरखा भूकम्पपछि सार्वजनिक भएको विभिन्न समाचारहरुले नेपालमा बनेका भौतिक संरचनाको जीर्ण अवस्थालाई उदांगो पारिदिएका छन् । भौतिक संरचना निमार्णको चरम बेथितीलाई सतहमा ल्याइदिएका छन् ।

काठमाडौं उपत्यकासहित अन्य नगरपालिकाहरुमा अनुचित आर्थिक लेनदेनका कारण जस्तोसुकै जग्गामा बनेका घरको पनि नक्सा पास गर्ने र बनेका घरहरुको अनुगमन नगर्ने कारणले गर्दा धेरै संरचनाहरु जोखिमयुक्त बन्न पुगेको तथ्यहरु एकपछि अर्को गर्दै सार्वजनिक भएका छन् । हिमालखवर पत्रिकाका अनुसार काठमाडौं उपत्यकामा गोरखा भूकम्पमा भत्केर धेरैको ज्यान लिने अधिकांश ‘ज्यानमारा घर’ निमार्णकर्ता वा घरधनी, नगरपालिकाका नक्सा पास गर्ने प्राविधिक वा कर्मचारी, निजी क्षेत्रका डिजाइन गर्ने इन्जिनियर र ठेकेदारको मिलेमतोमा मापदण्ड मिचेर बनाइएका थिए । कतिपय घरहरु ६ तलाको निर्माण अनुमति लिएर १७ तलासम्म बनाइएका थिए ।

खोजी बस्ने हो भने काठमाडौं उपत्यका र मुलुकका अन्य सहरहरुमा निर्माण भएका अस्पताल, स्कुल र अपार्टमेन्टहरु धेरैले मापदण्ड पूरा नगरेको चरम बेथिती देखिने छ । मापदण्ड मिच्नेमा ठूला संरचनामात्रै छैनन्, सर्वसाधारण पनि अत्यधीक छन् । गत सोमबार कान्तिपुर दैनिकमा प्रकाशित मापदण्ड मान्ने १० प्रतिशत घर मात्रै भन्ने शीर्षकको खबर स्तब्ध पार्नेखालको छ । उक्त समाचारमा काठमाडौं महानगरभित्रमात्रै १० प्रतिशत घरले मात्रै निर्धारित मापदण्ड पूरा गरेको र बाँकी ९० प्रतिशत घरले मापदण्ड पूरा नगरेको दाबी गरिएको छ । देशको राजधानीको अवस्था यस्तो छ भने बाहिरको कस्तो होला ?

यतिखेर हामीसँग भूकम्पबाट भाग्ने विकल्प छैन तर, यस क्षेत्रमा आइरहने भूकम्पलाई हाइटीको जस्तो बनाउने कि न्यूजिल्याण्डको जस्तो भन्ने रोजाइ भने पक्कै तपाई हाम्रो हातमा छ

घर निमार्णको मापदण्डको अवस्था यस्तो छ भने त्यसमा प्रयोग गरिएको निर्माण सामाग्रीको गुणस्तरदेखि त्यसमा प्रयोग भएको पैसाको कानुनी वैधता खोज्ने हो भने बेथितिको कति भयावह तस्वीर बाहिर आउला ? भ्रष्टाचार वा अनुचित लेनदेनका कारण नेपालमा बनेका अधिकांश घर, अपार्टमेन्ट, स्कुल, अस्पताल लगायतका भौतिक संरचनाहरु मापदण्ड विपरीत निर्माण हुन पुगे । जसले गर्दा ती संरचनाहरु ज्यान लिने घरापमा परिणत भए । भूकम्पको जोखिमयुक्त भूभागमा बसेर त्यस्तो जोखिमयुक्त संरचनाहरु बनाउन आँखा चिम्लेर दिनु नै धेरै मानिसको ज्यान लिने कारण बन्न पुग्यो ।

