भीआईपी रुट अझै अस्तव्यस्त

0 6
प्रधानमन्त्री निवासको पर्खाल बनेन
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारको पर्खाल विनाशकारी भूकम्पले ढल्यो। भूकम्प गएको ४५ दिन बित्दा पनि पर्खालको इँटा समेत हटाइएको छैन। दैनिक स्वदेशी तथा विदेशी अधिकारीको ओहोरदोहोर हुने प्रधानमन्त्री निवासको पर्खाल नबनाउँदा भूकम्पपछिको पुनर्निर्माणमा मुलुकले कुन रूपमा गति लिइरहेको छ भन्ने प्रस्ट देखाउँछ।
राजधानीका भीआईपी रुटमा विनाशकारी भूकम्पले भत्काएका संरचनाको निमार्णमा सरकारको ढिलासुस्ती देखिएको छ। प्रधानमन्त्री निवासबाट केही मिटरअगाडि रहेको नेपाल राष्ट्रबैंकको पर्खाल पनि भत्किएको छ।
प्रधानमन्त्रीलाई भेट्न आउने मन्त्री, कांग्रेसका नेता, पूर्वप्रधानमन्त्री, कूटनीटिक नियोगका पदाधिकारीले दिनहुँ भत्केका पर्खाल तथा संरचना नियालिरहेका छन्।
सुरक्षाका दृष्टिले समेत अति संवेदनशील बालुवाटार क्षेत्रमा भत्किएका पर्खाल समयमै नबनाइँदा सुरक्षाकर्मी चुनौती सामना गर्न बाध्य छन्।
मंगलबार पर्खालमा सेन्ट्री बसेका सशस्त्र प्रहरीका एक जवानले भने, ‘पर्खाल भत्किएको डेढ महिना भइसक्यो, बनाउने कुनै छाँटकाट छैन। सुरक्षा पहरा दिनै पर्‍यो, हामीले बुझ्ने कुरा होइन। हाई लेबलको कुरा पर्‍यो।
त्यस्तै नारायणहिटी दरबार संग्रहालयको सेनाको क्याबलरी गणको पर्खाल पनि भत्किएको छ। राजतन्त्रका बेला सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले अग्ला घर निर्माण बनाउन बन्देज लगाइएको उक्त स्थानमा अहिले करिब सय मिटर लामो पर्खाल भत्किए पनि त्यसको मर्मत हुन सकेको छैन।

नारायणहिटी दरबार संग्रहालयको उत्तरतर्फको भत्‍केको पर्खाल। तस्बिर: गोपाल चित्रकार
संग्रहालयमा पुरातात्त्विक वस्तु संग्रह गरिने भएकाले अहिले पनि सुरक्षा संवेदनशीलता उत्तिकै छ। त्यस्तै सर्वोच्च अदालतअगाडिको पर्खाल नबनाइँदा बटुवालाई कठिनाइ भएको छ।
यता मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार (न्यु प्लाजा अगाडि) को भत्किएको पर्खाल पनि अहिलेसम्म मर्मत गरिएको छैन। सेनाको सेन्ट्री बस्ने क्याम्प्प भत्कने गरी लडेको पर्खाल बनाउन सम्बन्धित निकायको ध्यान पुगेको छैन।
सहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव पदम मैनालीले संवेदनशील क्षेत्र पहिचानका आधारमा पुनर्निर्माण कार्य भइरहेको दाबी गरे। ‘भन्नेबित्तिकै काम गर्ने ज्यामी पाउन पनि गाह्रो छ। मेसिनले गर्ने काम होइन। ग्रेडिङका आधारमा काम गर्दैछौं’, मैनालीले भने।

– Source:onlinekhabar