इन्टर्न डाक्टरको तालाबन्दीले कोहलपुरस्थित अस्पताल बन्द

0 2

नेपालगन्ज, जेष्ठ २५ – इन्टर्न डाक्टर र एमबिबिएस विद्यार्थीको आन्दोलनले सोमवार कोहलपुरस्थित शिक्षण अस्पतालको आकस्मिकबाहेक ओपिडी सेवा बन्द भएको छ । बढ्दो गर्मीसंगै मौसमी बिरामीको चाप रहेको अस्पताल बन्द हुदा सर्वसाधारण मारमा परेका छन् ।

अस्पताल व्यवस्थापनले आफ्ना ५ सुत्रीय माग पूरा नगरेको भन्दै मेडिकल विद्यार्थीहरु शुक्रवारदेखि आन्दोलनमा उत्रिएका हुन् । तीन चरणमा भएका वार्तामा सुनुवाई नभएपछि बाध्य भएर ओपिडी सेवा बन्द गर्नुपरेका इन्टर्न डा अशोक जोशीले बताए । इन्टर्न डाक्टरहरुले तीन बर्षदेखि तलब सुबिधा बृद्धि नभएकोभन्दै बढाउन माग गरेका छन् । इन्टर्न डाक्टरको तलब अहिले कर कट्टी गरेर ५ हजार ७ हजार मात्र छ ।

त्यस्तै, भर्नाका बेला लिईने सेक्युरिटी डिपोजिट रकम फिर्ताको ग्यारेन्टी गर्नुुपर्ने, एमबिबिएस दोस्रो र अन्तिम वर्षमा अनुत्तिर्ण विद्यार्थीसंग लिईने १ देखि २ लाख रकम असुली हुदै आएकोभन्दै रोक्नुपर्ने तथा माग राखेका छन् । विद्यार्थीहरुले छात्राबासको मर्मत, शुद्ध तथा मौसमनुसार खानेपानीको व्यवस्था, निशुल्क इन्टनेट सुविधा र खेल एवं मनोेरन्जनात्मक सामाग्रीको पनि माग गरेका छन् ।

गत शुक्रवारदेखि ब्यानर टाँगेर धर्नामा बसेका मेडिकल विद्यार्थीहरु सोमवारदेखि तालाबन्दीमा उत्रिएका हुन् । कलेजले आन्दोलनमा उत्रिएका विद्यार्थीसंग वार्ता गर्न अस्पताल निर्देशक डा जितेन्द्र महासेठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । तलब बृद्धि गर्न र शुल्क नलिने व्यवस्था गर्न नसक्ने बताएपछि वार्ता असफल भएको आन्दोलनकारी विद्यार्थी दिनेश आचार्यले बताए । इन्र्टन तथा विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी जनक शाहीले धर्ना र ओपिडी तालाबन्दीमा बल प्रयोग गर्ने चेतावनी दिएको आरोप लगाएका छन् । त्यस्तै, कलेज व्यवस्थापनले अभिभावकलाई फोन गरेर आन्दोलन रोक्न दबाब दिएको पनि विद्यार्थीको गुनासो छ ।

मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनौडिया भने इन्र्टनहरुको आन्दोलन अनुशासनहिनता र अराजकता मात्र भएको बताएका छन् । ‘जुन १ गते इन्र्टन सुरु गरेकै भोलिपल्टदेखि आन्दोलन गर्नुलाई अराजकता नभनेर के भन्ने ?’ उनले भने,- कुनै अनधिकृत असुली गरिएको छैन ।

कलेजले फेल हुनेहरुका लागि ट्युसन र कोचिङ कक्षा संचालन गर्ने र लाजले धेरै विद्यार्थी परिक्षा दिन मात्र आउने गरेकाले शुल्कको बिरोध भएको उनले बताए । इन्र्टनलाई तलब सुविधा देशका अरु कलेजको तुलनामा कम नभएको उनको दाबी छ । ‘वार्तामा १ हजार बढाउने कुरा भईसकेको छ । अब पनि निहु खोज्नु अराजकता हो’ डा कनौडियाले भने ।