नाङ्लेभारेको ढकाल गाउँ चिराचिरा, वस्ती सार्न माग

0 9

काठमाडौ, जेष्ठ २५ – काठमाडौं पूर्वउत्तरी शंखरापुर नगरपालिकाको नाङग्लेभारेस्थित ढकाल गाउँको जमीन बैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको पराकम्पले चिराचिरा परेको छ । शंखरापुर नगरपालिकाको वडा नम्बर १ र २ मा पर्ने उक्त वस्ती निकै जोखिमपूर्ण रहेको भन्दै स्थानीयले सुरक्षित स्थानमा सार्न माग गरेका छन् ।

यसअघि पहिरोको जोखिम रहेको उक्त वस्ती बैशाख १२ र २९ गते गएको भूकम्पले चिरिएको छ । नाङग्लेभारेका प्रकाश ढकालले बस्तीलाई तत्काल सार्न सरकारसँग आग्रह गरे । ‘आकाशमा बादल लाग्यो कि चिन्ताले सताउँछ, पूरै बस्ती त्रासमा छ,’ उनले भने, ‘वर्षा अघि नै उचित विकल्प दिए राम्रो हुन्थ्यो ।’

भूगर्भ विज्ञको टोली पठाएर जमीनको बारेमा अध्ययन गरिनदिनसमेत उनले सरकारसँग आग्रह गरे । जमीन चिराचिरा परेको देखेपछि महिला र बालबालिका सबभन्दा बढी त्रसित छन् । नाङलेभारेकी गोमा ढकालले चिरा देखेर राति सुत्नसमेत नसकेको बताइन् । ‘कतिवेला के हुने हो,  निदाउन सकिदैन, बच्चाहरु त झनै निदाउँदैनन’ उनले भने, ‘ सरकारले कतै राम्रो व्यवस्था मिलाइदिए हुन्थ्यो ।’ भूकम्पले खेतवारी लगायत अधिकांस स्थानको जमीन छिया छिया परेको छ ।

जिल्ला दैविप्रकोप उद्धार समितिसँग स्थानीयवासिले सुरक्षित स्थानमा बस्ती सारिदिन अनुरोध गरेको हो । तर, समितिले स्थानीयको अनुरोधप्रति खासै चासो देखाएको छैन ।

स्थानीयबासिन्दाले सुरक्षित स्थानको खोजी गरेर अन्यत्र सारिदिन जिल्ला दैविकप्रकोप उद्धार समितिलाई जानकारी गराएपनि ठोस रुपमा काम नभएको पीडितले गुनासो गरेका छन् । स्थानीय पुरुषोत्तम चौलागाईले सरकारले स्थानीयको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए । समितिले बस्तीको अध्ययनपनि नगरेको स्थानीयको गुनासो छ  ।

नाङग्लेभारेकै पटापस्थित कार्की गाउँमापनि धाँजा फाटेको चौलागाईले बताए । ‘ढकाल गाउँका केही मानिस बसाई सरिसके, केही त्यहिँ बसेका छन् केहीले थलीमा आश्रय लिएर बसेका छन’् उनले भने । काठमाडौका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले प्राविधिक टोलीको प्रारम्भिक अध्ययनले वस्ती निकै जोखिममा रहेको बताए । त्यस क्षेत्रका सभासद दीपक कुइकेलको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको उनले बताए ।

‘सभासदज्यूको नेतृत्वमा प्राविधिकहरु पनि छन्, विस्तृत प्रतिवेदन आएपछि उचित वासस्थानको खोजी गर्छु’ उनले भने । नाङग्लेभारे वरिपरि नै सुरक्षित स्थान खोजेर बस्ती बसाउने उनले बताए । सभासद कुंइकेलले बस्ती जोखिमपूर्ण अवस्थामा रहेको भन्दै उचित स्थानको खोजी भइरहेको बताए । ‘स्थानीय व्यक्तिसँग छलफल गर्छु, उहाँहरुसँग छलफल गरेर राम्रै ठाउँमा व्यवस्थान गछौं’ उनले भने ।

source:Ekantipur