दोस्रो राष्ट्रपति सुशील कोइराला कि प्रचण्ड ? चार दलले खुलाएनन् ‘पावर सेयरिङ’को सहमति

0 3

२६ काठमाडौं । प्रमुख चार राजनीतिक दलहरुले नयाँ संविधान जारी हुनासाथ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको नयाँ चुनाव गर्ने सहमति गरेका छन् । तर, सोमबार राति गरिएको पावर सेयरिङका विषयमा केही पनि बोलिएको छैन ।

राजनीतिमा सैद्धान्तिक एवं संवैधानिक सहमतिका साथै पावर सेयरिङको भूमिका पनि सँगै जोडिएको हुन्छ । सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले संविधान जारी गरिसकेपछि केपी ओलीलाई प्रधानमन्त्री बनाउने अनौपचारिक सहमति चार दलमा भइसकेको छ ।

तर, केपी ओली प्रधानमन्त्री बनेकै बेलामा हुने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको चुनावमा क-कसलाई उमेद्वार बनाउने ? सहमतिका आधारमा यी चार पदहरुको पूर्ति गर्ने या प्रतिस्पर्धा गर्ने ? यसबारे प्रमुख दलहरुले मुख खोलेका छैनन् ।

एमालेका तर्फबाट ओली प्रधानमन्त्री भइसकेपछि वर्तमान प्रधानमन्त्री सुशील कोइराला राष्ट्रपति बन्ने धेरैको अनुमान छ । तर, यसबारे कुनै सहमति सार्वजनिक नगरिएकाले भोलि दुई ठूला दलवीच विवाद पर्ने सम्भावना छ ।

दोस्रो राष्ट्रपति सुशीललाई बनाउँदा कांग्रेसका तर्फबाट लगातार राष्ट्रपति हुने र प्रतिस्पर्धी एमालेका लागि यो असहज हुने कतिपयको विश्लेषण छ । एमालेका तर्फबाट झलनाथ खनाल र माधव नेपाल राष्ट्रपतिका दाबेदार हुन् ।

तर, एमालेकै प्रधानमन्त्री र एमालेकै तर्फबाट राष्ट्रपति बन्दा पावर सेयरिङमा कांग्रेस खाली हात हुने स्थिति रहन्छ ।

यो अवस्थामा एमाओवादी अध्यक्ष प्रचण्डले पनि गिरिजाप्रसाद कोइरालाको समकक्षीका हिसाबले राष्ट्रपतिमा दाबी गर्ने सम्भावना रहन्छ ।

तर, तेस्रो दलको हिसाबले एमाओवादीले प्रधानमन्त्री र राष्ट्रपतिमा दाबी गर्ने अवस्था नआए उपराष्ट्रपति र सभामुखमा दाबी गर्न सक्छ । त्यो बेला सभामुखको उमेद्वार कृष्णबहादुर महरा बन्ने सम्भावना रहन्छ ।

संविधान बनेपछि चुनावी सरकारमा जाने स्थितिमा एमाओवादीका तर्फबाट वर्षमान पुनको नेतृत्व रहन सक्ने सम्भावना देखिएको छ ।

दोस्रो राष्ट्रपतिको पदावधि कति ?

Rambaran-yadav-Presedent-ofसंविधान नबनेसम्मका लागि राष्ट्रपति बनेका डा. रामवरण यादवको कार्यकाल ६ वर्ष पूरा भइसकेको अवस्था छ । तर, उनको ठाउँमा बन्ने दोस्रो राष्ट्रपतिको पदावधि भने अर्को आम चुनाव नभएसम्मका लागि मात्रै हुने भएकाले निकै छोटो हुन सक्छ ।

संविधान बनिसकेपछि छानिएका राष्ट्रपतिको कार्यकाल अन्तरिम चुनावी सरकारको भन्दा धेरै हुने छैन । र, त्यो अवधि ६ महिना वा एक वर्ष मात्रै पनि हुन सक्छ । जस्तो कि, केपी ओलीको नेतृत्वमा साउनभित्रै नयाँ सरकार बन्यो भने त्यसले त्यसपछि आउने हिउँदमा आम चुनाव गर्न सक्छ ।

ओली सरकारले आफ्नो आयु लम्ब्यायो र रुपान्तरित संसदलाई पूरै कार्यकाल टिकाउने विचार गर्‍यो भने नयाँ राष्ट्रपतिको कार्याकाल अर्को हिउँदसम्म जान सक्छ ।

सुशील कोइरालाको छनोट

प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति बन्ने ईच्छा देखाएको स्थितिमा राष्ट्रपतिको चुनाव नहुँदै कांग्रेसको महाधिवशेन भएमा उनलाई दोहोरो फाइदा हात पर्ने छ । महाधिवशेनबाट उनी सभापति बन्ने छन् र त्यसपछि राष्ट्रपति बन्ने बेलामा कार्यवाहक सभापति अरु (रामचन्द्र या शशांक) लाई दिने छन् ।

तर, पार्टीको महाधिवशेन नहुँदै राष्ट्रपतिको चुनाव भएमा कोइरालाले कांग्रेसको नेतृत्व अनिच्छापूर्वक देउवालाई छाड्नुपर्ने निश्चित छ । त्यो अवस्थामा कोइरालाले ६ महिना वा एक वर्षको राष्ट्रपति रोज्नु भनेको कांग्रेस पार्टी शेरबहादुरलाई जिम्मा लगाउनुसरह हुने छ ।

यो स्थितिमा कोइराला ‘अन्तरिम राष्ट्रपति’ बन्छन् या निर्वाचित राष्ट्रपति बन्नका लागि कांग्रेस सभापति पद रोज्छन्, त्यो अहिल्यै टुंगो लागेको छैन ।

प्रचण्डको दोधार

एमाओवादी अध्यक्ष प्रचण्डलाई दोस्रो राष्ट्रपनि बनाउन कांग्रेस र एमालेका नेताहरु यस अर्थमा तयार हुने सम्भावना छ कि यो पद ६ महिनादेखि एक वर्षे अवधिको मात्रै हुनेछ  र नयाँ निर्वाचनसँगै सो पद ‘रिप्लेस’ हुनेछ ।

केवल ६ महिना राष्ट्रपति बनिसकेपछि प्रचण्डले त्यहाँबाट फर्केर प्रधानमन्त्री बन्ने या पार्टीको अध्यक्ष बन्ने बाटो नैतिकरुपमा बन्द हुनेछ । त्यसैले प्रचण्ड त्यस्तो छोटो कार्यकालको बाटो रोज्ने या नरोज्ने भन्ने दोधारमा छन् ।

तर, छोटै अवधिका लागि भए पनि राष्ट्रपति बन्न पाउनु  प्रचण्डका लागि अवसरको विषय हुनेछ ।

मुलुकका प्रमुख संवैधानिक पदहरुका विषयमा दलहरुवीच कस्तो सहमति भएको छ भन्ने स्पष्ट नखुलाइएकाले भोलि यही विषयलाई लिएर प्रमुख दलहरुवीच अन्तरविरोध नचर्केला भन्न सकिँदैन

source:onlinekhabar