दलालबाट खुलेआम बेहुलाको किनबेच हुने गाउँ हो सौराठ

June 09 2015 12:30
जनकपुरधाम: सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ, जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ ।
मिथिलाञ्चलअन्तर्गत भारत मधुवनी जिल्लाको सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्दछ । यहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद बिक्री हुने गर्दछ । यहाँ बेहुला पक्षले आफ्नो छोरालाई परम्परागत रुपमा रातो धोती र पाग लगाएर बेहुलालाई सजाउने गर्छ र बेहुली पक्षका आफन्त आर्थिक अवस्था अनुसार बेहुला किन्न आउँछन् ।
प्राचीन मिथिला संस्कृति र सामाजिक विधि व्यवहारमा विवाहलाई स्त्री र पुरुषबीचको शाश्वत र पवित्र सम्बन्धको रुपमा मान्ने गरिएको छ । तसर्थ युवायुवतीलाई दाम्पत्य सूत्रमा बाँध्न अनेक धार्मिक एवम् सामाजिक परम्परा र रीतिरिवाज अपनाइएको हुन्छ ।

युवायुवती विवाह बन्धनमा बाँधिनुपूर्व सम्बन्धित परिवार एकअर्काको पारिवारिक पृष्ठभूमि तथा सामाजिक प्रतिष्ठाको विषयमा गहन अध्ययन गर्ने चलन छ ।

इतिहासकार सौराठसभाको सुरुवात १४औँ शताब्दीमा कर्नाटक वंशीय राजा हरिसिंह देवले सुरुवात गरेका ठान्दछन् । राजा हरिसिंह देवको दरबारमा समय समयमा विद्वान्बीच शास्त्रार्थ हुन्थ्यो । यसमा विजयी विद्वान्लाई पुरस्कृत गरिन्थ्यो ।

सन् १३२६ मा राजा हरिसिंह देवले अविवाहित मैथिली ब्राह्मण युवकबीच शास्त्रार्थ गराएका थिए । लामो समयसम्म तर्क वितर्क चलिरह्यो र त्यसमा वेद, वेदान्त, योग र न्याय जस्ता विषयहरु उठेका थिए ।

राजा हरिसिंह देवले ब्राह्मण युवकको विद्वता देखेर प्रभावित भए र अनौठो तरिकाले ती युवकहरुलाई पुरस्कृत गरे । यद्यपि शास्त्रार्थमा भाग लिने युवकहरु अविवाहित भएकाले पुरस्कारस्वरुप उनीहरुलाई एक÷एक सुन्दर बेहुली विवाह गर्ने मौका दिए।

भनिन्छ त्यसपछि यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो । पहिले मैथिल ब्राह्मण युवकको सभा हुने गथ्र्यो । यसमा उनीहरुबीच शास्त्रार्थ हुन्थ्यो र बेहुली पक्षले आफ्नो छोरीको लागि योग्य बेहुलाको खोजी गर्न त्यहाँ भेला हुन्थे । तर समयको परिवर्तनसँगै शास्त्रार्थको पुरानो परम्परा समाप्त भएको छ र सौराठसभा मैथिल बेहुलीका लागि बेहुला खोज्ने एउटा प्रमुख केन्द्रको रुपमा विकसित हुँदै गयो ।
सौराठसभा सीमावर्ती भारत विहार राज्यअन्तर्गत बासोपट्टी कलुवाही चोकदेखि कुनखौरीबाट एक किलोमिटर पूर्व तथा मधुवनी बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा अवस्थित छ । यस गाउँको एउटा ऐतिहासिक पोखरी किनारामा रहेको पिपलको पुरानो रुखमुनि प्रतिवर्ष जेठदेखि सौराठसभा मेला लाग्ने गर्दछ ।
यस वर्ष पुरुषोत्तम महिना पर्ने भएकाले असारको सट्टा जेठमै सौराठसभा मेला लागेको छ । पोखरी नजिक भगवान् महादेवको ऐतिहासिक तथा प्राचीन मन्दिर रहेको छ । करिब दुई सातासम्म चल्ने यो सौराठसभामा मैथिल ब्राह्मण बेहुला खोज्नेहरु यस सभामा पुग्ने गर्दछन् ।

यस सभामा विवाह हुने बेहुला परम्परागत रुपमा धोती, पाग, चन्दनको टीका र आँखामा गाजल लगाएर आफ्नो अभिभावकसँगै भुईंमा ओछ्याएको दरी चटाइमा बसेको हुन्छ ।

यदि कुनै युवक केटी पक्षलाई केटा मन प¥यो भने त्यसको अभिभावकसँग कुराकानी गरेर बेहुलाको खान्दान, उसको उमेर, आर्थिक अवस्था, सम्भावित दाइजोबारे पत्ता लगाउने प्रयास हुन्छ । बेहुला पक्ष र बेहुली पक्षबीच कुराकानी मिलेपछि विवाहका लागि पुरोहितबाट परामर्श लिने गरिन्छ ।
पञ्जिकारसँग प्रत्येक मैथिल ब्राह्मण परिवारको पूर्ण वंशावली रहेको हुन्छ । पञ्जिकारले पात्रो हेरी केटा र केटीको विवाहको साइत जुराउने गर्दछ । यसमा बेहुला पक्षको सात पुस्ता र बेहुली पक्षको पाँच पुस्ताबीच रगतको सम्बन्ध नदेखिएमा पञ्जिकारले विवाहको अनुमति दिने गर्दछ ।

यसमा एउटा अनौठो परम्परा ‘हथघडी’ विधिले स्थान पाएको हुन्छ, जसमा बेहुलालाई बेहुली पक्षका विशिष्ट मानिसले बेहुलाको हात समातेर उठाउँछ । त्यसपछि बेहुलाले आफ्नो सासू, ससुरा तथा पूजनीय व्यक्तिको खुट्टा ढोगेपछि दुवै पक्ष एकअर्काको अङ्गालो हाली खुसी साटासाट गर्दछन् ।

समयको परिवर्तनसँगै पञ्जिकारको भूमिकामा समेत परिवर्तन आएको छ । आजभोलि पञ्जिकारले आफ्नो भूमिकामा परिवर्तन गरी धनाढ्य बेहुली पक्षको खोजीमा लाग्ने गरेको देखिन्छ । बेहुला र बेहुली पक्षबीच दाइजोको छिनोफानो पञ्जिकारले गर्ने गर्दछ ।

सौराठसभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण र धनी तथा गरिब ब्राह्मणबीचको भेदभाव हटाउन गरिएको भएपनि ब्राह्मण समाज एकजुट भएर यो परम्पराको रक्षा गर्दै आएको सौराठसभा विकास समितिका सचिव डा शेखरचन्द्र मिश्रले बताए ।

दाइजो प्रथा, आधुनिकता र सरकारी उपेक्षाको कारण यो सभाको पौराणिकतामा ह्रास आउन थालेको छ । पहिले देश विदेशमा बस्ने मैथिल ब्राह्मण आफ्नो छोराछोरीको विवाहका लागि सौराठसभामा भाग लिन आउँथे । तर अब यो सभाको आवश्यकता देखिँदैन ।

पढे लेखेको केटा अहिले यस प्रकारको खुलासभामा लिलाम हुन डराउँछन् । अब यो मेला गरिब ब्राह्मणमा मात्र सीमित हुन पुगेको छ । मधुवनीको स्थानीय प्रतिष्ठित ब्राह्मण समाजका सदस्यहरु सौराठसभालाई नयाँ स्वरुप दिन प्रयासरत छन् ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top