राहतका लागि विकटमा पुर्‍याइएको खाद्यान्न लुकाएर बेच्ने प्रयास

0 4

२७ जेठ, बनेपा ।  -भूकम्प पीडितलाई बाँड्न काभ्रेको विकट कोसीपारि, चौबास गाविसमा लगिएको सरकारी राहतको चामल र चिउरा बेच्ने उद्देश्यले लुकाइएको खुलासा भएको छ। स्थानीयको उजुरीका आधारमा काभ्रे प्रहरीले तीन पसलबाट ४५ बोरा चामल र २० बोरा चिउरा बरामद गरेको हो।

‘चौबासमा वितरण गर्ने भनेर लगिएको खाद्य संस्थानको चामल र चिउरा गोठपानी, सानो वाङथली र धुसेनी शिवालयका तीनवटा पसलमा बेच्ने उद्देश्यले लुकाइएको फेला पारेका हौं,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले भनेको नागरिकमा खबर छ।

प्रहरीले खाद्यान्न बरामदलगत्तै गोठपानी–९ का गुणप्रसाद चौलागाईं र कृष्णप्रसाद चौंलागाईं, धुसेनी शिवालयका इन्द्र लामा, पुन्जु शेर्पा र ट्रक चालक प्रकाश तामाङलाई पक्राउ गरेको छ। यस्तै, सरकारी राहत बेच्ने प्रयोजनले लुकाउन संलग्न भएको भन्दै चौबास–७ का सूर्यबहादुर तामाङ र छोरा विजयलाई समेत पक्राउ गरेको छ।

‘सूर्यका छोरा अशोक भनिने जितमान लामा र केवल लामाले काठमाडौंबाट ल्याइएको खाद्यान्नमध्ये ४७ बोरा चामल र २० बोरा चिउरा गोठपानी–९, मझुवास्थित चौलागाईंको पसलमा लगेर स्टोर गरेको पाइयो,’ डिएसपी केसीले भने।

नेसनल ट्रेडिङ लिमिटेडस्थित राहत शिविरबाट जिल्ला प्रशासन कार्यालय काभ्रेका नाममा वैशाख २२ गते साँझ ना३ख ५६१३ नम्बर ट्रकमा २ सय बोरा चामल, १ सय बोरा चिउरा, ५ बोरा नुन, २ सय कार्टुन चाउचाउ र १ सय ८० थान ब्लांकेट निकासा भएको थियो। तर, उक्त सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिको धुलिखेलस्थित भण्डारमा दाखिला नगरी चौबासकै केवल लामाले गाउँतर्फ लगेका थिए।

source:onlinekhabar