हुवे हेलिकप्टर दुर्घटना रहस्यमय बन्दै थप २ व्यक्तिको समेत मृत्युको आशंकाः विशेषज्ञ

0 4

काठमाडौं, जेष्ठ २६ – दुर्घटनाग्रस्त अमेरिकी यूएच एनवाई हुवे हेलिकप्टरमा थप २ जना व्यक्तिको समेत मृत्यु भएको हुन सक्ने विशेषज्ञले दाबी गरेका छन् । सिंगटीबाट चढेका ५ घाइतेको डीएनए परीक्षणका क्रममा अन्य शवको अंशसमेत भेटिएको छ ।

हुवे हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएलगत्तै ६ अमेरिकी र २ नेपाली सैनिक परेको सार्वजनिक भएको थियो । पछिल्लो २ जना चढेको पुष्टि भए हेलिकप्टरमा कम्तीमा १५ यात्रु थिए । डीएनए परीक्षण प्रतिवेदनले हेलिकप्टर दुर्घटनापछिको लापरबाही र रहस्य थप्दै गएको छ ।

दुर्घटनामा परी निधन भएका ५ दोलखालीको शव डीएनए परीक्षण गर्दा थप मानव अंश पनि परेको प्रतिवेदन अमेरिकाबाट आएको छ । प्रतिवेदनमा ५ जनाको शरीरका अंश पहिचानसहित पठाइएको छ भने बाँकीलाई भने बडी रिमेन्सको ट्याग लगाइएको छ ।

‘प्रतिवेदनमा ५ जनाको बेग्लाबेग्लै र पहिचान हुन नसकेको बेग्लै ट्याग छ,’ डीएनए रिपोर्टले नै थप शव देखिने जानकारी दिँदै फरेन्सिक विशेषज्ञ हरिहर वस्तीले बताए । मृतक ५ जनाको शवलाई त्रिभुवन विश्वविद्यालयअन्तर्गत फरेन्सिक विशेषज्ञ विभागमा पोस्टमार्टम गराई नेपाली सेनाले मृतकका परिवारलाई आइतबार हस्तान्तरण गरेको थियो । विभागका विशेषज्ञ वस्तीले ५ जनाको शव बुझाइएको र केही शवको अंश बाँकी रहेको बताए ।

‘दुर्घटनाग्रस्त हेलिकप्टर भेटेपछि त्यहाँको शव संकलन र परीक्षण प्रक्रियामा निकै लापरबाही भएको देखिन्छ । नत्र कहिले ८ जना, कहिले १३ जना र अझै थप शव भेटिने पनि हुन्छ ?’ वस्तीले भने । बाँकी रहेको शवको अंश सुरुका ८ र पछि डीएनए परीक्षण गरिएका ५ जनासँग नमिल्ने प्रतिवेदनले देखाएको उनले दाबी गरे ।

वस्तीका अनुसार ५ जनाको शवसँगै पठाएका अंशमा एउटा करिब पुरै शरीरका भाग र अर्को शवका खुट्टालगायत भाग छन् । ‘यसको अर्थ कम्तीमा २ जना अझै परेको हुन सक्ने देखिन्छ,’ उनले भने ।

उक्त हेलिकप्टरमा चढाएको भनेर दोलखाका ५ जनाबाहेक अन्यले दाबी भने गरेका छैनन् । नेपाली सेनाले पनि उक्त हेलिकप्टरमा परेको भनेर थप कसैले जिकिर नगरेको र थप व्यक्ति पर्ने सम्भावनासमेत नरहेको बताएको छ ।

‘हेलिकप्टरमा थप व्यक्ति थिए भन्ने खुलेको छैन,’ नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले प्रतिक्रिया दिए ।

मृतक ५ जना दोलखालीको परिवारले पोस्टमार्टमपछि शव बुझेका छन् । आइतबारै उनीहरूको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।

वैश्ााख २९ को भूकम्पबाट घाइते ५ जनालाई लिई उडेको हुवे हेलिकप्टर सोही दिन दुर्घटनामा परेको थियो । तर जेठ १ गते सिन्धुपाल्चोकको घोर्थली गाविसमा उक्त हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । त्यतिबेला  ६ जना अमेरिकी र २ नेपाली सेना रहेको जानकारी दिइएको थियो ।

सोही हेलिकप्टरमा थप ५ जना घाइते पनि परेको भन्दै कान्तिपुरले सार्वजनिक गरेको थियो । त्यसपछि नेपाली सेनाले दुर्घटनास्थलमा हेलिकप्टरमार्फत पुनः शव खोजी गरी टुक्रा संकलन गरी डीएनएका लागि अमेरिका पठाएको थियो । डीनएमार्फत ती बिरामी दुर्घटनाग्रस्त हेलिकप्टरमा परेको शुक्रबार सेनाले पुष्टि गरेको हो ।

मृत्यु हुनेमा लादुक-७ का ध्रुव कटवाल, लोकबहादुर कटवाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडा गाविसकी सावित्री सिवाकोटी छन् ।

मृतकका परिवारले गृह मन्त्रालय र अमेरिकी सरकारका तर्फबाट समेत क्षतिपूर्ति दिइने विश्वास दिलाइएको आफन्त अच्युत्तम कटवालले जानकारी दिए । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकाल, सेना प्रवक्ता पोखरेलले शव हस्तान्तरण प्रक्रिया र क्षतिपूर्तिबारे परिवारजनलाई आश्वस्त पारेका थिए ।

प्रकाशित मिति: २०७२ जेष्ठ २६ १२:११