संविधान नबनी एमाओवादी सरकारमा नजाने सुशील सरकारको आयु बढीमा साउनसम्म

0 2

२६ काठमाडौं । संविधानका अन्तरवस्तुमा १६ बुँदे सहमति भएपछि अब सुशील कोइराला नेतृत्वको सरकार परिवर्तन हुने भएको छ । तर, विपक्षी एकीकृत नेकपा माओवादी भने संविधान नबनेसम्म सरकारमा नजाने भएको छ ।

‘हामी सुशीलकै नेतृत्वको सरकारमा सहभागी हुँदैनौं, एमाओवादी नेता डा. बाबुराम भट्टराईले अनलाइनखबरसँग भने-‘तर, संविधान निर्माणमा यो सरकारलाई हाम्रो पूर्ण समर्थन र सहयोग रहने छ ।’

आफूहरुले सहमति नजनाएको भए यो प्रक्रिया अघि बढ्न नसक्ने भन्दै एमाओवादी नेता डा भट्टराईले १६ बुँदे सहमति कार्यान्वयनका लागि आफूहरु लागि पर्ने स्पष्ट पारे । उनले भने-‘हामी सहमति कार्यान्वयनमा लागिपर्छौं र संविधान जारी भइसकेपछि बन्ने चुनावी सरकारमा सहभागी बन्छौं ।’

स्रोतका अनुसार सत्तापक्षका नेताले सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी भएर संविधान जारी गर्ने प्रस्ताव एमाओवादी नेतासमक्ष राखिएको थियो । तर, एमाओवादी नेताहरुले कोइराला सरकारमा आफूहरु सामेल नभए पनि संविधान निर्माणमा सहभागी हुने भन्दै तत्कालै सरकारमा जान इन्कार गरेको कांग्रेस महामन्त्री कृष्ण सिटौलाले सञ्चार माध्यमलाई  जानकारी दिएका छन् ।

सुशील सरकारको आयु बढीमा साउनसम्म

प्रमुख चार दलले सोमबार राति गरेको सहमतिमा संविधान कहिलेसम्म बनाइसक्ने भन्ने मिति उल्लेख छैन । तर, दलहरुले गरेको अनौपचारिक सहमतिमा सकेसम्म असार मसान्तसम्म संविधान घोषणा गर्ने र साउनभरिमा सुशील कोइरालाले केपी ओलीलाई नेतृत्व हस्तान्तरण गर्ने समझदारी भएको बताइएको छ ।

– Source:onlinekhabar