माइतीघर मण्डलामा दीप प्रज्वलन

0 6
भूकम्पमा परी मृत्युहुने सम्पूर्ण नेपालीको मृत आत्माको चीरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ कामना गर्दै आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरियो ।
कार्यक्रममा १०८ ब्राम्हणले शान्ति, स्वस्ती पाठ गर्दै नेपालको पुनःनिर्माणका लागि राष्ट्र र राष्ट्रियताप्रति श्रद्धा र सङ्कल्प गरेका थिए।
दीप प्रज्वलनको उद्घाटन गर्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाले भूकम्पमा परी दिवङ्गत हुने सम्पूर्ण नेपाली तथा विदेशी नागरिकहरूको चिरशान्तिको कामना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
उनले भूकम्पबाट क्षति भएका सम्पदाहरू, व्यक्तिगत घरहरू तथा विभिन्न मठमन्दिरहरूको पुनःनिर्माणका लागि एक अर्काको साथ आवश्यक रहेको बताए।
डा भोला रिजाल, कलाकारद्वय कोमल ओली र सुनिल थापाले भूकम्पपीडित महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ सहयोग गर्नुपर्ने बताए।
ॐकार परिवार नेपालद्वारा आज साँझ आयोजित स्वस्ती, शान्ति तथा दीप प्रज्वलन कार्यक्रममा राजनीतिक दलका नेताहरू, प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी, कलाकार, स्वास्थ्यकर्मी, समाजसेवी, धर्म गुरु, सञ्चारकर्मीलगायत हजारौँको सहभागिता थियो ।
ॐकार परिवारका अध्यक्ष मुकुन्द शर्माले मुलुकको पुनःनिर्माण कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरे।