प्रधान न्यायाधीशमा कल्याण श्रेष्ठको नाम सिफारिस

0 3

२६ जेठ, काठमाडौं । सर्बोच्च अदालतको प्रधान न्याधीशमा बरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठको नाम सिफारिस भएको छ । संवैधानिक परिषदको मंगलवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले श्रेष्ठको नाम सिफारिस गरेको  सभामुख सुवास नेम्वाङले जानकारी दिए ।

प्रधान न्यायाधीश रामकुमार प्रसाद साहले उमेरका कारण आगामी असार २३ गते अवकास पाउने भएकाले भावी प्रधान न्यायाधीसमा श्रेष्ठको नाम सिफारिस भएको हो ।

संसदीय सुनुवाई प्रक्रिया समेत पार गर्नुपर्ने भएकाले परिषदले एक महिनाअघि नै श्रेष्ठको नाम सिफारिस गरेको स्रोतले जनाएको छ । श्रेष्ठले प्रधान न्यायाधीशका रुपमा एक वर्ष पनि पूरा गर्न पाउने छैनन् । उनले पनि उमेरका कारण आगामी चैत मसान्तमा अवकाश पाउनेछन् ।

श्रेष्ठ न्याय सम्पादनमा सक्षम र आर्थिक मामिलामा विवादमा नआउने न्यायाधीशका रुपमा परिचित छन् । श्रेष्ठपछि प्रधान न्याधीशको रोलक्रममा सुशीला कार्कीको नाम छ ।

कार्कीभन्दा बरिष्ठ न्यायाधीश गिरिशचन्द्र लाल उमेरका कारण पहिले नै अवकाश हुने भएकाले उनी नेपालको इतिहासमा पहिलो महिला प्रधान न्यायाधीश हुने रोल कायम भएको हो ।

– SOURCE:onlinekhabar