त्यतिमात्रै होइन, मुलुकमा व्याप्त भ्रष्ट्राचारकै कारण विपद व्यवस्थापनको पूर्वतयारीमा समेत हामी निकै कमजोर सावित भयौं । यसपालिको भूकम्पपछिको उद्घारमा प्रशंसनीय काम गरेको नेपाली सेनाका लागि दुई हेलिकोप्टर किन्ने निर्णय भएको तीन वर्ष हुनलाग्दा पनि त्यो निर्णय कार्यान्वयन हुन सकेको छैन । जसको प्रमुख कारण हेलिकोप्टर किन्दा आउने कमिसन अर्थात भ्रष्टाचार नै हो । अहिलेको भूकम्पमा उक्त थप हेलिकोप्टरहरु नेपाली सेनासँग भएको भए कति मान्छेको ज्यान त्यसले बचाउन सक्थ्यो ?

प्राकृतिक विपद हुनुभन्दा अघिको भ्रष्टाचारले धेरै मान्छेको मृत्युको र ठूलो भौतिक क्षतिको कारण बन्छ भने प्राकृतिक विपदले भ्रष्टाचार फैलनका लागि मलिलो जमीन तयार पार्छ ।

विकसित होस् वा अविकसित, सबैजसो देशमा प्राकृतिक विपदले भ्रष्ट्राचार बढाउन सक्ने देखिएको छ । जसको ताजा उदाहरण यतिखेर राहत वितरणमा भएको भ्रष्ट्राचार हो । शक्तिशाली मन्त्रीका पिए भएका मान्छेसमेत राहतमा आएको जस्ता पाता बिक्री गर्न लागेको समाचार सार्वजनिक भइसकेको छ । वंगलादेश सरकारले दिएको ५७ हजार पाल सरकारबाट गायव भएकोदेखि सरकारले गुणस्तरहीन त्रिपाल किनेका समाचारहरु सार्वजनिक भएका छन् ।

स्थानीय स्तरमा राहत वितरणमा भएका हिनामिनाका कुराहरु समाचार समेत बन्न छाडेका छन् । त्यसकारण भ्रष्ट्राचारले प्राकृतिक प्रकोपको असरलाई बढाउने मात्रै होइन, त्योसँग जुध्न सक्ने क्षमतामा ह्रास ल्याउँछ । र, विपत व्यवस्थापनलाई समेत नकारात्मक असर पार्छ ।

अन्त्यमा, हिमालय क्षेत्रमा बसोवास गर्ने हामी नेपालीहरु भूकम्पीय जोखिमको हिसाबले घडीको सुई चलिरहेको टाइम बममाथि बसिरहेका छौं, जुन कुनै बेला पनि बिष्फोट हुन सक्छ । अहिलेको पुस्ता त्यो त्रासदीयुक्त भूकम्प र त्यसको विनाशको साक्षी बनिसकेको छ । करोडौं वर्षदेखि यूरेसियन प्लेटतिर सर्दै गइरहेको इण्डियन प्लेटको चाल स्थिर नभएसम्म हजारौं, लाखौं वर्षसम्म पनि यो क्षेत्रमा भूकम्प यसरी नै गइरहने छ ।

त्यसकारण यसक्षेत्रमा आइरहने भूकम्पलाई हामीले रोक्न सक्दैनौं । तर, भूकम्पको असरलाई झनै बढाउने, भूकम्प लगायतका प्राकृतिक प्रकोपसँग जुध्न सक्ने क्षमतामा ह्रास ल्याउने, विपत व्यवस्थापनलाई प्रत्यक्ष असर गर्ने र प्राकृतिक प्रकोपमा धेरै मान्छे मार्ने भ्रष्ट्राचारलाई भने हामी नियन्त्रण गर्न सक्छौं ।

यतिखेर हामीसँग भूकम्पबाट भाग्ने विकल्प छैन तर, यस क्षेत्रमा आइरहने भूकम्पलाई हाइटीको जस्तो बनाउने कि न्यूजिल्याण्डको जस्तो भन्ने रोजाइ भने पक्कै तपाई हाम्रो हातमा छ । त्यसैले लाग्ने होइन त मान्छे मार्ने भ्रष्ट्राचार रोक्न ?

source:onlinekhabar